बलात्कार मुद्दामा ७ वर्ष जेल बसेर १ महिनाअघि छुटेका व्यक्ति ७ वर्षीया बालिकामाथि दुर्व्यवहार प्रयासको आरोपमा पक्राउ
लहान— बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरेर करिब एक महिनाअघि मात्रै जेलबाट छुटेका सिराहाका एक व्यक्ति फेरि ७ वर्षीया बालिकामाथि यौन दर्व्यवहारको प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।
लक्ष्मीपुरपतारी गाउँपालिका–६ का करिब ४५ वर्षीय रूपनारायण यादवलाई बालिकालाई खेतबाट घर फर्किने क्रममा पछ्याएर झाडीतर्फ लैजान खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। यादवलाई पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा बुधबार साँझ करिब साढे ७ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
घटनास्थलमा इन्स्पेक्टरको कमान्डमा टोली पठाएर यादवलाई इलाका प्रहरी कार्यालय लहान ल्याइएको उनले बताए। ‘घटनास्थलमा इन्स्पेक्टरको कमान्डमा गएको टोलीले आरोपीलाई लहान लिएर गएको छ,’ डीएसपी पालले भने, ‘थप अनुसन्धानपछि मात्र के गर्ने भन्ने यकिन हुन्छ।’
प्रहरीका अनुसार यादव यसअघि बलात्कार मुद्दामा अदालतबाट ७ वर्ष कैद सजाय पाएका व्यक्ति हुन्। उक्त सजाय भुक्तान गरेर उनी करिब एक महिनाअघि मात्रै जेलबाट बाहिरिएका थिए। नयाँ घटनामा भने यादवमाथि ७ वर्षीया बालिकालाई एकान्ततर्फ लैजान खोजेको आरोप लागेको छ।
स्थानीयका अनुसार गाउँनजिकैको खेतबाट बाख्रा चराएर फर्किँदै गरेकी बालिकालाई यादवले बोकेर झाडीतर्फ लैजान खोजेका थिए। बालिकाकी हजुरआमाले उक्त दृश्य देखेपछि बालिका चिच्याउन थालेको र त्यस क्रममा यादवको औँलामा टोकेर उनको नियन्त्रणबाट उम्किएको स्थानीयले बताएका छन्।
घटनापछि बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। आफन्तका अनुसार घटनाकै दिन बुधबार बिहान करिब ९ बजे यादव बालिकाको घरमा पुगेका थिए। उनले परिवारका सदस्यसँग सामान्य कुराकानी गर्दै ‘सन्चो–बिसन्चो’ सोधेर फर्किएका थिए। ‘सन्चो–बिसन्चो के छ भन्दै सोधेर फर्किएका थिए,’ आफन्तले भने, ‘के थाहा उनको मनभित्र अर्कै कुरा खेलिरहेको रहेछ भन्ने।’
बिहान घर पुगेका यादव केही घण्टापछि बालिकासँग खेततर्फ भेटिएको र त्यहाँबाट झाडीतिर लैजान खोजेको आरोपपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ। डीएसपी पालका अनुसार अहिले आरोपको विस्तृत अनुसन्धान भइरहेको छ र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइनेछ।
घटनाको पृष्ठभूमिमा यादव यसअघि नै बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति भएको तथ्य जोडिएको छ। सजाय भुक्तान गरेर जेलबाट बाहिरिएको करिब एक महिनामै उनीमाथि फेरि नाबालिकामाथि यौन दुव्र्यवहार प्रयासको आरोप लाग्नुले घटनालाई थप संवेदनशील बनाएको छ।
अब प्रहरी अनुसन्धानले नयाँ आरोपको वास्तविकता के हो भन्ने मात्रै होइन, घटनामा संलग्न व्यक्तिमाथि कानुनअनुसार के कारबाही अघि बढ्छ भन्ने पनि निर्धारण गर्नेछ। नेपालमा १८ वर्षभन्दा कम उमेरकी बालिकालाई सहमतिमै करणी गरे पनि बलात्कार मान्ने व्यवस्था छ। मुलुकी अपराध संहिताले बालिकाको उमेरअनुसार जबर्जस्ती करणीमा फरक–फरक सजायको व्यवस्था गरेको छ।
यस घटनामा भने हालसम्म प्रहरीसमक्ष आएको विषय यौन दर्व्यवहारको प्रयासको आरोप हो। बलात्कार भएको वा नभएको तथा आरोपितको कसुर पुष्टि भएको वा नभएको अनुसन्धान र त्यसपछि हुने कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।
लोकप्रिय
विद्यालयको बजेटदेखि लेखापाल नियुक्तिसम्म प्रश्नैप्रश्न, अख्तियारले तिलाठी कोइलाडीलाई थमायो कारबाहीको पत्र
चोलेन्द्रसहित ६ जनाको घरमा सम्पत्ति शुद्धीकरणको छापा : ‘स्याउको बाकस’मा लुकाइएको पैसा खोज्दैछ सरकार?

