अस्पताल घुमाउँदा घुमाउँदै सर्पदंशका बिरामीको मृत्यु, प्रादेशिक अस्पतालका निर्देशक मन्त्रालय तानिए

जनकपुर— आईसीयू र भेन्टिलेटर अभावमा सर्पदंशका बिरामीलाई अन्यत्र रेफर गर्दा २५ वर्षीय युवकको मृत्यु भएको घटनापछि जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंह मन्त्रालय तानिएका छन्।

मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृत १०औँ तहका वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कामकाज सरुवा गरेको छ। सिंहको स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै कार्यरत १०औँ तहका प्रमेसु डा. इन्द्रजीतकुमार रजकलाई जनकपुर प्रादेशिक अस्पतालमा काज सरुवा गरिएको छ।

निर्देशक सिंहको सरुवा प्रादेशिक अस्पतालमा आईसीयू तथा भेन्टिलेटर अभावका कारण सर्पदंशका बिरामी महेश यादवको मृत्यु भएको घटना सार्वजनिक भएको केही दिनपछि भएको हो। जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय यादवलाई गत असोज १३ गते राति सर्पले टोकेको थियो। सर्पले टोकेलगत्तै उनी आफैं स्कुटर चलाएर उपचारका लागि प्रादेशिक अस्पताल पुगेका थिए।

अस्पताल पुगेपछि यादवलाई उपचारका क्रममा १० भाइल एन्टी स्नेक भेनम दिइएको थियो। सुरुमा सर्पदंशको स्पष्ट लक्षण नदेखिएपछि उनलाई निगरानीमा राखिएको अस्पतालका आकस्मिक कक्ष इन्चार्ज डा. शरद यादवले बताएका छन्।

तर केही समयपछि उनको अवस्था बिग्रिँदै गयो। वान्ता हुने, पेट दुख्ने तथा घाँटी घेरिएको महसुस हुनेजस्ता लक्षण देखिएपछि उनलाई थप सघन उपचार आवश्यक परेको थियो। चिकित्सकले आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताए पनि अस्पतालमा दुवै सुविधा खाली नभएको भन्दै उनलाई अन्यत्र रेफर गरिएको थियो।

डा. शरद यादवका अनुसार महेशलाई राति १ बजेर ४० मिनेटमा भर्ना गरिएको थियो। उपचारका क्रममा सर्पदंशको लक्षण देखिएपछि उनलाई एन्टी स्नेक भेनम दिइएको र बिहान करिब साढे ४ बजे अन्यत्र रेफर गरिएको उनले बताएका छन्। आईसीयू तथा भेन्टिलेटर खाली नभएकै कारण रेफर गर्नुपरेको उनको भनाइ छ।

अस्पतालबाट रेफर भएपछि परिवारले महेशलाई जनकपुरकै ओम दीर्घायू अस्पताल पुर्‍याएको थियो। तर त्यहाँ सर्पदंशको औषधि उपलब्ध नभएको भन्दै भर्ना गर्न नमानेपछि उनलाई धनुषाको सखुवा महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्र लगिएको परिवारले जनाएको छ।

त्यहाँ पनि आईसीयू सुविधा उपलब्ध नभएको बताएपछि महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियो। बर्दिबास पुग्दा चिकित्सकले महेशलाई मृत घोषणा गरेका थिए। महेशका भिनाजु उमेश यादवले भने अस्पतालले समयमै आईसीयू तथा भेन्टिलेटर उपलब्ध नभएको जानकारी दिएको भए बिरामीलाई सुरुमै अन्यत्र लैजान सकिने र ज्यान जोगिन सक्ने अवस्था हुनसक्ने बताएका छन्।

‘होसमै आफैं स्कुटर चलाएर आएको बिरामीलाई समेत अस्पतालले बचाउन सकेन। सुरुमै आईसीयू खाली छैन भनेर रिफर गरिदिएको भए पनि ज्यान जोगिने रहेछ,’ उमेशले भनेका छन्, ‘अवस्था बिग्रिएपछि मात्र भनियो। अस्पतालकै कारण मेरो सालोको ज्यान गएको हो।’

परिवारले अस्पतालको उपचार व्यवस्थामाथि प्रश्न उठाए पनि अस्पताल पक्षले भने महेशलाई उपचार नै नगरिएको भन्ने दाबी स्वीकार गरेको छैन। आकस्मिक कक्ष इन्चार्ज डा. शरद यादवका अनुसार अस्पताल पुगेका बेला उनको शरीरमा सर्पदंशको स्पष्ट लक्षण देखिएको थिएन। निगरानीमा राखेर उपचार सुरु गरिएको र अवस्था गम्भीर भएपछि आईसीयू तथा भेन्टिलेटरको आवश्यकता परेको थियो।

घटनाले जनकपुर प्रादेशिक अस्पतालको सघन उपचार क्षमतामाथि पनि प्रश्न उठाएको छ। पछिल्लो विवरणअनुसार अस्पतालमा आईसीयू र भेन्टिलेटरका बेडको संख्या बिरामीको चापअनुसार अपर्याप्त छ। आईसीयू बेड प्रायः खाली नहुने र गम्भीर बिरामीले समयमै सघन उपचार नपाउने समस्या रहेको अस्पतालसम्बन्धी पछिल्ला रिपोर्टमा उल्लेख छ।

अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहले भने समस्या मुख्यतः जनशक्तिको रहेको बताएका थिए। उनका अनुसार आवश्यक जनशक्ति थपिए आईसीयू तथा भेन्टिलेटरको क्षमता विस्तार गर्न सकिने अवस्था छ।

‘मूलतः जनशक्तिको समस्या छ। जनशक्ति थपियो भने अहिले आईसीयू र भेन्टिलेटर बेड थप्न सक्छौं,’ सिंहले भनेका थिए। उनले उपलब्ध साधनस्रोतबाट प्रभावकारी सेवा दिने प्रयास भइरहेको, तर आवश्यक जनशक्ति अभावमा बिरामीको चापअनुसार सेवा दिन कठिनाइ भइरहेको बताएका थिए।

अस्पतालको अहिलेको संरचनागत अवस्थाले पनि समस्या पुरानो रहेको देखाउँछ। अस्पतालको १०० बेड क्षमताको स्वीकृति २०४८ सालमै भएको भए पनि त्यसपछि अपेक्षित रूपमा स्तरोन्नति हुन नसकेको र नयाँ दरबन्दीसमेत स्वीकृत नभएको अस्पतालसम्बन्धी विवरणमा उल्लेख छ। बिरामीको बढ्दो चापअनुसार जनशक्ति र पूर्वाधार व्यवस्थापन हुन नसक्दा अस्पतालमा गम्भीर बिरामीको उपचार चुनौतीपूर्ण बन्दै गएको छ।

महेशको घटनापछि अस्पतालको सेवा, आईसीयू तथा भेन्टिलेटरको उपलब्धता र गम्भीर बिरामीलाई रेफर गर्ने प्रक्रियामाथि प्रश्न उठिरहेका बेला सरकारले अस्पतालको नेतृत्व नै परिवर्तन गरेको हो। अब नयाँ निर्देशक डा. इन्द्रजीतकुमार रजकको नेतृत्वमा अस्पतालको सघन उपचार सेवा कसरी व्यवस्थापन हुन्छ भन्ने प्रश्नसमेत उठेको छ। विशेषगरी आईसीयू तथा भेन्टिलेटरको क्षमता, आवश्यक जनशक्ति र गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउने प्रणाली सुधार गर्नु अस्पतालको तत्कालीन चुनौती बनेको छ।

महेशको मृत्युको घटनाले भने एउटा गम्भीर प्रश्न छाडेको छ—सर्पले टोकेपछि आफैं स्कुटर चलाएर अस्पताल पुगेका बिरामीलाई १० भाइल एन्टी स्नेक भेनम दिएर उपचार सुरु गरिएको थियो, तर अवस्था गम्भीर भएपछि आवश्यक आईसीयू र भेन्टिलेटर नहुँदा उनलाई अस्पताल–अस्पताल रेफर गर्दै लैजानुप¥यो। अन्ततः बर्दिबास पुग्दा उनको मृत्यु भयो।

यही घटनापछि अस्पतालका निर्देशक मन्त्रालय तानिएका छन्। तर निर्देशकको सरुवाले मात्रै आईसीयू र भेन्टिलेटरको अभावबाट सिर्जिएको संरचनागत समस्या समाधान हुने कि त्यसका लागि जनशक्ति, बेड क्षमता र आपत्कालीन रेफरल प्रणालीमै सुधार गर्नुपर्ने हो भन्ने प्रश्न अब प्रदेश सरकारसामु छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट