बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय कामदारको जलेर मृत्यु; खसीबाख्रासहित लाखौँको क्षति

दमक– झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा जलेर एक जना कामदारको मृत्यु भएको छ। आगलागीबाट तीनवटा खसीबाख्रा, नगद र अन्य सामग्रीसहित करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मृत्यु हुनेमा गौरीगञ्ज नगरपालिका–२ का ६५ वर्षीय रुद्रबहादुर तामाङ छन्। आगो नियन्त्रणमा लिएपछि गरिएको खोजीका क्रममा क्यान्टिनभित्र उनको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड नगरपालिका–२, रामचोकस्थित ध्रुव भट्टराईको जग्गामा बनेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान सवा ४ बजे आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगो लागेको खुलेको प्रहरीले जनाएको छ।

उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ का रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए। क्यान्टिनमा काम गर्ने तामाङ आगलागीका बेला भित्रै रहेको र आगो नियन्त्रणमा लिएपछि मात्रै उनको शव फेला परेको हो।

आगलागीको सूचना पाएलगत्तै प्रहरी, दमकल र स्थानीयवासी घटनास्थल पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा बिहान साढे ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद १ लाख रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यी सामग्रीसहित क्यान्टिनमा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

आगो नजिकैको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्स गोदाममा समेत सल्किएको थियो। दमकलले आगो निभाउने क्रममा गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर क्षति पुगेको प्रहरीले जनाएको छ। उक्त क्षति करिब २५ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।

आगलागीमा एक जनाको ज्यान गएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट