सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु, हातखुट्टा बाँधेर कुटपिट गरिएको सीसीटीभी फुटेज सार्वजनिक

दमक— मादक पदार्थ सेवनको लत छुटाउन झापाको बिर्तामोडस्थित सुधार केन्द्रमा भर्ना गरिएका ३३ वर्षीय नरबहादुर बस्नेतको दुई दिनमै मृत्यु भएको छ। उनको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले सुधार केन्द्रका सञ्चालकविरुद्ध कुटपिट र लापरवाहीको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएको छ।

घटनासँग सम्बन्धित भनिएको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ, जसमा बस्नेतलाई कोठाभित्र हातखुट्टा बाँधेर राखिएको र उनीमाथि अन्य व्यक्तिले शारीरिक बल प्रयोग गरेको दृश्य देखिएको परिवारको दाबी छ।

इलामको फाकफोकथुम गाउँपालिका–२, कोल्बोटेका बस्नेतलाई परिवारले गत असोज २५ गते बिर्तामोड नगरपालिका–१ स्थित ‘शान्ति समूह नेपाल’ सुधार केन्द्रमा तीन महिनाका लागि भर्ना गराएको थियो। तर भर्ना भएको दुई दिनपछि असोज २७ गते उनी बिरामी परेको जानकारी परिवारलाई दिइयो। आफन्तहरू अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो।

सुधार केन्द्रका सञ्चालकहरूले बस्नेतलाई सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्तासिटी अस्पताल पु¥याएका थिए। बिर्तासिटी अस्पतालका चिकित्सकले उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको घोषणा गरेका थिए।

मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले दाजुको शव हेर्दा शरीरका विभिन्न भागमा चोटपटक देखेको बताएका छन्। सुधार केन्द्रले घटनाबारे दिएको जवाफ चित्तबुझ्दो नभएको र सीसीटीभी फुटेजमा देखिएको व्यवहारले मृत्यु थप शंकास्पद बनेको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको हो।

परिवारले दिएको जाहेरीमा बस्नेतलाई सुधार केन्द्रभित्र हातखुट्टा बाँधेर राखिएको, पीडाले छटपटाउँदा अन्य तीन–चार जनाले शरीर थिचेको र गालामा थप्पड हानेको उल्लेख छ। एक व्यक्तिले उनको हातमा डोरी बाँधेको र अर्को व्यक्तिले लट्ठी बोकेको दृश्यसमेत फुटेजमा देखिएको परिवारको दाबी छ।

सार्वजनिक भएको फुटेजमा देखिएका गतिविधि, त्यसमा संलग्न व्यक्तिको पहिचान र ती गतिविधिको परिस्थितिबारे प्रहरीले अनुसन्धान गर्नुपर्ने देखिन्छ। भिडियोमा देखिएको व्यवहार र बस्नेतको मृत्युबीच के सम्बन्ध छ भन्ने कुरा भने अनुसन्धान तथा चिकित्सकीय परीक्षणबाट पुष्टि हुन बाँकी छ।

घटनाबारे सुधार केन्द्रका सञ्चालकसँग स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नपाएको मृतकका भाइ तारा बस्नेतको भनाइ छ। शरीरमा देखिएका चोटपटक र सीसीटीभी फुटेजमा देखिएको भनिएको व्यवहारका आधारमा उनले दाजुको मृत्युमा सुधार केन्द्रको लापरवाही वा कुटपिटको भूमिका हुन सक्ने आशंका व्यक्त गरेका छन्।

परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिने व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेको छ। सोही आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गराइएको हो।

सुधार केन्द्रमा उपचारका लागि भर्ना भएका व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिँदा परिवारलाई कहिले जानकारी गराइयो, आवश्यक उपचारका लागि कति समय लगाइयो र अस्पताल पु¥याउँदा उनको अवस्था कस्तो थियो भन्ने विषय पनि अनुसन्धानका महत्वपूर्ण पक्ष हुन्। त्यसैगरी, बस्नेतको शरीरमा देखिएका चोटपटक कसरी लागे र सुधार केन्द्रभित्र उनीमाथि कस्तो व्यवहार भएको थियो भन्ने प्रश्नको तथ्यगत जवाफ आउन बाँकी छ।

घटनाको वास्तविक कारण, मृत्यु हुनुअघि बस्नेतमाथि भएको व्यवहार र सुधार केन्द्रका सञ्चालक तथा कर्मचारीको सम्भावित जिम्मेवारीबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी अनुसन्धान, पोस्टमार्टम प्रतिवेदन र अन्य प्रमाणबाट मात्रै मृत्युको कारण तथा घटनामा कसको भूमिका थियो भन्ने स्पष्ट हुनेछ। परिवारले कुटपिट र लापरवाहीको आरोप लगाएको छ, तर त्यसको अन्तिम पुष्टि अनुसन्धानबाट हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट