दुई सांसदको विवादमा हर्क साम्पाङलाई किन मुछे केपी खनालले ? आशिकालाई कटाक्ष गर्दा तेस्रो व्यक्तिको राजनीतिक छविमाथि प्रश्न!
राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय आशिका तामाङ र केपी खनालबीच सुरु भएको फोन विवादमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ का सांसद हर्क साम्पाङलाई समेत तानिएको छ। आफ्नै पार्टीकी सांसद तामाङले जनताको फोन उठाउनुपर्ने प्रश्न गरेपछि खनालले ‘तपाईं पनि माननीय हर्क साम्पाङको बाटोमा हिँड्नुभएको हो भने छुट्टै कुरा हो दिदी’ भन्दै जवाफ दिएको तामाङले सार्वजनिक गरेकी छिन्।
दुई सांसदबीचको व्यक्तिगत संवादमा तेस्रो व्यक्तिको नाम जोडेर गरिएको यो टिप्पणीले अर्को प्रश्न जन्माएको छ—खनालले हर्क साम्पाङलाई कस्तो राजनीतिक पात्रका रूपमा प्रस्तुत गर्न खोजेका हुन? आफू र आशिका तामाङ हर्कभन्दा अब्बल भएको सन्देश दिन खोजेका हुन्, कि हर्क साम्पाङलाई आफूहरूभन्दा कमजोर वा नकारात्मक पात्रका रूपमा देखाउन खोजेका हुन? खनालको अभिव्यक्तिको आशय स्पष्ट छैन। तर ‘हर्क साम्पाङको बाटो’ भन्ने वाक्यांशलाई कटाक्षका रूपमा प्रयोग गरिनुले साम्पाङको राजनीतिक छविमाथि अनावश्यक टिप्पणी भएको हो कि भन्ने बहस सुरु गराएको छ।
विवादको सुरुवात भने सामान्य फोन सम्पर्कबाट भएको थियो। तामाङले एउटा जनसरोकारको विषयमा कुरा गर्न खनाललाई फोन गर्दा उनका स्वकीय सचिवले फोन उठाएर ह्वाट्सएपमा कल गर्न आग्रह गरेको बताएकी थिइन्। ह्वाट्सएपबाहेक अन्य माध्यमबाट खनालले फोन नउठाउने जवाफ पाएको भन्दै उनले इन्टरनेट र स्मार्टफोनको पहुँच नभएका सर्वसाधारणले आफ्ना जनप्रतिनिधिसँग कसरी सम्पर्क गर्ने भन्ने प्रश्न उठाएकी थिइन्।
त्यसपछि खनालले फोन गरेर आफूलाई बदनाम गराउने नियत भए अर्को कुरा हुने, आफ्नो काम फोन उठाउने नभई जनताको मुद्दा उठाउने भएको बताएको तामाङको दाबी छ। आफूलाई विभिन्न ठाउँबाट दबाब रहेको र तामाङलाई दिदी मानेको भन्दै खनालले गुनासो गरेको पनि उनले सार्वजनिक गरेकी छिन्।
त्यसको जवाफमा तामाङले आफूले खनाललाई बदनाम गर्न नभई जनताको पहुँचको प्रश्न उठाएको बताएकी छिन्। उनले खनाललाई स्मरण गराएकी छिन—‘हिजोको दिनमा तपाईं कसैको छोरा, कसैको भाइ मात्र हुनुहुन्थ्यो होला, तर आज तपाईं तीन करोड जनताको साझा छोरा हुनुहुन्छ।’
तर खनालले आफ्नो बचाउका क्रममा हर्क साम्पाङको नाम किन जोड्नुप¥यो भन्ने प्रश्न यतिबेला विवादको अर्को पाटो बनेको छ। हर्क साम्पाङ कुनै सामान्य सामाजिक सञ्जालका पात्र होइनन्। उनी धरान उपमहानगरपालिकाका पूर्वमेयर, सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य र श्रम संस्कृति पार्टीका अध्यक्ष हुन्। उनको नेतृत्वमा रहेको पार्टीले प्रतिनिधिसभामा सात सिट जितेको छ र सोही पार्टीकी रुबीकुमारी ठाकुर उपसभामुख निर्वाचित भएकी छिन्।
हर्क साम्पाङः श्रमदानबाट राष्ट्रिय राजनीतिसम्म
हर्कराज राई अर्थात् हर्क साम्पाङको राजनीतिक पहिचान परम्परागत दलको संगठनबाट बनेको होइन। धरानको खानेपानी समस्या, भ्रष्टाचारविरुद्धको अभियान र श्रमदानलाई राजनीतिक अभ्यास बनाउँदै उनी चर्चामा आएका हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर निर्वाचित भएका उनले सार्वजनिक श्रमदान अभियानलाई आफ्नो राजनीतिक पहिचान बनाए।
उनको सबैभन्दा चर्चित अभियानमध्ये कोकाहा खोलाबाट धरानमा पानी ल्याउने परियोजना हो। करिब ४२ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउने अभियानमा पाँच हजारभन्दा बढी नागरिक सहभागी भएको र ९८ दिनको श्रमदानबाट परियोजना अघि बढाइएको थियो। यसले उनलाई भाषणभन्दा काममा जोड दिने नेताका रूपमा स्थापित गर्न मद्दत गर्यो।
मेयर रहँदै उनले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिन पदबाट राजीनामा दिए। निर्वाचनमा ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका उनी अहिले श्रम संस्कृति पार्टीको अध्यक्षका रूपमा संसद्मा छन्। उनको पार्टीले तीन प्रत्यक्ष र चार समानुपातिक गरी सात सिट प्राप्त गरेको छ। पार्टीकी रुबीकुमारी ठाकुर उपसभामुख बनेकी छिन्।
हर्क साम्पाङको राजनीतिक यात्रा भने आलोचनामुक्त छैन। उनको कार्यशैलीलाई कतिपयले जनतासँग प्रत्यक्ष जोडिएको, श्रम र परिणाममा आधारित नेतृत्वका रूपमा प्रशंसा गर्छन् भने कतिपयले एकल निर्णय, प्रशासनिक प्रक्रिया र सार्वजनिक रकमको पारदर्शिताबारे प्रश्न उठाएका छन्। धरानको मेयर हुँदा श्रमदानका परियोजना र चन्दा संकलनको हिसाबकिताबबारे पनि सार्वजनिक बहस भएको थियो। त्यसैले साम्पाङलाई न त निर्विवाद आदर्श मान्न सकिन्छ, न त एउटा कटाक्षबाट उनको राजनीतिक योगदान र पहिचानलाई खारेज गर्न मिल्छ।
आशिका तामाङः सामाजिक अभियानबाट संसद्सम्म
आशिका तामाङ पनि सामाजिक अभियानबाट राजनीतिमा आएकी पात्र हुन्। सामाजिक विकृति, युवालाई सचेत बनाउने अभियान र समाज सुधारका विषयमा सक्रिय हुँदै उनी रास्वपाबाट धादिङ–१ मा उम्मेदवार बनिन्। २०८२ को प्रतिनिधिसभा निर्वाचनमा ३९ हजार १२८ मत प्राप्त गरी निर्वाचित भएकी उनी पहिलोपटक संसद् पुगेकी हुन्।
संसद्को आधिकारिक अभिलेखअनुसार तामाङको प्रतिनिधिसभा बैठक उपस्थिति ९४ प्रतिशत छ। ७१ बैठकमध्ये उनी ६७ बैठकमा उपस्थित भएकी छिन्। कृषि तथा प्राकृतिक स्रोत समितिमा पनि उनको ८८ प्रतिशत उपस्थिति देखिन्छ। संसद्मा उनका सातवटा वक्तव्य अभिलेखित छन्।
सामाजिक सञ्जालमा सक्रिय तामाङले जनसरोकारका विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएकी छिन्। अहिले खनालसँगको विवादमा पनि उनले उठाएको प्रश्न व्यक्तिगत फोन उठाउने वा नउठाउनेभन्दा ठूलो छ—सांसदले सर्वसाधारण नागरिकलाई कुन माध्यमबाट सम्पर्कको पहुँच दिन्छन? ह्वाट्सएपलाई विकल्प बनाउने कि नागरिकका लागि अनिवार्य सर्त?
केपी खनालः सफाइ अभियानका अभियन्तादेखि सांसदसम्म
केपी खनालको राजनीतिक परिचय पनि सामाजिक अभियानसँग जोडिएको छ। कैलाली–२ बाट रास्वपाका उम्मेदवार बनेका उनले १९ हजार ५७ मत प्राप्त गरी प्रतिनिधिसभा निर्वाचन जितेका हुन्। उनी सामाजिक अभियन्ता, सरसफाइ अभियानका अगुवा र मैना देवी फाउन्डेसनका संस्थापक अध्यक्षका रूपमा चिनिएका छन्।
किशोर अवस्थामै रेडियो कार्यक्रममार्फत बालअधिकार र सामाजिक विषयमा बोल्न थालेका खनालले ‘क्लिन काष्ठमण्डप’ अभियान सञ्चालन गरेका थिए। सडक तथा सार्वजनिक स्थानको सरसफाइमा स्वयं सहभागी हुने र अरूलाई पनि जोड्ने उनको अभियानमा करिब १ हजार ७०० जना सहभागी भएको विवरण सार्वजनिक छ। बाजुराका अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण गर्न सहयोग जुटाउने तथा कोभिड महामारीका बेला विपन्न परिवारलाई सहयोग गर्ने अभियानमा पनि उनी सक्रिय थिए।
तर सांसद बनेपछि खनाल स्वयं पनि सार्वजनिक प्रश्नबाट बाहिर छैनन्। केही समयअघि कैलालीको लम्कीचुहा क्षेत्रमा उनको परिवारले सार्वजनिक जग्गामा घर निर्माण गरिरहेको भन्ने समाचार सार्वजनिक भएको थियो। स्थानीय जनप्रतिनिधिले जग्गा ऐलानी भएको र निर्माणका लागि स्वीकृत नक्सा नभएको बताएका थिए।
खनालका निजी सचिवले भने परिवारले पहिलेका बासिन्दाबाट कानुनी रूपमा जग्गा किनेको र स्वामित्व प्रक्रिया अघि बढाएको दाबी गरेका थिए। यो विषयमा सार्वजनिक आरोप र प्रतिवाद दुवै छन।
सामाजिक अभियन्ताका रूपमा सार्वजनिक विश्वास आर्जन गरेका खनालका लागि सांसद बनेपछि नागरिकसँगको सम्पर्क र जवाफदेहिता झन् महत्वपूर्ण हुन्छ। आफूले जनताको मुद्दा उठाउने काम गर्ने तर फोन उठाउने काम आफ्नो नभएको भन्ने उनको भनाइले सांसदको जिम्मेवारीबारे प्रश्न उठाएको छ। संसद्मा मुद्दा उठाउनु जनप्रतिनिधिको एउटा दायित्व हो, तर नागरिकले आफ्नो समस्या सुनाउन खोज्दा सहज पहुँच दिनु पनि त्यत्तिकै आवश्यक जिम्मेवारी हो।
तुलना कसको उचाइ नाप्न, कसको छवि घटाउन ?
तीनै जनाको राजनीतिक यात्रा फरक छ। हर्क साम्पाङले धरानको स्थानीय अभियान र श्रमदानबाट राष्ट्रिय राजनीति प्रवेश गरे। आशिका तामाङ सामाजिक अभियानबाट धादिङको प्रतिनिधित्व गर्दै संसद् पुगिन्। केपी खनाल सरसफाइ र सामाजिक सेवाका अभियानबाट कैलाली–२ को सांसद बने। तीनै जना सामाजिक सक्रियताबाट राजनीतिक प्रतिनिधित्वमा आएका नयाँ पुस्ताका पात्र हुन्।
तर उनीहरूको राजनीतिक हैसियत र उपलब्धि तुलना गर्दा तथ्य पनि हेर्नुपर्छ। हर्क साम्पाङले धरानको मेयरका रूपमा काम गरे, आफ्नै पार्टी स्थापना गरे, सुनसरी–१ बाट निर्वाचित भए र सात सांसद रहेको दलको नेतृत्व गरिरहेका छन्। उनको पार्टीकी सांसद उपसभामुख बनेकी छिन्। आशिका तामाङ र केपी खनाल भने रास्वपाबाट निर्वाचित पहिलो कार्यकालका सांसद हुन्।
ामाङको संसदीय उपस्थिति ९४ प्रतिशत छ भने खनालको प्रोफाइलमा सामाजिक अभियानको अनुभव र कैलाली–२ बाट प्राप्त जनमत उल्लेख छ। यी तथ्यले उनीहरूको काम र राजनीतिक हैसियतको फरक देखाउँछन्। यही पृष्ठभूमिमा खनालको ‘हर्क साम्पाङको बाटो’ भन्ने टिप्पणी अस्वाभाविक देखिन्छ। यदि हर्क साम्पाङको शैली गलत हो भने कुन काम वा व्यवहार गलत हो, त्यसको स्पष्ट आलोचना गर्न सकिन्थ्यो।
यदि उनको बाटो सही हो भने त्यसलाई नकारात्मक संकेतका रूपमा किन प्रयोग गरियो? र यदि खनालले तामाङलाई हर्कसँग तुलना गरेर कटाक्ष गर्न खोजेका हुन् भने सामाजिक अभियानबाट राजनीतिमा आएका हर्कको नाम तानेर दुई सांसदबीचको असमझदारीमा तेस्रो व्यक्तिलाई किन जोडियो?
खनालले आफ्नो भनाइको आशय स्पष्ट पार्नुपर्ने ठाउँ यही हो। उनी र आशिका दुवै रास्वपाका सांसद हुन्। उनीहरूबीच सम्पर्क र जनताको पहुँचबारे असहमति हुन सक्छ। तर आफ्नो पक्ष बलियो बनाउन अर्को दलका अध्यक्ष तथा सांसदलाई नकारात्मक उदाहरणका रूपमा प्रस्तुत गर्न खोज्नु राजनीतिक बहसको स्तर होइन, व्यक्तिको मानमर्दन गर्ने शैली हुन सक्छ।
अझ विडम्बना के छ भने खनाल आफैँ सामाजिक अभियानबाट उदाएका नेता हुन्। हर्क साम्पाङ पनि श्रमदान र सामाजिक अभियानबाटै स्थापित भएका हुन्। तामाङको पृष्ठभूमि पनि सामाजिक सक्रियतासँग जोडिएको छ। तीनै जनाको साझा परिचय जनतासँग जोडिएको अभियान हो। यस्तो अवस्थामा एकअर्काको काम र विचारमा आलोचना गर्नु स्वाभाविक भए पनि तेस्रो व्यक्तिको नामलाई कटाक्षको हतियार बनाउनु कति उचित हो?
आखिर प्रश्न हर्क साम्पाङको बाटोमा को हिँड्यो भन्ने होइन। प्रश्न जनताले फोन गर्दा जनप्रतिनिधिले कसरी जवाफ दिन्छन्, नागरिकको गुनासो सुन्ने व्यवस्था कस्तो बनाउँछन् र सार्वजनिक विवादमा आफ्नो भनाइ राख्दा अरूको सम्मान कति जोगाउँछन् भन्ने हो।
हर्क साम्पाङको राजनीतिक मूल्यांकन उनको काम, निर्णय र सार्वजनिक जवाफदेहिताका आधारमा हुनुपर्छ। आशिका तामाङ र केपी खनालको मूल्यांकन पनि उनीहरूको संसदीय काम र नागरिकसँगको व्यवहारबाटै हुनुपर्छ। दुई सांसदबीचको फोन विवादमा हर्कको नाम तानेर कसैलाई माथि र कसैलाई तल देखाउने प्रयासले मूल प्रश्नको जवाफ दिँदैन। बरु खनालमाथि नै प्रश्न थप्छ—जनताको मुद्दा उठाउने दाबी गर्ने सांसदले आफ्नो आलोचनाको जवाफ तथ्य र तर्कबाट दिन नसकेर तेस्रो व्यक्तिको नाम किन लिनुपर्यो?
लोकप्रिय
ताजा अपडेट
दुई सांसदको विवादमा हर्क साम्पाङलाई किन मुछे केपी खनालले ? आशिकालाई कटाक्ष गर्दा तेस्रो व्यक्तिको राजनीतिक छविमाथि प्रश्न!

