खानामा काठ र फलामका टुक्रा, बासी खाना र फोहोर पानीको स्रोत फेला परेपछि सगरमाथा होटल बन्द!
नवलपरासी– दशैंको बेला खानामा प्रयोग हुने काठ र फलामका टुक्रा भेटिनुका साथै बासी खानेकुरा र फोहोर खानेपानीको स्रोत फेला परेपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटललाई सुधारका काम पूरा नभएसम्म सञ्चालन नगर्न निर्देशन दिइएको छ।
खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर रहेको गुनासोपछि गरिएको अनुगमनमा होटलको भान्सा, खानेपानीको स्रोत र खाद्य सामग्रीको व्यवस्थापनमा गम्भीर कैफियत भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
विभागको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुको संयुक्त टोलीले होटलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा खानामा काठ र फलामका टुक्रासमेत भेटिएका थिए।
त्यस्तै, भान्सामा बासी खानेकुरा राखिएको, खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको तथा भान्सामा आवश्यक सामग्री अव्यवस्थित रूपमा राखिएको पाइएको विभागले जनाएको छ। यी कैफियतले होटलमा खाद्य स्वच्छता र सरसफाइसम्बन्धी मापदण्ड पालना नभएको देखिएको छ।
अनुगमनका क्रममा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका–४ का वडाध्यक्षको पहलमा होटल खोलेर निरीक्षण गरिएको थियो। निरीक्षणपछि टोलीले होटल सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्री उचित व्यवस्थापन गर्न र खानेपानीको स्रोत स्वच्छ राख्न निर्देशन दिएको छ।
विभागले तोकिएका सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न निर्देशन दिएको हो। साथै, निर्देशनअनुसार सुधारका काम पूरा गरी ३० दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र सुनवल नगरपालिका–४ को वडा कार्यालयलाई जानकारी गराउन भनिएको छ।
खाद्य पदार्थमा अखाद्य वस्तु भेटिनु, बासी खानेकुरा राखिनु र खानेपानीको स्रोत अस्वच्छ हुनु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन्। होटल तथा भोजनालयमा स्वच्छ भान्सा, सुरक्षित खानेपानी र खाद्य सामग्रीको उचित भण्डारण सुनिश्चित गर्नु सञ्चालकको जिम्मेवारी हो।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिएको जनाएको छ।


