परीक्षार्थीले एआईबाट चिट चोरेको खुलासापछि दक्षिण कोरियाली शिक्षामन्त्रीको राजीनामा, नेपालमा परीक्षा प्रणालीकै बेथितिमा जिम्मेवारी लिने को?
काठमाडौँ– दक्षिण कोरियामा एउटा परीक्षार्थीले एआई प्रयोग गरेर राष्ट्रिय स्तरको परीक्षा दिएको खुलासा भएपछि शिक्षामन्त्रीले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। परीक्षामा उत्कृष्ट अंक ल्याएर पहिलो भएका परीक्षार्थीले चिट चोरेको स्वीकार गरेपछि सरकारले विश्वविद्यालय प्रवेश परीक्षाको सुरक्षा व्यवस्था असाधारण रूपमा कडा बनाएको थियो।
तर परीक्षा तयारीका क्रममा अन्तिम समयमा नियम परिवर्तन गरेर विद्यार्थी र शिक्षकलाई अन्योलमा पारेको तथा समयमै पर्याप्त तयारी गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि शिक्षामन्त्री चोई क्यो–जिनले राजीनामा दिएका हुन्।
नेपालमा परीक्षा अनियमितता, प्रश्नपत्र चुहावट र परीक्षा व्यवस्थापनमाथि प्रश्न उठिरहँदा दक्षिण कोरियाको यो घटनाले एउटा फरक प्रश्न उठाएको छ—परीक्षा प्रणालीको विश्वसनीयतामाथि संकट आउँदा त्यसको राजनीतिक र नैतिक जिम्मेवारी कसले लिने?
दक्षिण कोरियाको राष्ट्रिय कर लेखा परीक्षकको परीक्षामा सबैभन्दा धेरै अंक ल्याएका एक परीक्षार्थीले एआईको प्रयोग गरेर चिट चोरेको स्वीकार गरेका थिए। उनले सानो क्यामेराबाट प्रश्नपत्रको तस्बिर खिचेर एआई प्रणालीमा पठाउने र त्यसले तयार पारेको उत्तर स्मार्टफोनमा हेरेर परीक्षामा लेख्ने गरेको खुलाएका हुन्।
ती परीक्षार्थीले गत अप्रिलमा भएको परीक्षाको पहिलो चरण र जुलाईमा भएको दोस्रो चरणमा पनि यही तरिका अपनाएको स्वीकार गरेका थिए। दुवै चरणमा उत्कृष्ट अंक ल्याएर पहिलो स्थान हासिल गरेका उनले आफ्नो सफलता इमानदार प्रयासको नतिजा नभएको बताएका थिए।
नोभेम्बर १५ मा आफ्नै वकिलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडिओमा उनले आफूले चिट चोरेको स्वीकार गरेका थिए। त्यसपछि प्रहरीसमक्ष लिखित बयानसमेत दिएका थिए। ‘मैले कर लेखा परीक्षकको परीक्षामा चिट चोरेको हुँ। मैले पाएको उत्कृष्ट स्थान इमानदार प्रयासको नतिजा होइन,’ उनले स्वीकार गरेका थिए।
यो खुलासा दक्षिण कोरियाको सबैभन्दा महत्वपूर्ण मानिने विश्वविद्यालय प्रवेश परीक्षा हुनुभन्दा चार दिनअघि सार्वजनिक भएको थियो। त्यसपछि सरकारले एआई र लुकेर ल्याइने डिजिटल उपकरणको प्रयोगबाट हुन सक्ने धाँधली रोक्न देशभरका परीक्षा केन्द्रमा कडा निगरानीको व्यवस्था ग¥यो।
दक्षिण कोरियामा विश्वविद्यालय प्रवेश परीक्षा ‘सुनुङ’ विद्यार्थीको भविष्य निर्धारण गर्ने अत्यन्त महत्वपूर्ण परीक्षा मानिन्छ। करिब आठ घण्टा चल्ने यो परीक्षाको नतिजाले विद्यार्थीले कुन विश्वविद्यालयमा पढ्न पाउँछन् भन्ने तय गर्छ। प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुन सके राम्रो रोजगारी र सामाजिक हैसियत प्राप्त हुने विश्वासका कारण विद्यार्थी र परिवारले यसलाई जीवनकै निर्णायक परीक्षाका रूपमा लिन्छन्।
यस वर्षको परीक्षा नोभेम्बर १९ मा भएको थियो। परीक्षामा एआई प्रयोग गरेर चिट चोर्ने सम्भावना रोक्न सरकारले परीक्षा केन्द्रमा सार्वजनिक वाइफाइ बन्द ग¥यो। निरीक्षकको संख्या दोब्बर बनाइयो। विद्यार्थीलाई पेन्सिलबाहेक अन्य लेखन सामग्री नल्याउन भनियो र इरेजर परीक्षा केन्द्रमै उपलब्ध गराउने व्यवस्था गरियो।
लुकेका क्यामेरा वा डिजिटल उपकरण प्रयोग हुन सक्ने आशंकामा विद्यार्थीको पोसाक र व्यक्तिगत सामग्रीसमेत जाँच गरियो। बटनभित्र सानो क्यामेरा लुकाउन सकिने सम्भावना रोक्न बटन भएका लुगा लगाएर आएका विद्यार्थीको बटनमा स्टिकर टाँसियो। चस्मा, घडी, सर्टको कलर र बाहुलासमेत निरीक्षण गरियो।
परीक्षार्थीले स्मार्टफोन र अन्य विद्युतीय उपकरण बन्द गरेर बुझाउनुपर्ने नियम बनाइएको थियो। झोला राखिएको स्थानमा समेत उपकरण चालु अवस्थामा छन् कि भनेर जाँच गरियो। सार्वजनिक वाइफाइ बन्द गर्ने र परीक्षा केन्द्रमा अतिरिक्त निगरानी राख्ने व्यवस्था पनि लागू गरियो।
सरकारले देशभरका मोबाइल फोनमा आपत्कालीन सूचना पठाउने व्यवस्था ग¥यो। उक्त सूचना ठूलो आवाजमा बज्ने र बन्द गर्न नमिल्ने बनाइएको थियो। परीक्षा दिन आएका विद्यार्थीले मोबाइल बुझाउन छुटाएका छन् कि छैनन् भन्ने पत्ता लगाउन यस्तो व्यवस्था गरिएको थियो।
यति कडा सुरक्षा व्यवस्था अपनाउँदा पनि गत बिहीबार भएको परीक्षामा विद्युतीय उपकरणसँग सम्बन्धित १११ वटा अनियमितता भेटिएको शिक्षा मन्त्रालयले जनाएको छ। तीमध्ये झन्डै आधा घटना मोबाइलमा पठाइएको आपत्कालीन सूचनाबाट पत्ता लागेको बताइएको छ।
परीक्षामा चिट चोर्ने कामलाई निरुत्साहित गर्न सरकारले सूचना दिएर सहयोग गर्नेलाई कम्तीमा ७५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेको थियो। चिट चोर्न सहयोग गर्ने व्यक्तिले आफैँ सूचना दिएमा सजाय कम गर्ने प्रस्तावसमेत गरिएको थियो।
तर सरकारले परीक्षा हुन केही दिन मात्रै बाँकी रहँदा लगातार नियम परिवर्तन गरेको भन्दै विद्यार्थी, शिक्षक र शिक्षक संगठनले आलोचना गरे। सुरुमा स्मार्ट चस्माको प्रयोग रोक्ने विषयमा केन्द्रित सरकारले सानो क्यामेरासहितका अन्य उपकरणबाट पनि चिट चोर्न सकिने खुलासा भएपछि अन्तिम समयमा थप प्रतिबन्ध लगाएको थियो। त्यसले परीक्षा दिने विद्यार्थीमा अन्योल र तनाव बढाएको आलोचकहरूको भनाइ थियो।
यही विवादमा शिक्षामन्त्री चोईको अभिव्यक्तिले पनि थप आलोचना निम्त्यायो। नोभेम्बर १६ मा संसद्को सुनुवाइका क्रममा सांसदहरूले एआई प्रयोग गरेर चिट चोर्न खोज्ने विद्यार्थीलाई परीक्षाका दिन नियन्त्रण गर्न सकिनेमा उनी कति विश्वस्त छन् भनेर प्रश्न गरेका थिए।
७२ वर्षीय मन्त्री चोईले आफ्नो उमेरका कारण आफू विश्वस्त हुन नसक्ने जवाफ दिएका थिए। प्रविधिको दुरुपयोग रोक्ने जिम्मेवारीमा रहेका मन्त्रीको यस्तो जवाफलाई गैरजिम्मेवार भन्दै आलोचना भएको थियो।
परीक्षा सकिएको तीन दिनपछि आइतबार, नोभेम्बर २२ मा मन्त्री चोईले सामाजिक सञ्जाल एक्समार्फत राजीनामा घोषणा गरे। उनले परीक्षा कुनै ठूलो घटनाबिना सम्पन्न भए पनि तयारी पर्याप्त नभएको आलोचनाबाट आफू अलग हुन नसक्ने बताएका थिए।
‘कुनै ठूलो घटना नभई परीक्षा सकिएको छ। तर जिम्मेवार मन्त्रीका रूपमा हामीले पर्याप्त तयारी गर्न सकेनौँ भन्ने सार्वजनिक आलोचनाबाट म अलग रहन सक्दिनँ,’ उनले लेखेका थिए, ‘म यसको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिन्छु।’
उनको राजीनामा राष्ट्रपति ली जे म्युङले करिब एक घण्टामै स्वीकृत गरेका थिए। राष्ट्रपतिले परीक्षा व्यवस्थापन र त्यससँग सम्बन्धित कानुनी व्यवस्थाको समग्र समीक्षा गर्न पनि निर्देशन दिएका छन्।
दक्षिण कोरियामा परीक्षामा चिट चोर्ने विद्यार्थीमाथि कडा कानुनी व्यवस्था छ। चिट चोरेको भेटिए १० वर्षसम्म पुनः परीक्षा दिन नपाउने र फौजदारी अभियोगसमेत लाग्न सक्ने प्रावधान छ। परीक्षाको निष्पक्षता कायम राख्न राज्यले अपनाउने कडाइको एउटा उदाहरण हो—अंग्रेजी विषयको २५ मिनेटको श्रवण परीक्षा चल्दा विमानको उडान र अवतरणसमेत समय मिलाएर गरिन्छ। तोप पड्काउने र ट्यांक चलाउने अभ्यास रोकिन्छ। सेयर बजार सामान्यभन्दा एक घण्टा ढिलो खुल्छ भने परीक्षा केन्द्रको २०० मिटर वरिपरि गाडी चलाउन रोक लगाइन्छ।
दक्षिण कोरियाको यो घटनाले नेपालसँगको तुलना पनि स्वाभाविक रूपमा अघि ल्याएको छ। नेपालमा पनि विद्यालय तहदेखि विश्वविद्यालयसम्मका परीक्षामा अनियमितता, प्रश्नपत्र चुहावट, चिट चोरी र परीक्षा व्यवस्थापनमाथि प्रश्न उठ्ने गरेका छन्। कतिपय घटनामा छानबिन र कारबाहीको माग उठे पनि जिम्मेवार निकाय र राजनीतिक नेतृत्वको जवाफदेहिताबारे प्रश्न बाँकी रहने गरेको छ।
दक्षिण कोरियाको घटनामा मन्त्रीले राजीनामा दिनुको कारण एउटा विद्यार्थीले चिट चोरेको घटना मात्रै थिएन। त्यो घटनापछि सरकारले समयमै तयारी गर्न नसकेको, अन्तिम समयमा नियम परिवर्तन गरेको र परीक्षार्थीलाई अन्योलमा पारेको विषयमा पनि मन्त्रीले जिम्मेवारी लिए। अर्थात्, समस्या देखिएपछि त्यसलाई नियन्त्रण गर्न राज्यले गरेको तयारी र व्यवस्थापनको कमजोरीलाई पनि राजनीतिक नेतृत्वको जिम्मेवारी मानियो।
नेपालमा भने परीक्षा प्रणालीको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्दा छानबिन, कारबाही र सुधारको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अझै महत्वपूर्ण छ। दक्षिण कोरियामा एउटा परीक्षार्थीको बेइमानीले परीक्षा प्रणालीलाई चुनौती दियो र त्यसपछि सरकारी तयारीको कमजोरीको जिम्मेवारी शिक्षामन्त्रीले लिए। नेपालमा भने परीक्षा प्रणालीमै समस्या देखिँदा पनि जिम्मेवारीको प्रश्न प्रायः छानबिन समिति र औपचारिक वक्तव्यमा सीमित हुने गरेको छ।
प्रविधि बदलिँदै जाँदा चिट चोर्ने तरिका पनि बदलिन्छन्। तर परीक्षा निष्पक्ष बनाउने राज्यको दायित्व र त्यसमा देखिएको कमजोरीको जवाफदेहिता प्रविधिसँगै हराउन मिल्दैन। दक्षिण कोरियाली शिक्षामन्त्रीको राजीनामाले यही प्रश्न नेपालका शिक्षा अधिकारी र राजनीतिक नेतृत्वसामु पनि तेर्स्याएको छ—परीक्षाको विश्वसनीयता बिग्रँदा जिम्मेवारी लिने को?
लोकप्रिय
ताजा अपडेट
स्कुलको गेटमै दुई बसबीच च्यापिएर सहचालकको मृत्यु, स्टार्ट गर्न डोरी लगाउँदै गर्दा अचानक ब्याक भयो अर्को बस

