गजेन्द्र अस्पतालको ४२औँ मेसुमा तेस्रो पटक रणजित झाः सुधार्न आउँछन् कि घरपायक कार्यकाल बिताउन ?
राजविराज— सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इतिहासमा मेडिकल सुपरिन्टेन्डेन्टको नाम फेरिनु नौलो होइन। नौलो त यो हो— नाम फेरिए पनि उही अनुहार फेरि–फेरि फर्किन्छन्, तर अस्पतालका समस्या भने जस्ताका तस्तै देखिन्छन्।
अस्पतालकै अभिलेखमा मेडिकल सुपरिन्टेन्डेन्ट तथा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको नाम ४२औँ क्रमसम्म पुगेको छ। त्यही ४२औँ नेतृत्वमा फेरि फर्किएका छन् डा. रणजितकुमार झा। पहिलोपटक आए। गए। फेरि आए। फेरि गए। अहिले तेस्रो पटक निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट छन्।
अब प्रश्न– रणजितकुमार झा घुमी–घुमी गजेन्द्रनारायण अस्पताल सुधार्न आउँछन् कि अस्पतालको उही बेथितिलाई अर्को कार्यकालसम्म तन्काउन? यो प्रश्न व्यक्तिगत पूर्वाग्रह होइन। उनको अघिल्ला कार्यकाल, अहिलेको जिम्मेवारी र तेस्रोपटक नेतृत्वमा फर्किएपछि सतहमा आएका घटनाले आफैं खडा गरेको प्रश्न हो।
४२औँ नाम पुग्दा पनि अस्पताल उही ठाउँमा
गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीको मात्र होइन, मधेश प्रदेशकै महत्वपूर्ण सरकारी स्वास्थ्य संस्था हो। तर अस्पतालको चर्चा प्रायः उपचार सेवा विस्तार, आधुनिक उपकरण, विशेषज्ञ सेवा वा व्यवस्थापन सुधारका कारण हुँदैन। कहिले अस्पतालको गेटमै सुत्केरी हुन्छिन्। कहिले चिकित्सक तथा कर्मचारीबीच कुटाकुट हुन्छ। कहिले चिकित्सकले सुरक्षा माग्दै प्रशासनलाई गुहार्छन्। तर, सुरक्षा नपाएर अस्पताल छोड्छन्।
कहिले अस्पताल प्रशासनकै भूमिकामाथि प्रश्न उठ्छ। कहिले बिरामी सेवा पाउन नसकेको गुनासो सार्वजनिक हुन्छ। अनि फेरि अस्पताल नेतृत्व परिवर्तन हुन्छ। यही चक्र वर्षौँदेखि दोहोरिएको छ। अस्पतालको बोर्डमा ४२औँ क्रमसम्म नाम पुग्नु त्यसैको एउटा अभिलेखीय तस्वीर हो। तर यो ४२ जना फरक मेसु भएको सूची भने होइन।
डा. तारा नन्द झा, डा. सत्यदेव गिरी, डा. मुरलीप्रसाद सिंह, डा. शैलेशकुमार झा, डा. दिलिपकुमार साहजस्ता नाम दोहोरिएका छन्। र त्यही सूचीमा डा. रणजितकुमार झाको नाम पनि दोहोरिएको छ। अहिले त उनी तेस्रो पटक त्यही कुर्सीमा छन्।
एउटै कुर्सी, उही व्यक्ति, फेरि उही जिम्मेवारी
एउटै व्यक्तिलाई पटक–पटक नेतृत्वमा ल्याउनु आफैंमा गैरकानुनी हो भन्ने निष्कर्ष निकाल्न मिल्दैन। अनुभव, आवश्यकता वा प्रशासनिक परिस्थितिका कारण पुनः जिम्मेवारी दिइएको हुन सक्छ। तर तेस्रो पटक जिम्मेवारी पाउने व्यक्तिमाथि यि प्रश्न भने स्वभाविक रुपमा उठ्छन्— पहिले दुईपटक के गर्नुभयो? अस्पतालमा के परिवर्तन भयो? कुन समस्या समाधान भयो? कुन सेवा विस्तार भयो? कुन प्रशासनिक कमजोरी हट्यो? कुन चिकित्सक तथा कर्मचारीलाई सुरक्षित कार्य वातावरण मिल्यो? बिरामीको गुनासो घट्यो कि बढ्यो?
र यदि अघिल्ला कार्यकालमा तय गरिएका सुधारका काम अधुरा छन् भने— तेस्रोपटक फर्केर ती काम पूरा गर्ने नयाँ योजना के हो? अझै गम्भिर प्रश्न– तपाईलाई मन्त्रालय/विभागले राम्रो काम गरे वापत पुरस्कार स्वरुप तेस्रो पटक यो अस्पतालमा पठाएको हो कि अन्तबाट कारवाही गरेर ? यो प्रश्न रणजित झालाई मात्र होइन, उनलाई तेस्रो पटक जिम्मेवारी दिने निकायलाई पनि हो।
सुधार्न नसकेको ठाउँमा फेरि किन?
तेस्रोपटक निमित्त मेसु बनेपछि डा. झाले अघिल्ला कार्यकालमा आफूले गर्न नसकेका कामको सूची सार्वजनिक गरेका छैनन। नत अघिल्लो कार्यकालको कार्यसम्पादन मूल्यांकन भएको छ। कुन लक्ष्य पूरा भयो, कुन भएन भनेर समीक्षा पनि गरिएको छैन। यदि समीक्षा भएको भए त्यसको निष्कर्ष के थियो? यदि कार्यसम्पादन सन्तोषजनक थियो भने नियमित जिम्मेवारी किन दिइएन? यदि कार्यसम्पादन कमजोर थियो भने फेरि उनैलाई तेहेर्याएर किन?
यहीँबाट गजेन्द्रनारायण अस्पतालको नेतृत्व प्रणालीमाथि गम्भीर प्रश्न उठ्छ। योग्यता र कार्यसम्पादनका आधारमा नेतृत्व चयन हुन्छ कि ‘उपलब्धमध्ये उही परिचित अनुहार’ खोजेर काम चलाइन्छ? वा चाकरी र नेताको सिफारिसका आधारमा पठाईन्छ ?
‘निमित्त’को कुर्सी: अस्थायी व्यवस्था कि स्थायी संस्कार?
अस्पतालको नेतृत्व इतिहासमा ‘निमित्त’ शब्द बाक्लो देखिन्छ। निमित्त मेसु हुनु आफैंमा समस्या होइन। समस्या त्यतिबेला हो, जब निमित्त व्यवस्था अस्थायी समाधानबाट स्थायी संस्कार बन्न थाल्छ। अस्पताललाई दीर्घकालीन योजना चाहिन्छ। तर निमित्त नेतृत्वमा बस्ने व्यक्तिले कति लामो योजना बनाउन सक्छ?
उसले गरेको निर्णय अर्को नेतृत्व आएपछि निरन्तर हुन्छ कि हुँदैन? उसले बनाएको सुधार योजना अर्को मेसु आएपछि फेरि बदलिन्छ कि बदलिँदैन? यही अस्थिरताले अस्पताललाई एउटा यस्तो चक्रमा धकेलेको हुन सक्छ, जस्को कुनै लेखाजोखा नै छैन। त्यसपछि वर्षौँ बित्छन्। तर बिरामीको समस्या जहाँको त्यहीँ।
रणजित झाको तेस्रो कार्यकालमा के भयो?
रणजित झा तेस्रोपटक जिम्मेवारीमा आएपछि अस्पतालमा अनेक घट्ना भए। जसलाई अलग–अलग दुर्घटना भनेर पन्साउन सकिन्छ। तर नेतृत्वको मूल्यांकन गर्न तिनै घटनालाई जोडेर हेर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले आयो बबिता पासवानको घटना।
अस्पताल पुगेकी गर्भवती महिलाले अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनाले प्रसूति सेवा र आकस्मिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठायो। कसको गल्ती थियो? कुन कर्मचारी जिम्मेवार थिए? ड्युटी व्यवस्थापन कहाँ चुक्यो? अस्पताल प्रशासनको समन्वय कहाँ बिग्रियो? छानबिनमा के भयो? अझै गम्भिर प्रश्न— यस्तो घटना फेरि नदोहोरिने गरी प्रणाली के बदलियो? कर्मचारीलाई हटाउनु कारबाही हुन सक्छ। तर प्रणाली सुधार होइन। यदि प्रणाली फेरिएन भने अर्को बबिता फेरि त्यही गेटमा पुग्न सक्छिन्।
होटलमा चिकित्सक र कर्मचारीबीच कुटाकुट
त्यसपछि अस्पतालका चिकित्सक तथा कर्मचारीबीच होटलमा कुटाकुट भएको घटना सार्वजनिक भयो। चिकित्सकहरूले मेसुलाई सम्बोधन गर्दै घटनामा संलग्न व्यक्तिहरूको नामै तोकेर कारबाहीको माग गरे।
अर्थात् यो केवल दुई व्यक्तिबीचको विवाद भनेर पन्साउन मिल्ने विषय थिएन। अस्पताल प्रशासनको नेतृत्वले घटनालाई कसरी लियो? छानबिन कहाँ पुग्यो? कारबाही भयो कि भएन? पीडित पक्षलाई सुरक्षा दिइयो कि दिइएन? अस्पतालको कार्य वातावरण सुरक्षित बनाउन के निर्णय भयो?
यी प्रश्नको स्पष्ट सार्वजनिक जवाफ देखिएन। मेसुले सामाजिक सञ्जालमार्फत काठमाडौंमा रहेको र आएर समस्या समाधान गर्ने आशय व्यक्त गरे पनि त्यसपछि भएको ठोस कारबाही वा निर्णयबारे सार्वजनिक जानकारी नआएको गुनासो छ। अस्पतालभित्रै चिकित्सक र कर्मचारी सुरक्षित छैनन् भने बिरामीले कस्तो व्यवस्थापनको अपेक्षा गर्ने?
डा. कँडेलको निवेदनः सुरक्षा माग्दा पनि सुनुवाइ भएन
अर्को प्रकरण डा. जितेन्द्र कँडेलसँग जोडिन्छ। डा. कँडेलले अस्पतालमा काम गर्न नसक्ने वातावरण बनाइएको, कुटपिट गर्ने, हातखुट्टा भाँच्ने र आफ्ना छोराछोरीलाई समेत अपहरण गर्ने धम्की आएको भन्दै साउन १२ गते नै मेसुलाई लिखित निवेदन दिएका थिए।
एक चिकित्सकले आफ्नो र परिवारको सुरक्षासम्म जोडेर प्रशासनलाई निवेदन दिनुपर्ने अवस्था आफैंमा गम्भीर हो। अब प्रश्न छ— त्यो निवेदनमाथि के भयो? छानबिन भयो? सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण लिइयो? सुरक्षा व्यवस्था मिलाइयो? प्रहरीसँग समन्वय गरियो? वा निवेदन दिएपछि पनि समस्या उस्तै रह्यो?
डा. कँडेल अन्ततः सरुवा मागेर बाहिरिनु पर्ने अवस्था बन्यो। यो अस्पतालको कार्य वातावरणमाथि अर्को गम्भीर प्रश्न हो। अझ घटनालाई ‘पहाडे’ भनेर जातीय रंग दिन खोजिएको उनको दाबी छ। त्यसको पनि निष्पक्ष छानबिन आवश्यक हुन्छ। अस्पतालमा चिकित्सकले सुरक्षित भएर काम गर्न नसक्ने अवस्था आयो भने त्यसको व्यवस्थापकीय जिम्मेवारी कसले लिने?
घर राजविराजमै, अपेक्षा पनि ठूलो
रणजित झा राजविराजमै घर भएका चिकित्सक हुन्। त्यसैले उनलाई तेस्रोपटक अस्पतालको नेतृत्वमा ल्याउँदा स्थानीयस्तरमा अपेक्षा हुनु स्वाभाविक थियो। अस्पतालको समस्या बाहिरबाट आएको व्यक्तिभन्दा स्थानीय रूपमा बुझ्ने व्यक्तिले छिटो समाधान गर्न सक्छ भन्ने अपेक्षा हुन सक्छ।
अस्पतालको पुरानो अवस्था थाहा छ। कर्मचारी थाहा छन्। चिकित्सक थाहा छन्। प्रशासनिक समस्या थाहा छ। अघिल्ला कार्यकालको अनुभव पनि छ। अर्थात् बहाना बनाउन बाँकी कुरा कम हुनुपर्ने हो। तर यही कारणले तेस्रो कार्यकालमाथिको प्रश्न अझ गम्भीर बनेको छ।
अघिल्ला दुईपटकको अनुभवसमेत बोकेर तेस्रोपटक फर्किएका व्यक्तिले अहिले पनि उही समस्या दोहोरिन दिन्छन् भने समस्या कसरी समाधान हुन्छ ?
सुधारको दाबी होइन, परिणाम चाहिन्छ
अब रणजित झाको तेस्रो कार्यकालको मूल्यांकन भाषण वा सामाजिक सञ्जालका स्टाटसबाट होइन, परिणामबाट हुनुपर्छ। कति विशेषज्ञ चिकित्सक थपिए? कति सेवा नियमित भए? रातिको प्रसूति सेवा व्यवस्थित भयो कि भएन? आकस्मिक सेवा सुधारियो कि सुधारिएन? उपकरण सञ्चालनमा आए कि आएनन? रिक्त दरबन्दी पूर्ति भयो कि भएन? बिरामीका गुनासा घटे कि वढे? चिकित्सक तथा कर्मचारीका लागि सुरक्षा संयन्त्र बन्यो किन बनेन? अस्पतालभित्र हुने विवाद समाधान गर्ने स्पष्ट प्रणाली बन्यो किन बनेन?
बबिता पासवानको घटनापछि प्रसूति सेवा व्यवस्थापनमा के परिवर्तन गरियो? डा. कँडेलले उठाएको सुरक्षा प्रश्नको समाधान के भयो? चिकित्सक तथा कर्मचारीबीच भएको कुटाकुटपछि प्रशासनले के सिक्यो? यी प्रश्नको उत्तर नै तेस्रो कार्यकालको रिपोर्ट कार्ड हो।
अस्पताल बिग्रिएको प्रमाण खोज्न धेरै टाढा जानुपर्दैन
गजेन्द्रनारायण अस्पताल सुधारिएको छ कि बिग्रिएको छ भन्ने प्रश्नको जवाफ कुनै राजनीतिक भाषणबाट खोज्नुपर्दैन। अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीसँग सोध्दा थाहा हुन्छ। प्रसूति वार्डमा पुग्दा थाहा हुन्छ। चिकित्सकसँग सोध्दा थाहा हुन्छ। कर्मचारीसँग सोध्दा थाहा हुन्छ। अस्पतालको प्रशासनिक फाइल हेर्दा थाहा हुन्छ। गुनासोको रजिस्टर हेर्दा थाहा हुन्छ। बजेट र खर्च हेर्दा थाहा हुन्छ। उपकरणको सूची र सञ्चालन अवस्था तुलना गर्दा थाहा हुन्छ।
अनि सबैभन्दा महत्वपूर्ण— रणजित झाका अघिल्ला दुई कार्यकालका प्रतिबद्धता र अहिलेको तेस्रो कार्यकालका परिणाम तुलना गर्दा थाहा हुन्छ।
प्रश्न रणजित झामाथि मात्रै होइन
तर यो प्रकरणमा केवल रणजित झा मात्रै प्रश्नको घेरमा छैनन्। किनभने उनलाई तेस्रो पटक निमित्त बनाउने निर्णय उनले एक्लै वा आफैंले गरेका होइनन्। त्यसैले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले पनि यो प्रश्नको जवाफ दिनुपर्छ। उहाँलाई नै किन? कुन आधारमा? अघिल्ला कार्यकालको मूल्यांकन कहाँ छ? नियमित मेसु नियुक्त गर्न नसक्नुको कारण के हो? निमित्त नेतृत्वलाई पटक–पटक दोहोर्याउने नीति के हो? तेस्रो पटक जिम्मेवारी दिँदा मापन गर्न मिल्ने लक्ष्य तोकिएको छ कि छैन?
यदि यी प्रश्नको जवाफ छैन भने समस्या रणजित झामा मात्र छैन। समस्या नेतृत्व छनोट गर्ने प्रणालीमै छ।
घुमी–घुमी आउने नेतृत्व, घुमी–घुमी आउने समस्या
गजेन्द्रनारायण सिंह अस्पतालको ४२औँ नेतृत्वसम्म आइपुग्दा एउटा विडम्बना देखिन्छ। मेसु फेरिन्छन्। निमित्त आउँछन्। पुराना अनुहार फर्किन्छन्। फेरि नेतृत्व बदलिन्छ। तर बिरामीका प्रश्न उस्तै रहन्छन्। यही चक्र तोड्न नसक्नु अस्पतालको सबैभन्दा ठूलो व्यवस्थापकीय समस्या देखिन्छ।
रणजित झा अहिले तेस्रो पटक फर्किएका छन्। त्यसैले अब उनलाई एउटा अवसर मात्र होइन, एउटा स्पष्ट सार्वजनिक प्रश्न पनि छ— यसपटक के फरक हुन्छ? अघिल्ला दुई कार्यकालमा पूरा नभएका काम के हुन? तेस्रोपटक ती काम पूरा गर्ने समयसीमा तय भएको छ कि छैन? बिरामीले के परिवर्तन महसुस गर्नेछन? चिकित्सकले के फरक कार्य वातावरण पाउनेछन? कर्मचारीले के फरक प्रशासन देख्नेछन? र सबैभन्दा महत्वपूर्ण— अस्पतालले के फरक परिणाम पाउनेछ?
४२औँ मेसुमा तेस्रो पटक रणजित झा
नलेखिए पनि, गजेन्द्रनारायण सिंह अस्पतालको बोर्डमा ४२औँ क्रमसम्म नाम पुगेको छ। अब ४३औँ नाम कहिले आउँछ भन्ने प्रश्नभन्दा ठूलो प्रश्न हो— ४२औँ नामसम्म आइपुग्दा पनि अस्पताल किन उही समस्यामा छ? अनि त्यही ४२औँ नेतृत्वमा तेस्रो पटक डा. रणजितकुमार झा छन्।
त्यसैले अहिले गजेन्द्रनारायण अस्पतालका बिरामी, चिकित्सक र कर्मचारीको तर्फबाट सोधिनुपर्ने सबैभन्दा सटिक प्रश्न सायद यही हो— घुमी–घुमी अस्पतालको नेतृत्वमा आउने रणजित झा यसपटक साँच्चै अस्पताल सुधार्न आएका हुन्, कि फेरि अर्को कार्यकाल बिताउन? उत्तर भाषण, वक्तब्य र सामाजिक सञ्जालको स्ट्याटसमा चाहिएको छैन, जनताले यो चाहेका पनि छैनन। उनको जवाफ कामले दिनुपर्छ। किनकि अस्पताललाई अब अर्को मेसुको नाम होइन—परिणाम चाहिएको छ।

