धानखेतमा छिमेकीसँग विवाद, गाउँले बोलाएर कुटपिट गर्दा ५० वर्षीय यादवको मृत्यु
राजविराज— सप्तरीको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टीमा धानखेतमा काम गर्ने क्रममा भएको विवादपछि कुटपिटबाट घाइते भएका ५० वर्षीय अरबिन्द यादवको मृत्यु भएको छ।
मंगलबार दिउँसो घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए।
एसपी खड्काका अनुसार यादवको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको देखिएको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
स्थानीयका अनुसार यादव खेतमा काम गर्न पुगेका बेला छिमेकी खेतवालासँग विवाद भएको थियो। त्यसपछि गाउँका अन्य व्यक्तिलाई बोलाएर यादवमाथि कुटपिट गरिएको उनीहरूको भनाइ छ। कुटपिटबाट घाइते भएर यादव खेतमै लडेपछि संलग्न व्यक्तिहरू त्यहाँबाट फरार भएको स्थानीयले बताएका छन्।
यद्यपि, विवादको वास्तविक कारण र घटनामा कसको के भूमिका थियो भन्ने विषय प्रहरीले औपचारिक रूपमा पुष्टि गरिसकेको छैन। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यादवको शव पोस्टमार्टमका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए।

