ईभी दुर्घटनामा १४ जनाको मृत्युको भयावह खुलासा! ११ सिटको ईभीमा २० यात्रु, ४८ घण्टामा साढे ३३ घण्टा ड्राइभिङ
हेटौँडा– मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटना कुनै एउटा कारणले मात्रै भएको देखिएको छैन। छानबिन समितिको प्रतिवेदनले दुर्घटनाका पछाडि चालकको अस्वाभाविक कार्यतालिका, पर्याप्त आरामबिनै लामो दूरीको यात्रा, सवारी क्षमताभन्दा झन्डै दोब्बर यात्रु, जोखिमपूर्ण सडक र सुरक्षा संरचनाको अभाव जस्ता कमजोरी रहेको औँल्याएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक सीडीओ शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सोमबार बुझाएको प्रतिवेदनले सार्वजनिक यातायात सञ्चालन र सडक सुरक्षासम्बन्धी व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।
प्रतिवेदनको सबैभन्दा गम्भीर तथ्य चालकको कार्यअवधिसँग जोडिएको छ। दुर्घटनाअघि करिब ४८ घण्टा ४५ मिनेटको अवधिमा चालकले ३३ घण्टा ४५ मिनेट सवारी चलाएका थिए। यो अवधिमा उनले जम्मा १५ घण्टा मात्रै विश्राम पाएको समितिको अध्ययनले देखाएको छ।
कात्तिक २४ गते बिहान ५ बजे काठमाडौँबाट मलंगवाका लागि हिँडेका चालक सोही दिन राति फर्किएर कात्तिक २५ गते बिहान २ बजे काठमाडौँ पुगेका थिए। त्यसको साढे पाँच घण्टापछि बिहान ७ः३० बजे उनी फेरि मलंगवातर्फ लागे। सोही साँझ फर्किएका उनी कात्तिक २६ गते बिहान १ बजे काठमाडौँ पुगेका थिए।
काठमाडौँ पुगेको एक घण्टामै बिहान २ बजे २० जना यात्रु लिएर उनी पुनः मलंगवातर्फ लागेका थिए। त्यही यात्राका क्रममा बिहान करिब ५ः४५ बजे भीमफेदीको चिसापानी गढीमा सवारी सडकबाट बाहिरिएर गहिरो भिरतर्फ खसेको थियो।
समितिका अनुसार लगातार लामो समय सवारी चलाउँदा चालकमा निद्राको कमी र शारीरिक थकान बढेको हुन सक्छ। यस्तो अवस्थामा निर्णय क्षमता र एकाग्रता कमजोर हुने भएकाले दुर्घटनामा त्यसको भूमिका रहेको हुन सक्ने प्रतिवेदनको विश्लेषण छ।
अर्कोतर्फ, दुर्घटनाका बेला सवारीमा चालकसहित २० जना सवार थिए। तर, दुर्घटनाग्रस्त ‘मधेश प्रदेश ०३–००१ ज ०८८०’ नम्बरको ईभीको ब्लुबुकमा स्वीकृत यात्रु क्षमता ११ जना मात्रै उल्लेख छ। अर्थात्, स्वीकृत क्षमताभन्दा नौ जना बढी यात्रु बोकेर सवारी सञ्चालन गरिएको थियो। यात्रुमध्ये सात जना बालबालिका थिए।
यात्रु क्षमताभन्दा बढी भार बोकेर पहाडी र घुम्ती सडकमा लामो दूरीको यात्रा गरिनु आफैँमा गम्भीर सुरक्षा जोखिम हो। चालकको थकान र क्षमताभन्दा बढी यात्रु बोकेको अवस्थालाई समितिले दुर्घटनाका प्रमुख जोखिमका रूपमा औँल्याएको छ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला विपरीत दिशाबाट अर्को सवारी आइरहेको थिएन। सडक पनि साँघुरो थिएन। स्थलगत निरीक्षणमा दुर्घटनास्थलको सडक करिब ६ मिटर कालोपत्रे र १० मिटरभन्दा बढी सोल्जरसहित फराकिलो रहेको पाइएको समितिले जनाएको छ। तर, सवारी घुम्तीको दिशामा नमोडिई सिधै सडकबाट बाहिर जङ्गलतर्फ गएको थियो।
दुर्घटनाका बेला सबै यात्रु निदाइरहेका थिए। गाडी भिरबाट खसेपछि मात्रै उनीहरूले घटनाबारे थाहा पाएको घाइतेहरूको भनाइ प्रतिवेदनमा उल्लेख छ। सवारी करिब ५०० देखि ७०० मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसैले यान्त्रिक खराबी नै दुर्घटनाको कारण थियो भनेर निष्कर्ष निकाल्न सक्ने अवस्था नरहेको समितिले जनाएको छ।
सडकको संरचना र सुरक्षा व्यवस्थामाथि पनि प्रश्न
समितिले दुर्घटनाको कारण चालकको थकान र बढी यात्रुमा मात्रै सीमित राखेको छैन। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डको भौगोलिक अवस्था र सडक सुरक्षाका पूर्वाधारको कमजोरीलाई पनि जोखिमको प्रमुख पक्ष मानेको छ।
सुरुमा कुलेखानी जलविद्युत् आयोजनाका सामग्री ढुवानी गर्न निर्माण गरिएको सडक अहिले उच्च सवारी चापसहित सार्वजनिक यातायात सञ्चालन हुने मार्ग बनेको छ। पहाडी र भिरालो भूभाग, तीखा घुम्ती तथा जोखिमयुक्त मोड रहेको सडकमा पर्याप्त सुरक्षा बार, चेतावनी संकेत, सडक बत्ती र राति सवारी चालकलाई सडकको अवस्था देखाउने रिफ्लेक्टरको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
यस्ता स्थानमा सवारी सडकबाट बाहिरिएमा रोक्न सक्ने बलियो क्र्यास बेरियर नहुँदा दुर्घटनाको जोखिम थप बढेको समितिको ठहर छ। सडकको प्रयोग र सवारी चाप बढ्दै गए पनि त्यसअनुसार सुरक्षा संरचना विस्तार हुन नसकेको प्रतिवेदनले देखाएको छ।
ईभी चलाउने चालकलाई प्राविधिक तालिमको अभाव
प्रतिवेदनले विद्युतीय सवारी सञ्चालनसम्बन्धी चालकको प्राविधिक ज्ञान र तालिमको विषय पनि उठाएको छ। ईभीको प्राविधिक क्षमता, ब्रेकिङ प्रणाली र ब्याट्री व्यवस्थापनबारे चालकलाई पर्याप्त तालिम नदिइएको समितिको निष्कर्ष छ।
त्यसैगरी, सवारीसाधनमा देखिने सूचना तथा चेतावनीहरू अङ्ग्रेजी भाषामा मात्रै उपलब्ध हुँदा चालकलाई बुझ्न कठिनाइ हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। विद्युतीय सवारीका प्राविधिक विशेषता र सुरक्षा प्रणालीबारे चालकलाई जानकारी नहुँदा जोखिमपूर्ण अवस्थामा सही निर्णय लिन कठिन हुन सक्ने समितिको विश्लेषण छ।
चालकको समय र विश्राम नियमन गर्न डिजिटल प्रणालीको सुझाव
लामो दूरीका सार्वजनिक सवारी चालकले कति समय सवारी चलाउन पाउने र कति समय अनिवार्य आराम गर्नुपर्ने भन्ने स्पष्ट कानुनी मापदण्ड आवश्यक रहेको समितिले औँल्याएको छ। चालकलाई लगातार लामो समय सवारी चलाउनुपर्ने अवस्था रोक्न वैकल्पिक चालकको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ।
हालको टाइम कार्ड प्रणाली मात्रै पर्याप्त नभएको भन्दै समितिले जीपीएस ट्रयाकिङ, गति निगरानी, चालकको थकान पहिचान गर्ने प्रणाली र डिजिटल टाइम कार्ड लागू गर्न सरकारलाई सुझाव दिएको छ। यी प्रणालीले चालकले कति समय सवारी चलायो, कति समय विश्राम ग¥यो र सवारीको गति कस्तो थियो भन्ने विषय निगरानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, सवारी जाँच तथा चेकपोस्टमा यात्रुको संख्या कडाइका साथ अनुगमन गर्नुपर्ने र सवारीधनी तथा यातायात क्षेत्रका संघसंस्थाले चालकको कार्यअवधि र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ।
जोखिमयुक्त सडकमा क्र्यास बेरियरदेखि रिफ्लेक्टरसम्म
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डका उच्च जोखिमयुक्त स्थानमा बलियो क्र्यास बेरियर जडान गर्नुपर्ने समितिको सुझाव छ। सडक बत्ती, रिफ्लेक्टर र चेतावनी संकेत राख्नुका साथै जोखिमअनुसार गति सीमा निर्धारण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
सडक सुरक्षा अडिटबाट आएका सुझाव कार्यान्वयन गर्न संघीय सरकारले आवश्यक अनुदान उपलब्ध गराउनुपर्ने समितिको सिफारिस छ। पहाडी तथा जोखिमयुक्त सडकमा सञ्चालन हुने सार्वजनिक विद्युतीय सवारीका लागि प्राविधिक क्षमता, भारवहन र ब्याट्री सुरक्षासम्बन्धी छुट्टै मापदण्ड बनाउनुपर्ने पनि प्रतिवेदनले औँल्याएको छ।
ईभी चालकलाई अनिवार्य प्रयोगात्मक तालिम दिनुपर्ने र सवारीसाधनका सूचना तथा चेतावनी नेपाली भाषामा समेत उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ।
पीडित परिवारका लागि विशेष राहत प्याकेजको सिफारिस
दुर्घटनामा एकै परिवारका एकभन्दा बढी सदस्य गुमाएका र परिवारको जीविकोपार्जनको आधार नै गुमाएका परिवारलाई लक्षित गरी विशेष राहत तथा पुनर्स्थापना प्याकेज ल्याउन समितिले सरकारलाई सिफारिस गरेको छ।
तीनै तहका सरकारबीच समन्वय गरी प्रभावित परिवारलाई आर्थिक सहायता, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। बीमा रकम र कानुनी क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रिया पनि सरल र शीघ्र बनाउन समितिले जोड दिएको छ।
दुर्घटनाबाट घाइते भएका व्यक्तिको उपचार तथा पीडित परिवारको पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने समितिको सुझाव छ। राहतलाई तत्कालीन आर्थिक सहयोगमा मात्रै सीमित नराखी प्रभावित परिवारको दीर्घकालीन आवश्यकता सम्बोधन गर्नुपर्ने प्रतिवेदनको आशय छ।
एउटै गाउँका १३ जनासहित १४ जनाको मृत्यु
गत कात्तिक २६ गते बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जना यात्रु र कविलासी नगरपालिका–८ का चालक रविशंकर कुमार मण्डल गरी १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ‘मधेश प्रदेश ०३–००१ ज ०८८०’ नम्बरको ईभी चिसापानी गढीमा सडकबाट करिब ५०० देखि ७०० मिटर तल खसेको थियो। एउटै गाउँका धेरै सदस्य गुमेपछि सुन्दरपुर गाउँ शोकमा डुबेको थियो।
छानबिन समितिको प्रतिवेदनले चालकको थकान, क्षमताभन्दा बढी यात्रु, सडकको अवस्था र सुरक्षा पूर्वाधारको कमजोरीलाई एकैसाथ दुर्घटनाका जोखिमका रूपमा औँल्याएको छ। अब प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी सरकार र सम्बन्धित निकायको काँधमा आएको छ।
१४ जनाको ज्यान गएको यो दुर्घटनाले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ—सार्वजनिक यातायातमा चालकको विश्राम, यात्रु क्षमता र सडक सुरक्षाको निगरानी दुर्घटना भएपछि मात्रै गर्ने कि यात्रुको ज्यान जोगाउनुअघि नै प्रभावकारी बनाउने?
लोकप्रिय
स्कुलको गेटमै दुई बसबीच च्यापिएर सहचालकको मृत्यु, स्टार्ट गर्न डोरी लगाउँदै गर्दा अचानक ब्याक भयो अर्को बस
विगतका प्रधानमन्त्रीले पाएको सम्मानको तुलनामा बालेनको स्वागत कमजोर, भारतले दिएको संकेत बुझ्ने कि भ्रमणको तयारीमै चुक्ने?
ताजा अपडेट
ईभी दुर्घटनामा १४ जनाको मृत्युको भयावह खुलासा! ११ सिटको ईभीमा २० यात्रु, ४८ घण्टामा साढे ३३ घण्टा ड्राइभिङ
२ खर्ब ४० अर्बको भारतीय सहयोगदेखि भैरहवा हवाई रुटसम्मः बालेनको दिल्ली भ्रमणमा नेपालले के पायो, के छुट्यो ?

