दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १२ घाइते
परासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा सडकबाट नालामा खस्दा १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ। एक मृतकको भने सनाखत हुन बाँकी छ।
पहिचान खुलेका मृतकमा जाजरकोटको भेरी नगरपालिका–२ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन्।
प्रहरीका अनुसार सनाखत हुन बाँकी मृतक अन्दाजी ४० देखि ४२ वर्ष उमेरका पुरुष हुन्। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डन्डा र भरतपुर अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान करिब ४ बजे एस मोडमा दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार चालकले बस नियन्त्रणमा लिन नसकेपछि सडकबाट नालामा खसेर दुर्घटना भएको हो।
दाउन्नेको घुम्ती तथा सडकखण्डमा भएको दुर्घटनापछि प्रहरीले घटनास्थलमा उद्धार तथा आवश्यक व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।

