इटहरीको सेकुवा कर्नरमा प्रहरीको छापा, ब्राउन सुगरसहित ३ जना पक्राउ
इनरुवा— सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्कमा रहेको सुनौलो सेकुवा कर्नरबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ३० गते राति करिब ९ बजे उक्त सेकुवा कर्नरमा लागूऔषध बिक्री वितरण भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय इटहरी र बसपार्कस्थित सीआरभीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले सेकुवा कर्नरमा शंकास्पद अवस्थामा बसिरहेका तीन जनामाथि खानतलासी तथा जाँच गर्दा उनीहरूको साथबाट ०.४२ ग्राम ब्राउन सुगर र नगद ४ हजार ३३० रुपैयाँ फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो. नजाम छन्। प्रहरीले बरामद लागु पदार्थ र नगदसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखेको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

