दशैंको बेला दुर्घटनामा परी एकै दिन ९ जना विते

काठमाडौँ— दशैंको दिन देशका सात जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा नौ जनाले ज्यान गुमाएका छन्। सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा पछिल्लो २४ घण्टाभित्र भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो।

दशैंको उल्लास र आफन्तसँग भेटघाटको समयमा भएका यी दुर्घटनाले सडक सुरक्षाको चुनौतीलाई देखाएको छ। दुर्घटनामा मोटरसाइकल, सुमो, ट्रक, ईभी गाडी र अटो संलग्न छन्। प्रहरीका अनुसार सबैभन्दा धेरै मानवीय क्षति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा भएको सुमो दुर्घटनामा भएको छ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–९ बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको हो।

उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा मोटरसाइकल र ईभी गाडी एकआपसमा ठोक्किँदा ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ। प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको ईभी गाडी दुर्घटनामा परेका थिए। श्रेष्ठ स्थानीय शिक्षक हुन्।

धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलमा दुई मोटरसाइकल ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ। ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र म प्र ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलमा दुई मोटरसाइकल ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ। बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ। बा ३७ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार ठाकुर फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरकी बासिन्दा हुन।

यस्तै, रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा अटो दुर्घटना हुँदा ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको छ। घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा भएका यी दुर्घटनामा सात जिल्लाका नौ जनाले ज्यान गुमाएका छन्। दशैंका बेला सवारी आवागमन बढ्ने भएकाले चालकको सावधानी, गति नियन्त्रण र सडक सुरक्षाका नियमको पालना अझ महत्वपूर्ण हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट