सिराहामा पुरानो रिसइवीले मध्यरातमा हिंसात्मक रूप लियो, एकै परिवारका पाँच घाइते, दुई मोटरसाइकल जलाइयो
लहान— पुरानो रिसइवीका कारण सिराहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सी गाउँमा मध्यरातमा कुटपिट हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन्। घटनापछि आक्रोशित समूहले दुईवटा मोटरसाइकलमा आगजनी गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार मध्यराति बरियारपट्टी–२ गोरगामा गाउँका टुनटुन भनिने राजकुमार यादव, किरण यादव, मनोज यादव र कपिल यादवसहितको समूहले खोक्सी गाउँका एकै परिवारका सदस्यहरूमाथि कुटपिट गरेको थियो।
कुटपिटबाट ४५ वर्षीय सुरेन्द्र दास, उनकी ४० वर्षीया श्रीमती उषादेवी, २५ वर्षीय छोरा राधेकृष्ण तथा आफन्तहरू २२ वर्षीय हरिकृष्ण दास र १७ वर्षीय देवकृष्ण दास घाइते भएका छन्। सिरहाका डीएसपी रमेशबहादुर पालका अनुसार घाइतेहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको थियो।
उनीहरूको प्रादेशिक अस्पताल सिराहामा उपचार गरिएको र शनिबार दिउँसो डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। पुरानो आपसी रिसइवीका कारण झडप भएको सूचना पाएपछि प्रहरीले घटनास्थलमा टोली परिचालन गरेको थियो।
तर प्रहरी घटनास्थलमा पुग्नुअघि नै कुटपिटमा परेका दास पक्षका करिब दुई सयजना आक्रोशित भएर जम्मा भएको प्रहरीको भनाइ छ। उक्त समूहले नम्बर नखुलेको एउटा मोटरसाइकल र बीआर ३२ यू ६०१६ नम्बरको अर्को मोटरसाइकलमा आगजनी गरेको थियो। आगजनीबाट दुवै मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
घटनापछि थप झडप हुन नदिन इलाका प्रहरी कार्यालय महेशपुर पतार, बरियारपट्टी र झाँझपट्टी तथा प्रहरी चौकी कचनारीबाट थप प्रहरी परिचालन गरिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि घटनामा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट सई गुदरप्रसाद यादवको कमान्डमा खटिएको टोलीले खोजतलासका क्रममा टुनटुन भनिने राजकुमार यादव, कृष्ण यादव र कपिल यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाको कारण पुरानो रिसइवी रहेको प्रारम्भिक विवरण दिए पनि विवादको वास्तविक पृष्ठभूमि, कुटपिट र आगजनीमा कसको के भूमिका थियो भन्ने विषय अनुसन्धानबाट खुल्नेछ। घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूमाथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

