बबिता प्रकरणमा मिडियाविरुद्ध भ्रम फैलाउँदै रणजित झा, राज्यका प्रतिनिधिले बोलेको कुरा तथ्यसहित प्रस्तुत गर्नुपर्दैन?

राजविराज— सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बबिता पासवान प्रकरणमा सञ्चारमाध्यमले ‘पैसा नभए अस्पतालमा बच्चा जन्माउन पाइँदैन’ भन्ने गलत भाष्य सिर्जना गरेको आरोप लगाएका छन्। तर अस्पतालका जिम्मेवार पदाधिकारीबाट आएको यो आरोपसँगै अर्को प्रश्न पनि उठेको छ—कुन मिडियाले यस्तो भाष्य बनायो, कुन समाचारमा के गलत थियो र त्यसको आधार के हो?

एक पोडकास्टमा झाले अस्पतालमा ‘एक सुका नभएका बिरामीलाई पनि हामी उपचार गर्छौं’ भनेका छन्। बेवारिसे बिरामीको समेत अस्पतालले उपचार गर्ने उनको दाबी थियो। पोडकास्ट सञ्चालकले त्यसपछि बबिता पासवानको घटनासँग उनको दाबीको विरोधाभास देखाउँदै प्रश्न गरे—पैसा नभएका बिरामीको उपचार हुन्छ भने पैसा नभएकै कारण बबिताले अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपर्ने अवस्था कसरी आयो?

जवाफमा झाले भने, ‘यही त हाइलाइटेड गरियो कुरालाई। मैले भन्न खोजेकै कुरा त्यही हो। पैसा नभएर बच्चा जन्माउन गजेन्द्रनारायण सिंह अस्पतालमा पाउँदैन जस्तो भाष्य सिर्जना जुन गरे मिडियाले, त्यो आफैंमा आपत्तिजनक छ।’

झाको यो भनाइले बबिता प्रकरणमा उठेको मूल प्रश्नलाई फेरि मिडियातर्फ मोडेको छ। तर घटनाको क्रम हेर्दा प्रश्न केवल मिडियाले के लेख्यो भन्नेमा सीमित छैन। अस्पतालमा पुगेकी गर्भवती महिला अस्पतालको गेटबाहिर कसरी पुगिन् भन्ने तथ्य नै यो प्रकरणको केन्द्रमा छ।

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान प्रसव व्यथामा राति गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। उनका श्रीमान् हरेराम पासवानसँग तत्काल करिब २ हजार रुपैयाँ मात्र रहेको परिवारको भनाइ थियो। तर, अस्पतालले ३ हजार २ सयको परिक्षण नै गर्नुपर्ने वताएपछि रकम जुटाउन नसकेर उनीहरू बाहिरिएका र भोलिपल्ट बिहान करिब साढे ४ बजेतिर अस्पतालको गेटनजिकै सडकमा बबिताले छोरालाई जन्म दिएको विवरण सार्वजनिक भएको थियो।

घटनाको भिडियो सार्वजनिक भएपछि सञ्चारमाध्यमले त्यसलाई समाचार बनाए। त्यसपछि स्थानीय घटनाले राष्ट्रिय ध्यान तान्यो। संसदमा प्रश्न उठ्यो। स्वास्थ्य मन्त्रालयदेखि प्रदेश र स्थानीय तहसम्मका निकायले घटनाबारे चासो लिए। छानबिन समितिहरू गठन भए।

यहाँ एउटा महत्वपूर्ण तथ्य छ—बबिताले अस्पतालको गेटबाहिर बच्चा जन्माएको घटना मिडियाले सिर्जना गरेको होइन। घटना पहिले भएको थियो, त्यसको भिडियो सार्वजनिक भएपछि मिडियाले त्यसलाई बाहिर ल्याएको थियो।

यदि सञ्चारमाध्यमले घटनालाई तोडमरोड गरेर ‘पैसा नभए अस्पतालमा बच्चा जन्माउन दिइँदैन’ भन्ने निष्कर्ष बनाएको हो भने त्यसको तथ्यगत आधार सार्वजनिक गर्नुपर्ने दायित्व पनि डा. झामाथि आउँछ।

कुन मिडियाले यस्तो लेख्यो?
बबिताले पैसा नभएका कारण प्रसुती सेवा नभएको सत्य हो। यो कुरा स्विकार गरेरै अस्पतालले ६ जना स्वास्थ्यकर्मीलाई तत्कालै कामबाट हटाएको थियो। यो निर्णय गर्ने स्वयम् झा नै हुन। त्यस वाहेक कुन समाचारमा ‘अस्पतालमा पैसा नभएकै कारण प्रसूति सेवा दिइएन’ भनिएको थियो? कुन वाक्य गलत थियो?

अस्पतालले त्यसबेला त्यस समाचारको खण्डन गरेको पनि थिएन। र सबैभन्दा महत्वपूर्ण—यदि घटनामा मिडियाको गलत प्रस्तुति मात्र थियो भने राज्यका विभिन्न निकायले छानबिन समिति गठन गर्नुपर्ने अवस्था किन आयो?

बबिता प्रकरणमा संघ र जिल्ला तहबाट छुट्टाछुट्टै छानबिन प्रक्रिया अघि बढेको थियो। नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेको थियो। टोलीले अस्पताल पुगेर सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनसँग घटनाबारे जानकारी लिएको थियो।

छानबिनबाट सार्वजनिक भएका विवरणले घटनालाई केवल सञ्चारमाध्यमले बनाएको ‘भाष्य’ भनेर टुंग्याएको छैन। ड्युटीमा रहेका स्वास्थ्यकर्मीको भूमिका, अस्पताल प्रशासन र ‘आमा सुरक्षा’ कार्यक्रम कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाइएको छ। सम्बन्धित कर्मचारीमाथि विभागीय कारबाहीको सिफारिससमेत भएको विवरण सार्वजनिक भएको छ।

अर्थात्, राज्यकै छानबिन प्रक्रिया घटनाको वास्तविकता खोज्न सक्रिय भएको थियो। त्यसैले मिडियाले प्रश्न उठाउनु र राज्यले त्यसको छानबिन गर्नु एउटै घटनाक्रमका दुई फरक चरण हुन्। अस्पताल प्रशासनले भने बबितालाई उपचारबाट वञ्चित नगरेको दाबी गर्दै आएको थियो।

अस्पतालका अनुसार बबिताका लागि बेड तयार थियो, आवश्यक परीक्षणका लागि बाहिर पठाइएको थियो र उनी परीक्षण गराएर फर्कनुअघि नै अस्पताल परिसरबाट बाहिरिएकी थिइन्। पैसा अभावको कुरा अस्पताललाई जानकारी गराइएको भए वैकल्पिक व्यवस्था गर्न सकिने अस्पताल पक्षको भनाइ थियो।

यही दाबी र बबिताको परिवारको भनाइबीचको फरक छुट्याउनै छानबिन आवश्यक परेको थियो। त्यसैले पत्रकारिताको आधारभूत प्रश्न यही हो—कसको दाबी सही हो? परिवारको? अस्पतालको? वा छानबिन प्रतिवेदनले देखाएको तथ्य?

तर डा. झाको पछिल्लो अभिव्यक्तिले यही तथ्य परीक्षणको प्रक्रियालाई उल्टो दिशामा धकेल्ने जोखिम देखिन्छ। उनले ‘मिडियाले आपत्तिजनक भाष्य सिर्जना गरेको’ भनेका छन्, तर कुन मिडिया र कुन समाचारलाई लक्षित गरेका हुन् भन्ने स्पष्ट पारेका छैनन्।

यो सामान्य टिप्पणी होइन। डा. झा अहिले गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हुन्। अर्थात् उनी अस्पताल प्रशासनको नेतृत्वमा रहेका जिम्मेवार पदाधिकारी हुन्। उनको सार्वजनिक अभिव्यक्तिले अस्पतालको संस्थागत धारणा प्रभावित गर्न सक्छ।

त्यसैले उनको भनाइ पनि सामान्य सामाजिक सञ्जालको टिप्पणीसरह लिन मिल्दैन। राज्यको अस्पतालको नेतृत्वमा रहेका पदाधिकारीले सञ्चारमाध्यममाथि गम्भीर आरोप लगाउँदा त्यो आरोपको आधार पनि सार्वजनिक अभिलेख र तथ्यले पुष्टि हुनुपर्छ।

झाले ‘एक सुका नभएका बिरामीको पनि उपचार हुन्छ’ भनेका छन्। त्यसो हो भने बबिताले अस्पतालको गेटमा कसरी बच्चा जन्माउनु परो ? भन्ने कुराको उत्तर अस्पतालले सार्वजनिक गर्नुपर्छ। प्रयोगशाला परीक्षणका लागि रकम आवश्यक पर्ने अवस्थामा विपन्न बिरामीका लागि वैकल्पिक व्यवस्था के छ? प्रसूति सेवाका लागि अस्पतालमा पुगेकी महिलालाई सेवा प्रणालीले कसरी समेट्छ? बबिता प्रकरणमा यी प्रश्नको जवाफ आवश्यक छ।

किनकि ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएको सरकारी अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिला अस्पतालको गेटबाहिर बच्चा जन्माउन बाध्य भएको दृश्यले नै सार्वजनिक प्रश्न जन्माएको थियो।

घटना सार्वजनिक भएपछि अस्पतालले बबिता र उनका नवजात शिशुलाई पुनः अस्पताल ल्याएर उपचार गरेको थियो। घटनासँग सम्बन्धित केही स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत जिम्मेवारीबाट हटाइएको थियो। यदि मिडियाले केवल भ्रम फैलाएको थियो भने त्यसपछि अस्पताल र राज्यका निकायले गरेका यी सबै कदमको आधार के थियो?

यही कारण डा. झाको भनाइको तथ्य परीक्षण आवश्यक हुन्छ। मिडियाले पनि आफूलाई प्रश्नभन्दा माथि राख्न मिल्दैन। तर, समाचार गलत थिए भने अस्पतालले खण्डन किन पठाएन, वा सार्वजनिक रुपमा किन प्रतिक्रिया जनाएन। बरु, एकै पटक ‘मिडियाले भ्रम फैलाए’ भन्ने सामूहिक आरोप लगाएर जिम्मेवारीबाट पन्सिने प्रयास गरेको देखिएको छ।

पछिल्लो अभिब्यक्तिपछि डा. झाको अब यी चार प्रश्नको जवाफ दिन जरुरी छ– कुन मिडिया? कुन समाचार? कुन तथ्य गलत? प्रमाण के? अझ गम्भिर प्रश्न भनेको बबिताले अस्पतालको गेटबाहिर बच्चा जन्माइन—यो घटना हो। त्यसको कारण के थियो—यो अनुसन्धानको विषय हो। अस्पतालले उनलाई सेवा दिन अस्वीकार गर्‍यो कि प्रक्रियागत कारणले उनी बाहिरिइन—यो प्रमाणले निर्धारण गर्ने विषय हो।

मिडियाले गलत भाष्य बनायो कि घटनाको वास्तविकता सार्वजनिक ग¥यो—यो पनि प्रकाशित समाचार, अस्पतालको अभिलेख र छानबिन प्रतिवेदनसँग तुलना गरेर परीक्षण गर्न सकिने विषय हो। तर राज्यको अस्पतालका प्रमुखले मिडियामाथि भ्रम फैलाएको आरोप लगाएपछि अब एउटा कुरा भने स्पष्ट हुनुपर्छ—आरोप लगाउने व्यक्तिले पनि आरोपको आधार देखाउनुपर्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट