छोरा बेपत्ता, खोजी नगर्नू भन्दै आयो रहस्यमय सन्देश, प्रहरीलाई गुहार्दा बाबुलाई सहकर्मीबाटै गालीगलौज !
रौतहट– आफ्नै छोरा तीन दिनदेखि बेपत्ता छन्। परिवारले आफन्त र चिनजानका मानिससँग हारगुहार गर्दै खोजी गरिरहेको छ। छोरा भेटिन्छन् कि भन्ने आशामा प्रहरीकै सहयोग माग्न पुगेका बाबु (प्रहरी हवल्दार) ले भने उल्टै आफ्नै सहकर्मीबाट गालीगलौज सहनुपरेको छ। यहीबीच परिवारलाई ‘म सुरक्षित छु, खोजतलास नगर्नू’ भन्ने सन्देश आएको छ। तर त्यो सन्देश बेपत्ता छोरा आफैँले पठाएका हुन् वा अरू कसैले भन्ने अझै खुलेको छैन।
छठ पर्व मनाउन काठमाडौँबाट रौतहटको घर फर्किएका नेपाल प्रहरीका हवल्दार सुरेश यादवका १८ वर्षीय छोरा चन्दनकुमार यादव मंसिर ३ गते बिहानदेखि सम्पर्कविहीन छन्। रौतहटको गौर नगरपालिका–३ मचकुठियास्थित घरबाट बिहान करिब ३ बजे कसैलाई जानकारी नदिई निस्किएका उनी त्यसपछि परिवारको सम्पर्कमा आएका छैनन्।
तीन दिनसम्म खोजी गर्दा पनि चन्दनको अवस्था पत्ता लाग्न नसकेपछि परिवार थप चिन्तित बनेको छ। यहीबीच आइतबार बिहान चन्दनका भाइले प्रयोग गर्ने मोबाइल नम्बरबाट परिवारलाई एउटा सन्देश आएको छ। सन्देशमा ‘म सुरक्षित छु, खोजतलास नगर्नू’ भनिएको छ। तर उक्त सन्देश चन्दनले नै पठाएको हो भन्ने पुष्टि भएको छैन। भाइको मोबाइल नम्बरबाट आएको म्यासेजको वास्तविक प्रेषक को हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
चन्दनका बाबु सुरेश यादव नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया इलाका प्रहरी कार्यालयअन्तर्गत सुरक्षा बेसमा खटिएका छन्। छोरा हराएपछि परिवार र आफन्तले खोजी गरे पनि कुनै जानकारी नपाएपछि उनले प्रहरी संयन्त्रसँग सहयोग मागेका थिए।
तर छोराको खोजीका लागि प्रहरीलाई फोन गर्दा उनले भोगेको व्यवहारले घटनालाई अर्को विवादमा पु¥याएको छ। मंसिर ४ गते राति सुरेशले जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल रुममा सम्पर्क गरी छोरा बेपत्ता भएको जानकारी गराउन खोजेका थिए। कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि उनले त्यहाँ फोन गरे।
फोन उठाउने व्यक्तिले आफूलाई ‘सञ्चारको सई’ बताउँदै ‘जय नेपाल’ नभनेको भन्दै सुरेशसँग विवाद गरेको र अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोप छ। सार्वजनिक भएको अडियोमा सुरेशले ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब?’ भन्दै परिचय सोधेको सुनिन्छ। त्यसपछि फोनमा रहेका व्यक्तिले उनको बोल्ने शैलीमाथि प्रश्न गर्दै हप्काएको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ।
सुरुमा आफूलाई प्रहरी नायव निरीक्षक (सई) बताउने ती व्यक्ति पछि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो भएको खुलेको छ। छोराको अवस्था पत्ता लगाउन र खोजीमा सहयोग जुटाउन फोन गरेका सुरेशले सहकर्मीबाटै अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै असन्तुष्टि जनाएका छन्।
‘मेरो छोरा हराएको पीडाले म राम्ररी सुत्नसमेत पाएको छैन। मैले जानकारी गराउन फोन गर्दा उल्टै गालीगलौज गर्नुभयो,’ सुरेशले बताएका छन्। छोराको चिन्तामा रहेका बेला प्रहरी संगठनभित्रैबाट यस्तो व्यवहार भोग्नुपरेपछि आफू थप पीडित बनेको उनको भनाइ छ।
घटनाको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत कर्मचारीबीच भएको संवादमा प्रयोग गरिएको भाषा, शब्द र शैलीप्रति आपत्ति जनाउँदै सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार घटनाको छानबिनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) जयशंकर जयसवालको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले शनिबारदेखि काम थालेको छ। घटनामा संलग्न दुवै प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयमा बोलाएर सोधपुछ तथा अनुसन्धान अघि बढाइएको छ। हवल्दार बुधन महतोमाथि निलम्बनको प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ।
तर छानबिनको दायरामा गालीगलौज गर्ने भनिएका महतो मात्रै छैनन्। हवल्दार सुरेश यादवले फोन संवादको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ। प्रहरी अधिकारीहरूले घटनाको सम्पूर्ण पक्ष बुझेर जिम्मेवारी निर्धारण गरिने बताएका छन्। अर्थात्, एकातिर सहकर्मीमाथि अपमानजनक भाषा प्रयोग गरेको आरोपमा महतोमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढेको छ भने अर्कोतिर अडियो सार्वजनिक गरेको विषयमा सुरेशसँग पनि सोधपुछ भइरहेको छ।
यता बेपत्ता चन्दनको खोजी भने जारी छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीका अनुसार चन्दनको अवस्था पत्ता लगाउन गोप्य टोली परिचालन गरिएको छ। परिवारलाई आएको सन्देश कसले पठाएको हो भन्ने पुष्टि नभएकाले त्यसलाई आधार मानेर खोजी रोकिएको छैन।
चन्दन एसईई परीक्षा उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौँमा बस्दै आएका थिए। छठ पर्व मनाउन उनी रौतहटस्थित घर आएका थिए। उनी करिब पाँच फिट अग्ला, गहुँगोरो वर्णका छन्। घरबाट निस्कँदा उनले खैरो पाइन्ट र रातो सर्ट लगाएका थिए।
प्रहरीले चन्दनको खोजीका लागि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। परिवारलाई आएको ‘म सुरक्षित छु, खोजतलास नगर्नू’ भन्ने सन्देशको प्रामाणिकता पुष्टि हुन बाँकी रहेकाले उनको अवस्था र उनी कहाँ छन् भन्ने विषय अझै अनिश्चित छ।
यो घटनाले अहिले दुईवटा गम्भीर प्रश्न एकैसाथ उठाएको छ—तीन दिनदेखि बेपत्ता किशोर चन्दनकुमार कहाँ छन् र उनलाई खोजिदिन सहयोग माग्ने प्रहरी कर्मचारीले आफ्नै संगठनभित्रबाट किन अपमान सहनुपर्यो? पहिलो प्रश्नको जवाफ खोज्न प्रहरी परिचालित छ भने दोस्रो प्रश्नको जवाफ विभागीय छानबिनले दिनुपर्नेछ।

