लिपुलेकबारे मोदीसँग बालेनले कुरा नै उठाएनन्ः भारतीय विदेश सचिवको खुलासापछि दिल्ली भ्रमणमाथि प्रश्न !
काठमाडौँ– नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच भइरहेको व्यापारको विषय प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उठाएनन्। प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्रीले लिपुलेकको विषय दुई प्रधानमन्त्रीबीचको वार्तामा नउठेको स्पष्ट पारेका छन्।
सोमबार साँझ भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले मिस्रीलाई सोधेका थिए, ‘लिपुलेक हुँदै भारत र चीनबीच भइरहेको व्यापारबारे प्रधानमन्त्री बालेनले कुनै आपत्ति जनाउनुभयो ?’
जवाफमा विदेश सचिव मिस्रीले लिपुलेकको विषय वार्तामा नउठेको बताए। उनले लिपुलेक पास भएर भारत र चीनबीच लामो समयदेखि व्यापार हुँदै आएको पनि उल्लेख गरे। भारतीय विदेश सचिवको यो भनाइले प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपालको सीमा विवाद र राष्ट्रिय स्वाधीनतासँग जोडिएको संवेदनशील विषयले प्राथमिकता पायो कि पाएन भन्ने प्रश्न उठाएको छ।
विशेषगरी नेपालले आफ्नो नक्सामा समेटेको लिपुलेक हुँदै दुई छिमेकी मुलुकबीच व्यापार सञ्चालन भइरहेको अवस्थामा प्रधानमन्त्री तहको वार्तामा यो विषय नउठेको भारतीय पक्षको भनाइले राजनीतिक वृत्तमा चासो बढाएको छ।
नेपालका विपक्षी दलहरूले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लिपुलेक र लिम्पियाधुरासहितको सीमा विवाद उठाउनुपर्ने माग गरेका थिए। भारत र चीनबीच लिपुलेकबाट व्यापार सञ्चालन गर्ने सहमतिप्रति नेपालका विभिन्न राजनीतिक दलले यसअघि नै विरोध जनाउँदै आएका छन्। नेपाली भूमि सम्बन्धित विवादमा नेपालको आधिकारिक धारणा भारतसमक्ष स्पष्ट राख्नुपर्ने उनीहरूको जोड थियो।
तर, भारतीय विदेश सचिवको भनाइअनुसार प्रधानमन्त्री बालेन र मोदीबीचको भेटमा लिपुलेकको विषय प्रवेश नै गरेन। यो विषयमा नेपाली पक्षबाट औपचारिक रूपमा के धारणा राखिएको थियो भन्नेबारे भने उपलब्ध विवरणमा स्पष्ट जानकारी छैन।
मेयर हुँदा चीनको भ्रमण स्थगित गरेका बालेनमाथि प्रश्न
लिपुलेकको विषयमा बालेनको अहिलेको भूमिकालाई लिएर उनको काठमाडौं महानगरपालिकाको मेयर कार्यकालको निर्णयसमेत चर्चामा आएको छ।
मेयर रहेका बेला चीनले नेपालको चुच्चे नक्सालाई अस्वीकार गरेको भन्दै बालेनले चीन भ्रमण स्थगित गरेका थिए। नेपालको आधिकारिक नक्सालाई मान्यता नदिएको विषयमा उनले कडा असन्तुष्टि जनाएका थिए।
त्यतिबेला राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विषयलाई प्राथमिकतामा राखेको देखिएका बालेन प्रधानमन्त्री बनेपछि भारतसँगको उच्चस्तरीय वार्तामा लिपुलेकको विषय नउठेको भारतीय पक्षको भनाइ सार्वजनिक भएको छ। यसले उनको अघिल्लो अडान र अहिलेको कूटनीतिक व्यवहारबीचको निरन्तरताबारे प्रश्न जन्माएको छ।
विगतमा ग्रेटर नेपालको विषयसमेत उठाउँदै आएका बालेनले प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा नेपालको सीमा विवादबारे कस्तो धारणा राखे भन्ने चासो पनि यससँग जोडिएको छ। भ्रमणका क्रममा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे भारतीय नेतृत्वसँग कुरा उठाए कि उठाएनन् भन्ने प्रश्नको जवाफ भारतीय विदेश सचिवको भनाइले दिएको देखिए पनि नेपाली पक्षबाट त्यसको विस्तृत स्पष्टीकरण आएको छैन।
पत्रकार सम्मेलन नगरेका बालेन, जवाफ दिनुपर्ने अवस्थामा परराष्ट्रमन्त्री
प्रधानमन्त्री बालेनको भारत भ्रमणको अर्को चर्चित पक्ष उनको पत्रकार सम्मेलनसँग सम्बन्धित छ। विगतमा नेपाली प्रधानमन्त्रीले भारत भ्रमण सकेर स्वदेश फर्किएपछि पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धि, छलफलका विषय र उठाइएका राष्ट्रिय मुद्दाबारे जानकारी दिने अभ्यास थियो।
तर, बालेनले भारत भ्रमणपछि पत्रकार सम्मेलन गरेनन्। त्यसैले भारत भ्रमणमा सीमा विवादलगायतका संवेदनशील विषयमा के छलफल भयो भन्ने प्रश्नको प्रत्यक्ष जवाफ प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा आउन सकेन।
विगतमा ग्रेटर नेपालको विषय उठाउने बालेनले भारतमा त्यो मुद्दा उठाए कि उठाएनन् भन्ने प्रश्न पत्रकारहरूले परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष पनि राखेका थिए। मन्त्री खनालले भने सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवस्तरको संयन्त्र सक्रिय हुने बताएका थिए।
उनको भनाइले सीमा विवाद समाधानका लागि कूटनीतिक संयन्त्रलाई अघि बढाउने नेपालको नीति संकेत गरे पनि लिपुलेक हुँदै भइरहेको भारत–चीन व्यापारबारे प्रधानमन्त्री तहमा छलफल भयो कि भएन भन्ने मूल प्रश्नको स्पष्ट जवाफ दिएको छैन।
सीमा विवादको प्रश्न अझै अनुत्तरित
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डतासँग जोडिएका संवेदनशील भूभाग हुन्। नेपालले आफ्नो आधिकारिक नक्सामा यी क्षेत्र समेटेको छ। तर, सीमा विवाद समाधान हुन सकेको छैन।
यही पृष्ठभूमिमा भारत र चीनले लिपुलेक हुँदै व्यापार सञ्चालन गर्दै आएका छन्। नेपालले यस विषयमा आपत्ति जनाउँदै आफ्नो भूमि प्रयोगसम्बन्धी निर्णयमा नेपालको सहमति आवश्यक हुने धारणा राख्दै आएको छ।
यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणलाई सीमा विवादबारे नेपालको अडान स्पष्ट पार्ने अवसरका रूपमा हेरिएको थियो। तर, भारतीय विदेश सचिवले वार्तामा लिपुलेकको विषय नउठेको बताएपछि भ्रमणका उपलब्धिसँगै राष्ट्रिय मुद्दाको प्राथमिकताबारे पनि बहस सुरु भएको छ।
परराष्ट्रमन्त्रीले दुवै देशका परराष्ट्र सचिवस्तरको संयन्त्र सक्रिय बनाउने बताए पनि त्यसले लिपुलेक हुँदै भइरहेको व्यापार, नेपालको सीमा दाबी र समग्र सीमा विवाद समाधानमा कस्तो परिणाम दिन्छ भन्ने स्पष्ट भइसकेको छैन।
प्रधानमन्त्री बालेनले लिपुलेकबारे मोदीसँग कुरा उठाएनन् भन्ने भारतीय विदेश सचिवको भनाइ सार्वजनिक भइसकेको छ। अब नेपाली पक्षले यसबारे आफ्नो आधिकारिक धारणा स्पष्ट पार्नुपर्ने देखिन्छ। भ्रमणमा कुन–कुन विषय उठाइए, सीमा विवाद किन छलफलमा परेन र परराष्ट्र सचिवस्तरीय संयन्त्रले कुन विषयलाई प्राथमिकतामा राख्छ भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्नेछ।
लोकप्रिय
स्कुलको गेटमै दुई बसबीच च्यापिएर सहचालकको मृत्यु, स्टार्ट गर्न डोरी लगाउँदै गर्दा अचानक ब्याक भयो अर्को बस
ईभी दुर्घटनामा १४ जनाको मृत्युको भयावह खुलासा! ११ सिटको ईभीमा २० यात्रु, ४८ घण्टामा साढे ३३ घण्टा ड्राइभिङ
ताजा अपडेट
लिपुलेकबारे मोदीसँग बालेनले कुरा नै उठाएनन्ः भारतीय विदेश सचिवको खुलासापछि दिल्ली भ्रमणमाथि प्रश्न !
ईभी दुर्घटनामा १४ जनाको मृत्युको भयावह खुलासा! ११ सिटको ईभीमा २० यात्रु, ४८ घण्टामा साढे ३३ घण्टा ड्राइभिङ

