विगतका प्रधानमन्त्रीले पाएको सम्मानको तुलनामा बालेनको स्वागत कमजोर, भारतले दिएको संकेत बुझ्ने कि भ्रमणको तयारीमै चुक्ने?
काठमाडौँ– दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे। औपचारिक भ्रमणमा रहेका विदेशी सरकार प्रमुखलाई स्वागत गर्न भारतले कुन तहका पदाधिकारी पठाउँछ भन्ने विषय कूटनीतिक शिष्टाचार मात्रै होइन, भ्रमणलाई दिइएको राजनीतिक महत्वको संकेतका रूपमा पनि हेरिन्छ।
तर बालेनको स्वागतको दृश्य विगतका नेपाली प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा पाएको स्वागतसँग तुलना गर्दा फरक देखिन्छ। कुनै बेला नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफै विमानस्थल पुगेका थिए। कुनै बेला विदेशमन्त्री र गृहमन्त्रीजस्ता प्रभावशाली मन्त्री स्वागतका लागि खटिएका थिए। यसपटक भने बालेनलाई स्वागत गर्न राज्यमन्त्री मात्रै पुगे।
यो तुलना आफैँमा एउटा कूटनीतिक प्रश्न हो—भारतले बालेनको भ्रमणलाई कति राजनीतिक महत्व दिएको छ? अथवा नयाँ प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालले अपेक्षित कूटनीतिक तयारी र प्रभाव देखाउन सकेन?
विगतका घटनाक्रम हेर्दा भारतले नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न एउटै तहका पदाधिकारी पठाएको छैन। सम्बन्धको अवस्था, भ्रमणको राजनीतिक पृष्ठभूमि र तत्कालीन परिस्थितिअनुसार स्वागतको तह फरक देखिन्छ। त्यसैले विमानस्थलमा स्वागत गर्ने व्यक्तिको पदलाई मात्रै आधार बनाएर दुई देशबीचको सम्बन्धको सम्पूर्ण मूल्यांकन गर्न मिल्दैन। तर फरक–फरक समयमा नेपालका प्रधानमन्त्रीले पाएको स्वागतको तुलनाले बालेनको भ्रमणको कूटनीतिक स्तरबारे प्रश्न उठाउने ठाउँ भने दिएको छ।
गिरिजालाई स्वागत गर्न प्रधानमन्त्री नै विमानस्थल पुगेका थिए
२०६२/६३ को जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफै विमानस्थल पुगेका थिए। सन् २००६ जुन ६ मा चारदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका कोइरालालाई सिंहले विमानको एरोब्रिजसम्म पुगेर स्वागत गरेका थिए।
त्यतिबेला नेपालमा १९ दिने जनआन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्य भएको थियो। प्रतिनिधिसभा पुनस्र्थापना भइसकेको थियो र कोइराला नयाँ राजनीतिक संक्रमणको नेतृत्व गरिरहेका थिए। उनको भारत भ्रमण पहिलो विदेश भ्रमणसमेत थियो।
नेपालको राजनीतिक परिवर्तन र त्यसपछिको शक्ति सन्तुलनमा भारतको चासो महत्वपूर्ण थियो। त्यही राजनीतिक पृष्ठभूमिमा भारतीय प्रधानमन्त्री स्वयं विमानस्थल पुगेर स्वागत गर्नु सामान्य शिष्टाचारभन्दा माथिको कूटनीतिक संकेतका रूपमा हेरिएको थियो।
त्यसपछि सन् २००८ सेप्टेम्बर १४ मा पहिलो माओवादी प्रधानमन्त्रीका रूपमा भारत पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने भारतीय गृह राज्यमन्त्री शकिल अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए। सन् २००९ अगस्ट १८ मा भारत पुगेका प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री परनीत कौरले स्वागत गरेकी थिइन्।
यसअघि सन् २००२ मार्च २० मा भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई वाणिज्य राज्यमन्त्री राजीव प्रताप रूडीले स्वागत गरेका थिए। अर्थात्, नेपाली प्रधानमन्त्रीको स्वागतमा भारतले प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मका पदाधिकारी परिचालन गरेको इतिहास छ।
बाबुराम भट्टराईको स्वागतमा मन्त्री नै पुगेनन्
सन् २०११ अक्टोबर २० मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई चारदिने औपचारिक भ्रमणका लागि भारत पुगेका थिए। तर उनलाई स्वागत गर्न भारत सरकारका कुनै मन्त्री विमानस्थल पुगेनन्।
भारतीय विदेश मन्त्रालयकी तत्कालीन शिष्टाचार प्रमुख रूचिरा कम्बोज, नेपालका लागि तत्कालीन भारतीय राजदूत जयन्त प्रसाद र विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्रले भट्टराईलाई स्वागत गरेका थिए।
मन्त्रीस्तरका पदाधिकारी स्वागतमा नपुगेको विषय त्यतिबेला कूटनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो। भारतीय सञ्चारमाध्यमले समेत यसलाई कूटनीतिक शिष्टाचारको कमजोरीका रूपमा प्रस्तुत गरेका थिए।
तर विमानस्थलको स्वागतमा मन्त्री नपुगे पनि भट्टराईको भ्रमण उपलब्धिविहीन भने थिएन। उनको भ्रमणका क्रममा अक्टोबर २१ मा नेपाल र भारतबीच द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) मा हस्ताक्षर भएको थियो। यसले विमानस्थलमा स्वागत गर्ने पदाधिकारीको तह र भ्रमणको वास्तविक उपलब्धि फरक विषय हुन् भन्ने पनि देखाउँछ।
नाकाबन्दीपछि ओलीलाई विदेशमन्त्रीको स्वागत
सन् २०१६ फेब्रुअरी १९ मा प्रधानमन्त्री केपी शर्मा ओली भारत पुग्दा नेपाल–भारत सम्बन्ध तनावपूर्ण अवस्थामा थियो। नेपालको नयाँ संविधानप्रति भारतले असन्तुष्टि जनाएको थियो। सीमा नाकामा भएको आपूर्ति अवरोधका कारण नेपालले गम्भीर संकट भोगिरहेको थियो। ओलीले भारतीय भूमिकाको खुलेर विरोध गरेका थिए।
त्यस्तो संवेदनशील पृष्ठभूमिमा दिल्ली पुगेका ओलीलाई स्वागत गर्न तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज विमानस्थल पुगेकी थिइन्। नाकाबन्दीपछि सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा भारतको यो कदमलाई हेरिएको थियो।
स्वराजले त्यसपछि भारत पुगेका लगातार दुई नेपाली प्रधानमन्त्रीलाई पनि स्वागत गरिन्। सन् २०१६ सेप्टेम्बर १५ मा प्रचण्ड र सन् २०१७ अगस्ट २३ मा शेरबहादुर देउवा दिल्ली पुग्दा उनी नै स्वागतका लागि विमानस्थल पुगेकी थिइन्।
सन् २०१८ अप्रिल ६ मा दोस्रोपटक प्रधानमन्त्री बनेपछि भारत पुगेका ओलीलाई भने तत्कालीन गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। त्यसपछिका भ्रमणमा फेरि राज्यमन्त्रीहरू स्वागतका लागि खटिएको देखिन्छ।
सन् २०२२ अप्रिल १ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। त्यस्तै, सन् २०२३ मे ३१ मा भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।
बालेनका लागि राज्यमन्त्री, भ्रमणको राजनीतिक सन्देश के?
विगतका यी घटनाक्रमसँग तुलना गर्दा बालेनले पाएको स्वागत उच्च तहको राजनीतिक स्वागतभन्दा तल्लो तहको देखिन्छ। गिरिजाप्रसाद कोइरालालाई भारतीय प्रधानमन्त्री स्वयंले स्वागत गरेका थिए। ओलीलाई विदेशमन्त्री र गृहमन्त्रीजस्ता प्रभावशाली मन्त्रीले स्वागत गरेका थिए। प्रचण्ड र देउवाले पनि विदेशमन्त्री वा राज्यमन्त्रीस्तरको स्वागत पाएका थिए। बालेनलाई भने वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे।
राजकीय भ्रमणमा आएका प्रधानमन्त्रीका लागि स्वागत गर्ने पदाधिकारीको तहलाई पूर्णतः औपचारिक विषय मात्रै मान्न सकिँदैन। यसले भ्रमणको राजनीतिक प्राथमिकता, द्विपक्षीय सम्बन्धको अवस्था र आयोजक मुलुकले दिएको कूटनीतिक संकेतबारे केही सन्देश दिन सक्छ। तर यसलाई मात्रै आधार बनाएर भारतले बालेनलाई कम महत्व दिएको वा नेपालसँगको सम्बन्धलाई कमजोर प्राथमिकतामा राखेको निष्कर्ष निकाल्नु पनि हतार हुनेछ।
किनकि विगतमा मन्त्रीस्तरको स्वागत नपाएका बाबुराम भट्टराईको भ्रमणमै महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको थियो। त्यसैले बालेनको भ्रमणको वास्तविक महत्व उनले कस्तो स्वागत पाए भन्नेमा मात्रै होइन, भारतीय नेतृत्वसँग भएका भेटवार्ता, छलफलका विषय, सहमति र भ्रमणबाट नेपालले प्राप्त गर्ने उपलब्धिमा पनि निर्भर गर्छ।
तर प्रश्न उठाउने ठाउँ छ। नयाँ राजनीतिक शक्तिको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका बालेनले भारतसँगको सम्बन्धमा कस्तो कूटनीतिक प्राथमिकता निर्धारण गरेका छन? भ्रमणअघि नेपालले उठाउनुपर्ने मुद्दा, द्विपक्षीय एजेन्डा र अपेक्षित उपलब्धिबारे पर्याप्त तयारी गरेको छ? भारतले प्रधानमन्त्रीको स्वागतमा राज्यमन्त्री पठाउँदा नेपालले त्यसलाई कसरी बुझ्यो र भ्रमणको बाँकी कार्यक्रमबाट कस्तो राजनीतिक महत्तत्व स्थापित गर्न खोज्दैछ?
बालेनको नयाँ शैलीले आन्तरिक राजनीतिमा चर्चा पाएको हुन सक्छ। तर अन्तर्राष्ट्रिय कूटनीतिमा व्यक्तिगत लोकप्रियता वा घरेलु राजनीतिक छविभन्दा संस्थागत तयारी, स्पष्ट एजेन्डा, वार्ताको क्षमता र राष्ट्रिय हितका पक्षमा हासिल गरिएका उपलब्धि महत्वपूर्ण हुन्छन्।
प्रधानमन्त्रीको विदेश भ्रमण केवल विमानस्थलमा स्वागत, औपचारिक भेटघाट र तस्वीर सार्वजनिक गर्ने कार्यक्रम होइन। त्यसले देशको कूटनीतिक हैसियत र राष्ट्रिय स्वार्थलाई कसरी अघि बढाउँछ भन्ने मुख्य प्रश्न हो। भारतले कसलाई स्वागत गर्न पठायो भन्ने तुलना एउटा संकेत हुन सक्छ, तर बालेनको भ्रमण सफल भयो कि भएन भन्ने फैसला त्यसबाट मात्रै हुँदैन।
अन्ततः विगतका प्रधानमन्त्रीले पाएको स्वागतसँग तुलना गर्दा बालेनले पाएको स्वागतको तह कम देखिएको छ। अब उनको भ्रमणले नेपाललाई के उपलब्धि दिन्छ भन्नेले त्यसको वास्तविक कूटनीतिक महत्व निर्धारण गर्नेछ। भारतले दिएको स्वागतको संकेत बुझ्नु जति आवश्यक छ, त्यसलाई राष्ट्रिय हितमा बदल्ने क्षमता देखाउनु बालेन सरकारका लागि त्यसभन्दा ठूलो परीक्षा हो।
लोकप्रिय
ताजा अपडेट
स्कुलको गेटमै दुई बसबीच च्यापिएर सहचालकको मृत्यु, स्टार्ट गर्न डोरी लगाउँदै गर्दा अचानक ब्याक भयो अर्को बस

