विद्यालयको बजेटदेखि लेखापाल नियुक्तिसम्म प्रश्नैप्रश्न, अख्तियारले तिलाठी कोइलाडीलाई थमायो कारबाहीको पत्र

राजविराज– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा सरकारी बजेट तथा आन्तरिक आम्दानीमा अनियमितता भएको आरोपसम्बन्धी उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही थालेको छ।

अख्तियारले आवश्यक कारबाहीका लागि गाउँपालिकालाई पत्र पठाएको छ। आयोगमा दर्ता भएको उजुरीमाथि ०८३ असोज २ गतेको स्क्रिनिङ समितिको निर्णयअनुसार उजुरीको प्रतिलिपिसहित गाउँपालिकालाई कारबाहीका लागि पत्राचार गरिएको हो।

स्रोतका अनुसार विद्यालयमा प्राप्त बजेट र आन्तरिक स्रोतबाट उठ्ने रकममा व्यापक अनियमितता भएको दाबीसहित ०८३ भदौ २५ गते उजुरी दर्ता भएको थियो। उजुरीलाई आयोगको स्क्रिनिङ समितिले अध्ययन गरी तिलाठी कोइलाडी गाउँपालिकामार्फत आवश्यक कारबाही गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

गाउँपालिकामा दिएको सोही प्रकृतिको उजुरीमा विद्यालयका प्रधानाध्यापक विपिन्नकुमार झाले विद्यालयमा आएको बजेट तथा आन्तरिक स्रोतबाट प्राप्त आम्दानीमा अनियमितता गरेको आरोप लगाइएको छ। उजुरीकर्ताले यसअघि पटक–पटक सूचना माग्दा प्रधानाध्यापकले सूचना उपलब्ध नगराई आलटाल गरेको दाबी गर्दै उनको सम्पत्तिसमेत छानबिन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न माग गरेका छन्।

उजुरीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादवका छोरा श्यामनारायण यादव ‘रञ्जित’लाई विद्यालयमा विज्ञापन नगरी लेखापाल पदमा नियुक्त गरिएको र त्यस क्रममा मोटो रकम लिएको आरोपसमेत लगाइएको छ। नियुक्ति प्रक्रियामा आफूखुसी गरिएको दाबी गर्दै उजुरीकर्ताले त्यसको छानबिन गर्न माग गरेका छन्।

त्यस्तै, सरकारले तोकेको मापदण्डअनुसार कार्यालय सहयोगीलाई पारिश्रमिक नदिई श्रम शोषण गरिएको आरोप पनि उजुरीमा छ। विद्यालयमा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटमा समेत अनियमितता भएको दाबी गर्दै भित्रभित्रै उपभोक्ता समिति गठन गरी काम नगरी बजेट दुरुपयोग गरिएको आरोप लगाइएको छ।

उजुरीकर्ताले विद्यालयको आर्थिक गतिविधि, बजेट खर्च तथा कर्मचारी नियुक्तिसम्बन्धी विवरण सार्वजनिक गर्न माग गर्दै यसअघि सूचनाको हकसम्बन्धी निवेदन दिएको उल्लेख गरेका छन्। तर माग गरिएको सूचना उपलब्ध नगराइएको दाबी गर्दै त्यससम्बन्धी निवेदनको प्रतिलिपिसमेत उजुरीसँगै संलग्न गरिएको छ।

लेखापालको हाजिरी रजिस्टरको प्रतिलिपि पनि प्रमाणका रूपमा पेश गरिएको पत्रमा उल्लेख छ। अख्तियारको पत्रमा उजुरीको विषय विद्यालयको बजेट तथा आन्तरिक आम्दानीमा भएको भनिएको अनियमिततासँग सम्बन्धित रहेको र स्क्रिनिङ समितिको निर्णयअनुसार आवश्यक कारबाहीका लागि तिलाठी कोइलाडी गाउँपालिकामा पठाइएको स्पष्ट पारिएको छ।

उजुरीकर्ताले प्रधानाध्यापक झाविरुद्ध छानबिन तथा कारबाहीको माग गर्दै अन्यथा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन्। उजुरीको बोधार्थ जिल्ला शिक्षा समन्वय समिति, सप्तरी, जिल्ला प्रशासन कार्यालय, सप्तरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीलगायतलाई दिइएको छ।

यस विषयमा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले आफुलाई जानकारी नै नभएको बताए। प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ता र सूचना प्रविधि अधिकृत अभिजित सिंहले भने फोन उठाएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट