माछापोखरीमा मध्यराति दुई युवाबीच झगडा, अस्पतालमा उपचारका क्रममा २० वर्षीय सुवासको मृत्यु

काठमाडौँ— काठमाडौंको माछापोखरी चोकमा मध्यराति दुई युवाबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अर्का एक युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्दै आएका २० वर्षीय सुवास तामाङ छन्। प्रहरीका अनुसार शुक्रबार राति करिब सवा १२ बजे काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकमा तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकारबीच विवाद भएको थियो।

विवादले झगडाको रूप लिएपछि तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो साढे १ बजे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुई युवाबीच विवाद हुनुको कारण, झगडाका क्रममा के भएको थियो र तामाङको मृत्युको परिस्थितिबारे थप विवरण अनुसन्धानबाट खुल्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट