टाइगर श्राफको कारमा पाँच राउन्ड गोली, सलमान खानसँगको निकटता निशानामा परेको आशंका

काठमाडौँ— बलिउड अभिनेता टाइगर श्राफ सवार बीएमडब्ल्यु कारलाई लक्षित गरी मुम्बईको जुहु क्षेत्रमा पाँच राउन्ड गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्राफका चालक फिरदौस र एक अटो चालक घाइते भएका छन्। श्राफलाई गोली नलागे पनि उनको दायाँ हातमा बारुदले पोलेको निशान रहेको महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले बताएका छन्।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको पहिचान र उनीहरूलाई पक्राउ गर्ने प्रयास भइरहेका बेला घटनापछि सामाजिक सञ्जालमा आएको एउटा सन्देशले अनुसन्धानलाई थप संवेदनशील बनाएको छ। उक्त सन्देशमा लरेन्स बिश्नोई समूहसँग सम्बन्ध रहेको दाबी गर्ने व्यक्तिहरूले आक्रमणको जिम्मेवारी लिएका छन्। तर प्रहरीले उनीहरूको दाबी आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्देशमा अभिनेता सलमान खानसँग काम गर्ने वा उनको नजिक रहने व्यक्तिहरूलाई फिल्म उद्योगमा निशाना बनाउने चेतावनी दिइएको छ। त्यसैले श्राफमाथिको आक्रमण सलमानसँगको उनको निकटतासँग सम्बन्धित थियो कि थिएन भन्ने प्रश्न उठेको छ। यद्यपि, यसको कारण र आक्रमणकारीको वास्तविक उद्देश्य अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

प्रारम्भिक विवरणअनुसार श्राफ जुहु क्षेत्रको एक मैदानमा फुटबल खेलेर आफ्नो कारमा घर फर्किरहेका बेला मोटरसाइकलमा आएका तीन व्यक्तिले कारलाई निशाना बनाएका थिए। तीमध्ये दुई जनाले गोली चलाएको र तेस्रो व्यक्ति मोटरसाइकलमा बसेर भाग्न सहयोग गर्न तयार रहेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनास्थल नजिकैको सीसीटीभी फुटेज संकलन भइरहेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र उनीहरू भाग्न प्रयोग गरेको मोटरसाइकलबारे जानकारी जुटाइरहेको छ। अनुसन्धानका क्रममा एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आक्रमणपछि महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्दे श्राफको घरमै पुगेर उनीसँग भेट गरेका थिए। भेटपछि शिन्देले अभिनेता र उनको परिवार घटनाबाट चिन्तित रहेको बताए। परिवारले आफूहरूको कसैसँग व्यक्तिगत दुश्मनी वा विवाद नरहेको जानकारी गराएको पनि उनले बताएका छन्।

शिन्देले अभिनेता र उनको परिवारलाई सुरक्षा प्रदान गर्ने आश्वासन दिँदै घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताए। उनका अनुसार मुम्बई प्रहरी र महाराष्ट्र सरकार पीडित परिवारको साथमा छन् र दोषीमाथि कडा कारबाही गरिनेछ। उनले मुम्बईमा कुनै पनि गिरोह वा व्यक्तिलाई धम्की, डरत्रास र गुण्डागर्दी गर्न नदिइने बताएका छन्।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पनि मुम्बई प्रहरी प्रमुख देवन भारतीसँग घटनाबारे जानकारी लिएका थिए। उनले अनुसन्धान तीव्र बनाउन, आक्रमणकारीलाई चाँडो पक्राउ गर्न र घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फडणवीसले श्राफसँग पनि कुराकानी गरेका थिए।

प्रत्यक्षदर्शीले के देखे?
भारतीय सञ्चारमाध्यमका अनुसार घटनाका एक प्रत्यक्षदर्शीले गोली चल्नुभन्दा करिब आधा घण्टाअघि संदिग्ध व्यक्तिहरू नजिकैको वडापाव पसल आसपास देखिएको बताएका छन्। उनका अनुसार दुई जनाले गोली चलाएका थिए भने तेस्रो व्यक्ति मोटरसाइकलमा बसेर उनीहरूलाई भाग्न सहयोग गर्ने तयारीमा थिए।

घटनास्थलको भिडियोमा एक व्यक्तिले पटक–पटक गोली चलाएको र अर्का व्यक्तिले पनि गोली चलाउने प्रयास गरेको देखिएको विवरण सार्वजनिक भएको छ। त्यसपछि उनीहरू मोटरसाइकलमा भागेको बताइएको छ। यद्यपि, भिडियोमा देखिएका व्यक्तिको पहिचान र घटनासँग उनीहरूको सम्बन्ध प्रहरीले पुष्टि गर्न बाँकी छ।

एक प्रत्यक्षदर्शीका अनुसार गोली चल्दा श्राफ चालकको छेउमा अगाडिको सिटमा बसेका थिए। चालक घाइते भएपछि उनलाई पछाडिको सिटमा सारिएको र श्राफ आफैँले कार चलाएर अस्पताल पु¥याएका थिए।

बिश्नोई समूहको नाममा जिम्मेवारी लिने सन्देश
आक्रमणपछि सामाजिक सञ्जालमा अनिल पण्डित र हरमन सन्धु नामका व्यक्तिले लरेन्स बिश्नोई समूहको तर्फबाट जिम्मेवारी लिईएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त समूहको सन्देशमा सलमान खानसँग काम गर्ने वा उनीसँग निकट सम्बन्ध राख्ने व्यक्तिहरूलाई फिल्म उद्योगमा निशाना बनाउने चेतावनी दिइएको छ।

मुम्बई प्रहरीले उक्त सन्देशको विश्वसनीयता, दाबी गर्ने व्यक्तिहरूको संलग्नता र आक्रमणको सम्भावित कारणबारे अनुसन्धान गरिरहेको छ। प्रहरी अनुसन्धानबाट आक्रमणकारीको पहिचान, उनीहरूबीचको सम्बन्ध र घटनाको उद्देश्य खुलेपछि मात्रै यसबारे स्पष्ट हुन सक्नेछ।

फिल्म उद्योगको सुरक्षामाथि फेरि प्रश्न
उपमुख्यमन्त्री शिन्देले मुम्बईमा सन् १९९० को दशकमा नियन्त्रणमा ल्याइएको गिरोहगत हिंसा फेरि दोहोरिन नदिने बताएका छन्। उनले फिल्म क्षेत्रका व्यक्तिहरूलाई धम्कीपूर्ण फोन वा सन्देश आएमा तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरेका छन्।

टाइगर श्राफको कारमा भएको गोली प्रहारले चर्चित कलाकारको सुरक्षा र संगठित गिरोहका नाममा दिइने धम्कीबारे फेरि प्रश्न उठाएको छ। तर यस घटनालाई सलमान खानसँगको निकटतासँग जोड्ने आधार हालसम्म सार्वजनिक दाबीमा मात्रै सीमित छ।

अहिले प्रहरीका लागि मुख्य चुनौती आक्रमणकारीलाई पक्राउ गर्नु मात्र होइन, गोली प्रहारको वास्तविक उद्देश्य पत्ता लगाउनु र जिम्मेवारी लिएको दाबीको सत्यता जाँच्नु पनि हो। अनुसन्धानको निष्कर्ष नआएसम्म आक्रमणको पछाडि कुन समूह वा उद्देश्य थियो भन्ने विषय खुला नै रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट