स्कुलको गेटमै दुई बसबीच च्यापिएर सहचालकको मृत्यु, स्टार्ट गर्न डोरी लगाउँदै गर्दा अचानक ब्याक भयो अर्को बस

विराटनगर– मोरङको बेलबारीमा दुई बसको बीचमा च्यापिएर एक महिलाको मृत्यु भएको छ। विद्यालयको गेटमा बस स्टार्ट गर्न डोरी लगाउने क्रममा अर्को बस अचानक पछाडि सर्दा ४५ वर्षीया सहचालक देवी खतिवडाले ज्यान गुमाएकी हुन्।

सोमबार बिहान करिब ९ बजे बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इङ्लिस स्कुलको गेटमा दुर्घटना भएको हो। विद्यालयको को १ ख ५२७९ नम्बरको बस स्टार्ट गर्न डोरी लगाउने क्रममा को १ ज १२६९ नम्बरको बस अचानक ब्याक भएको थियो।

त्यसक्रममा बेलबारी नगरपालिका–४ निवासी खतिवडा दुवै बसको बीचमा च्यापिएकी थिइन्। उनी सोही विद्यालयको बसका सहचालकका रूपमा कार्यरत थिइन्। दुर्घटनामा गम्भीर घाइते भएकी खतिवडालाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पु¥याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले दुर्घटनामा संलग्न दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले को १ ज १२६९ नम्बरको बसका चालक केराबारी गाउँपालिका–९ निवासी २५ वर्षीय सरोज ढकाल र को १ ख ५२७९ नम्बरको बसका चालक बेलबारी नगरपालिका–४ निवासी ४० वर्षीय नवराज खत्रीलाई नियन्त्रणमा लिएको हो।

दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विद्यालय परिसरको गेटमै भएको दुर्घटनाले बस स्टार्ट गर्ने क्रममा अपनाउनुपर्ने सावधानी र सवारीसाधन चलाउँदा वरपर रहेका व्यक्तिको सुरक्षामाथि प्रश्न उठाएको छ। प्रहरीले दुर्घटनाको कारण र घटनामा चालकहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट