इटालीमा औंठी नपाएपछि उदयपुरमा घुँडा टेकेर रश्मिका मन्दानालाई विजयको विवाह प्रस्ताव!

काठमाडौँ– दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले अभिनेत्री रश्मिका मन्दानालाई विवाहको प्रस्ताव राख्न इटालीमा गरेको योजना आफूले चाहेजस्तो औंठी नपाउँदा अधुरै छाड्नुपरेको खुलासा गरेका छन्। इटालीमा प्रस्ताव राख्ने योजना असफल भएपछि उनले राजस्थानको उदयपुरमा आयोजित विवाह समारोहकै क्रममा साथीहरूको उपस्थितिमा घुँडा टेकेर रश्मिकालाई विवाहको प्रस्ताव राखेका थिए।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार विजयले करण जोहरको टक शो ‘कफी विथ करण–९’ मा आफ्नो प्रेमसम्बन्ध र विवाह प्रस्तावसँग जोडिएको यो रोचक प्रसंग सुनाएका हुन्। विजयका अनुसार सन् २०२६ को फेब्रुअरीमा विवाह हुनुअघि उनीहरू डिसेम्बरमा इटाली पुगेका थिए। त्यही यात्रालाई उनले रश्मिकालाई विवाहको प्रस्ताव राख्ने विशेष अवसरका रूपमा उपयोग गर्न चाहेका थिए। तर, आफूले कल्पना गरेजस्तो औंठी नभेटेपछि उनको योजना पूरा हुन सकेन।

‘म त्यस्तो रोमान्टिक हाउभाउ देखाइरहने व्यक्ति होइन। तर रश्मिकाले विवाहको प्रस्ताव पाउने अनुभव नै नगरेको होस् भन्ने म चाहन्नथेँ। इटालीमा प्रस्ताव राख्न चाहेको थिएँ, तर उपयुक्त औंठी भेटिनँ,’ विजयले कार्यक्रममा भनेका थिए।

इटालीमा योजना सफल नभए पनि विजयले रश्मिकालाई विवाहको प्रस्ताव राख्ने इच्छा भने अधुरो छाडेनन्। उनले उदयपुरमा आयोजित विवाह समारोहको पहिलो दिन संगीत कार्यक्रम सकिएपछि आफ्ना साथीहरूलाई बोलाए। साथीहरूकै उपस्थितिमा घुँडा टेकेर रश्मिकासमक्ष विवाहको प्रस्ताव राखे।

विजयले रश्मिकाको जीवनको त्यो विशेष क्षण छुट्न नदिन आफूले प्रस्ताव राखेको बताएका छन्। उनको यो खुलासाले विवाहअघि नै चर्चामा रहेको उनीहरूको प्रेमसम्बन्धको अर्को निजी पाटो सार्वजनिक गरेको छ।

कार्यक्रममा रश्मिकाले पनि विवाहको प्रस्तावसँग जोडिएको अर्को रोचक कुरा सुनाइन्। उनका अनुसार उनले विजयलाई विवाहका लागि तयार हुन करिब एक वर्षसम्म आग्रह गरिरहेकी थिइन्। ‘मैले बिहेका लागि विजयलाई एक वर्षसम्म भनिरहेँ,’ रश्मिकाले भनेकी थिइन्।

विवाह समारोहलाई निजी र पारिवारिक बनाउन दुवैले विशेष सावधानी अपनाएको पनि कार्यक्रममा बताएका छन्। समारोहमा मोबाइल फोनको प्रयोगमा कडाइ गर्नुको उद्देश्य पाहुनाहरूलाई क्यामराअघि पोज दिनभन्दा परिवार र नजिकका साथीहरूसँग समय बिताउन सहज बनाउनु थियो।

विजय र रश्मिकाले सन् २०२६ को फेब्रुअरीमा भारतको राजस्थानस्थित उदयपुरमा विवाह गरेका थिए। उनीहरूको सम्बन्धबारे लामो समयदेखि चर्चा हुँदै आए पनि दुवैले निजी जीवनका विषयमा सार्वजनिक रूपमा कमै बोलेका थिए।

बलिउड हंगामाका अनुसार विजय र रश्मिका सहभागी ‘कफी विथ करण–९’ को उक्त भाग अक्टोबर २१ मा जियोहटस्टारमा प्रसारण हुने कार्यक्रम छ। विवाह प्रस्ताव राख्न इटालीमा बनाएको योजना औंठीकै कारण रोकिए पनि उदयपुरमा साथीहरूको उपस्थितिमा घुँडा टेकेर गरिएको प्रस्ताव उनीहरूको प्रेमकथाको स्मरणीय प्रसंग बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट