हायसको ठक्करबाट शिक्षकको मृत्यु, दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै कटारीमा राजमार्ग अवरुद्ध
गाईघाट— हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उदयपुरको कटारीमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन्।
कटारी नगरपालिका–५ भोर्लेमा भएको दुर्घटनामा शिक्षक श्रेष्ठको मृत्यु भएपछि आइतबार बिहानैदेखि स्थानीयवासीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वतर्फ जाने यात्रुहरू प्रभावित भएका छन्।
प्रदर्शनकारीले दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने र मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार शिक्षक श्रेष्ठ दुर्घटनामा घाइते भएका थिए।
घाइते श्रेष्ठलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्थानीय मधु धमलाका अनुसार घर फर्किँदै गरेका शिक्षक श्रेष्ठ सवार मोटरसाइकललाई ठक्कर दिएपछि प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी उपेन्द्र खरेलले चालक नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

