गजेन्द्र अस्पतालमा फिनेल कसले छर्किने?

गजेन्द्रनारायण सिंह अस्पताल सुधार्ने हो भने अब एउटा समिति बनाएर अर्को समितिको प्रतिवेदन पर्खेर मात्र पुग्ने अवस्था देखिँदैन। मेसुदेखि पियन, स्वीपर र गार्डसम्म अस्पतालको हरेक तहमा जमेको अव्यवस्था, गुटबन्दी, अनुशासनहीनता र जवाफदेहिताको अभाव सफा गर्नुपर्ने अवस्था देखिएको छ।

अस्पतालमा पछिल्ला केही महिनामा सार्वजनिक भएका घटनाहरूलाई अलग–अलग घटनाका रूपमा हेर्ने हो भने हरेकको छुट्टाछुट्टै कारण भेटिएला। तर सबै घटनालाई एकै ठाउँमा राखेर हेर्ने हो भने एउटा साझा प्रश्न उठ्छ—गजेन्द्र अस्पतालमा आखिर प्रशासन कसको नियन्त्रणमा छ?

चिकित्सकमाथि धम्की आउँछ। जातीय अपमानको गुनासो हुन्छ। अस्पतालको इमर्जेन्सी कक्षसम्म बाहिरी समूह पुगेर चिकित्सकलाई खोज्दै धम्की दिएको घटना सार्वजनिक हुन्छ। अस्पतालकै कर्मचारीमाथि चिकित्सकले हातपात र धम्कीको आरोप लगाउँछन्। सरकारी औषधी तथा स्वास्थ्य सामग्री बाहिर लैजान खोजिएको घटना सार्वजनिक हुन्छ। सरुवा भएका कर्मचारी रमाना नलिई अस्पतालमै बसिरहेका छन्।

र यी सबै विषयमा प्रशासन अनभिज्ञ थिएन। निमित्त मेसु डा. रणजितकुमार झालाई सवै घटनाको जानकारी थियो र छ। कतिपय विषयमा लिखित निवेदनसमेत पुगेका थिए। तर समस्या थाहा पाउनु र समस्या समाधान गर्नु एउटै कुरा होइन। अस्पताल प्रशासनको परीक्षा समस्या कति देख्यो भन्नेमा होइन, समस्या देखेपछि के गर्‍यो भन्नेमा हुन्छ।

डा. जितेन्द्र कँडेलले सुरक्षाको गुनासो गरे। धम्कीको लिखित निवेदन दिए। जातीय अपमानको विषय उठ्यो। बाहिरी समूह अस्पतालको आकस्मिक कक्षसम्म पुगेको घटना सार्वजनिक भयो। तर अन्ततः सुरक्षा खोज्ने चिकित्सकले नै अस्पताल छाड्नुपर्‍यो। त्यसपछि स्वाभाविक प्रश्न उठ्छ—अस्पतालमा सुरक्षित वातावरण माग्ने चिकित्सकले किन अस्पताल छाड्नुपर्‍यो?

अर्कोतर्फ, सरुवा भएका दुई नायब सुब्बा अहिलेसम्म रमाना नलिई अस्पतालमै कार्यरत रहेको अवस्था छ। कागजमा सरुवा, व्यवहारमा पुरानै कार्यालय। यदि सरुवा आदेश कार्यान्वयन गराउने अधिकार र जिम्मेवारी अस्पताल प्रशासनसँग छ भने त्यो कार्यान्वयन किन भएन? यदि प्रशासनले उनीहरूलाई रमाना दिन खोजेको थियो भने उनीहरू किन अझै अस्पतालमै छन्? र यदि उनीहरूलाई अस्पतालमै राख्नुपर्ने कुनै प्रशासनिक कारण छ भने त्यो कारण सार्वजनिक किन हुँदैन?

यहाँ व्यक्तिको पक्ष वा विपक्षमा फैसला गर्ने कुरा होइन। प्रशासनिक निर्णय किन कार्यान्वयन भएन भन्ने प्रश्नको जवाफ खोज्ने कुरा हो। गजेन्द्र अस्पतालको समस्या दुई–चार कर्मचारी वा दुई–चार घटनामा सीमित देखिँदैन। अस्पतालभित्र कर्मचारी, स्वास्थ्यकर्मी, मेडिकल व्यवसायी, एम्बुलेन्स चालक, निजी स्वास्थ्य संस्था र अन्य सरोकारवालाबीचको सम्बन्धबारे समेत विभिन्न प्रश्न उठिरहेका छन्। तीमध्ये कुन सम्बन्ध सामान्य व्यावसायिक वा व्यक्तिगत हो र कुन सम्बन्धले अस्पतालको सेवा तथा सरकारी स्रोतमा असर पु¥याएको छ भन्ने विषय निष्पक्ष छानबिनको विषय हुनुपर्छ।

आरोप लाग्दैमा कसैलाई दोषी ठहर गर्न मिल्दैन। तर आरोप उठेपछि त्यसलाई दबाएर राख्न पनि मिल्दैन। अस्पताल सार्वजनिक संस्था हो। यहाँको औषधी, उपकरण, जनशक्ति, बजेट र निर्णयमा जनताको पैसा जोडिएको हुन्छ। त्यसैले अस्पतालभित्र हुने हरेक अनियमितता, दबाब, धम्की वा स्वार्थको टकरावमाथि प्रश्न उठ्नु स्वाभाविक हो।

दुर्भाग्य के देखिन्छ भने गजेन्द्र अस्पतालमा समस्या आएपछि जवाफ प्रायः एउटै सुनिन्छ—‘छानबिन हुँदैछ।’ छानबिन हुनुपर्छ। तर छानबिन समस्या समाधानको विकल्प होइन। समिति गठन गरेर प्रतिवेदन पर्खिने प्रशासनले तत्काल देखिएको जोखिम कसरी रोक्छ? धम्की पाएको चिकित्सकलाई तत्काल सुरक्षा कसरी दिन्छ? विवादमा मुछिएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्छ? सरुवा आदेश कार्यान्वयन कसरी गराउँछ? सरकारी औषधी र सामग्रीको सुरक्षा कसरी सुनिश्चित गर्छ?

यी कामका लागि प्रतिवेदन पर्खिरहनुपर्ने होइन। अस्पताल नेतृत्व भनेको समस्या संकलन गर्ने कार्यालय होइन। नेतृत्वले समस्या रोक्नुपर्छ, निर्णय गर्नुपर्छ र निर्णय कार्यान्वयन गराउनुपर्छ। अझ विडम्बना, गजेन्द्र अस्पतालको नेतृत्वको इतिहास हेर्दा निमित्तको जिम्मेवारी दोहोरिने क्रम पनि आफैंमा प्रश्नको विषय बनेको छ। एउटै व्यक्ति तेस्रोपटक निमित्त मेसुको जिम्मेवारीमा फर्किँदा अस्पतालमा सुधारको संस्थागत परिणाम के आयो? नेतृत्व परिवर्तनले समस्या समाधान गर्छ कि पद मात्रै परिवर्तन हुन्छ? यी प्रश्नको उत्तर पनि सम्बन्धित निकायले दिनुपर्छ।

अस्पतालको दुर्दशाको सम्पूर्ण दोष एउटा मेसुमाथि थोपरेर उम्कन पनि मिल्दैन। मेसुदेखि प्रशासनिक कर्मचारी, चिकित्सक, नर्स, प्राविधिक, सहयोगी कर्मचारी, सुरक्षा गार्ड र अस्पतालसँग प्रत्यक्ष जोडिएका बाह्य सरोकारवालासम्म सबैको आफ्नो–आफ्नो जिम्मेवारी हुन्छ।

तर जिम्मेवारी बाँडिएको छ भन्दैमा नेतृत्वको जिम्मेवारी हराउँदैन। अस्पतालमा कसैले कसैलाई टेर्दैन, निर्णय कार्यान्वयन हुँदैन, कर्मचारीमाथि कर्मचारीको दबाब चल्छ, चिकित्सकले सुरक्षा महसुस गर्दैनन्, सरकारी स्रोतको सुरक्षामाथि प्रश्न उठ्छ र हरेक घटनापछि ‘छानबिन हुँदैछ’ भनिन्छ भने त्यो केवल कर्मचारीको समस्या होइन—त्यो संस्थागत नेतृत्वको समस्या हो।

त्यसैले गजेन्द्र अस्पताललाई सुधार्न सबैभन्दा पहिले ‘को दोषी?’ भनेर मात्र खोज्ने होइन, ‘कसले जिम्मेवारी लिनुपर्ने हो?’ भनेर खोज्नुपर्छ। र यो प्रश्न अस्पतालभित्र मात्र सीमित छैन। गजेन्द्रनारायण सिंह अस्पताल सुधार्न नसक्नुको राजनीतिक तथा प्रशासनिक जिम्मेवारी पनि छ। जिल्लाका जनप्रतिनिधि र प्रदेशका सम्बन्धित पदाधिकारीले अस्पतालको वास्तविक अवस्था बुझ्नुपर्ने हो। खादा, माला, स्वागत र फोटोले अस्पताल चल्दैन। अस्पताल चलाउन निर्णय, निगरानी र जवाफदेहिता चाहिन्छ।

विभागीय मन्त्री अस्पताल पुग्दा कर्मचारीले खादा–माला लगाइदिए, फोटो खिचियो र सामाजिक सञ्जालमा पोस्ट भयो भने त्यसलाई उपलब्धि मान्ने हो भने बिरामीले भोगिरहेको अस्पतालको वास्तविकता कसले हेर्ने? बिरामीलाई राम्रो सेवा चाहिएको छ। चिकित्सकलाई सुरक्षित कार्यस्थल चाहिएको छ। कर्मचारीलाई स्पष्ट जिम्मेवारी र अनुशासन चाहिएको छ। राज्यलाई आफ्नो स्रोत सुरक्षित चाहिएको छ।

अस्पताललाई चाहिएको कुरा फोटो होइन, सुधार हो। स्वागत होइन, जवाफदेहिता हो। समिति होइन, परिणाम हो। त्यसैले अब गजेन्द्र अस्पतालमा एउटा सानो तर असहज प्रश्न सोधिनैपर्छ— अस्पतालको फोहोर कसले सफा गर्ने?, फिनेल कस्ले छर्कने ? मेसुदेखि पियनसम्म सबैको जिम्मेवारी छ। तर अन्ततः अस्पतालको प्रशासनिक र राजनीतिक जिम्मेवारी बोकेकाहरूले नै कुचो उठाउनुपर्छ।

नत्र ‘सरकार’को सुशासनको अर्को नमुना यही अस्पताल बन्नेछ— बिरामी उपचार खोज्दै आउने, चिकित्सक सुरक्षा खोज्दै भाग्ने, कर्मचारी कुटाकुट गर्ने, आफ्नो गुट खोज्दै बस्ने र नेतृत्व हरेकपटक ‘छानबिन हुँदैछ’ भन्दै पन्सिने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट