एउटै घरका दुई दाजुभाइ राष्ट्रिय खेलकुदमा, मधेशको ब्याडमिन्टन टोलीमा सप्तरीको दबदबा !
फत्तेपुर (सप्तरी)– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित एउटै घरमा अहिले दोहोरो खुसी छ। परिवारका दुई छोरा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। १९ वर्षीय प्रतिक विष्ट र उनका १४ वर्षीय भाइ प्रसिद्ध विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ब्याडमिन्टनतर्फ मधेश प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
एउटै परिवारका दुई दाजुभाइ प्रदेशस्तरीय छनोट पार गरेर राष्ट्रिय प्रतियोगितासम्म पुग्नु आफैँमा विशेष उपलब्धि हो। त्यसमाथि कान्छा भाइ प्रसिद्धले जिल्ला प्रथम हुँदै छनोटमा स्थान बनाएका हुन्। उनी राष्ट्रिय प्रतियोगितामा सहभागी भएर तेस्रो स्थान (र्याङ्किङ) हासिल गरिसकेका खेलाडी हुन्।
दशौँ राष्ट्रिय खेलकुदका लागि सर्लाहीको लालबन्दीमा मंसिर ५ र ६ गते भएको मधेश प्रदेशस्तरीय ब्याडमिन्टन छनोटले फत्तेपुरका यी दुई दाजुभाइलाई एउटै राष्ट्रिय लक्ष्यमा उभ्याएको छ। प्रतिक आरआर क्याम्पस, काठमाडौंमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत छन्। प्रसिद्ध भने सप्तकोशी नगरपालिकाकै गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा कम्प्युटर विषय लिएर पढिरहेका छन्।
आमा इन्दिरा खड्का र बुबा कालुराम विष्टका यी दुई छोराको छनोटले परिवारमा मात्र होइन, फत्तेपुर र समग्र सप्तरीको खेलकुद क्षेत्रमा पनि उत्साह थपेको छ।
मधेशको पुरुष टोलीमा सप्तरीको बलियो उपस्थिति
दशौँ राष्ट्रिय खेलकुदका लागि भएको प्रदेशस्तरीय छनौटमा पुरुषतर्फ मधेश प्रदेशबाट सात खेलाडी छानिएका छन्। तीमध्ये चार जना सप्तरीका छन्। यसले प्रदेशको ब्याडमिन्टन टोलीमा सप्तरीको बलियो उपस्थिति देखाएको छ।
छनौट भएका सात पुरुष खेलाडीमा धनुषाका पवन यादव र धिरज मण्डल, महोत्तरीका इशान झा तथा सप्तरीका आभाष चौधरी, प्रसिद्ध विष्ट, सरोज तामाङ र प्रतिक विष्ट छन्। पुरुषतर्फ छनौट भएका खेलाडीमध्ये आधाभन्दा बढी सप्तरीका हुनु जिल्लाको ब्याडमिन्टन विकासका लागि महत्वपूर्ण उपलब्धि हो।
विशेषगरी एउटै परिवारका दुई दाजुभाइको छनोटले स्थानीय स्तरमा खेलकुदप्रतिको रुचि र सम्भावनालाई उजागर गरेको प्रशिक्षक सन्तोष कट्वाल बताउँछन्। यो सफलता सप्तरीका लागि नयाँ भने होइन। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट छनौट भएका सात पुरुष खेलाडीमध्ये पनि चार जना सप्तरीकै थिए। लगातार दुई राष्ट्रिय प्रतियोगितामा प्रदेशको पुरुष ब्याडमिन्टन टोलीमा सप्तरीका खेलाडीको उल्लेख्य उपस्थिति रहनुले जिल्लामा यस खेलको आधार बलियो रहेको संकेत गर्छ।
जिल्ला प्रथम हुँदै राष्ट्रिय यात्रामा प्रसिद्ध
१४ वर्षको उमेरमै राष्ट्रिय खेलकुदका लागि प्रदेश टोलीमा स्थान बनाउनु प्रसिद्ध विष्टको उपलब्धिको महत्वपूर्ण पक्ष हो। उनी जिल्ला छनोटमा प्रथम हुँदै मधेश प्रदेशको टोलीमा परेका हुन्।
प्रसिद्धले यसअघि पनि राष्ट्रियस्तरका ब्याडमिन्टन प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन्। सप्तकोशी नगरपालिकामा आयोजित तेस्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उनले प्रतिस्पर्धा गरेका थिए। त्यसैगरी इटहरीमा आयोजित सगरमाथा राष्ट्रिय र्याङ्किङ प्रतियोगितामा जुनियर उमेर समूहमा तेस्रो स्थान हासिल गरेका थिए।
सानै उमेरमा दुई राष्ट्रियस्तरका प्रतियोगितामा उपलब्धि हासिल गरिसकेका प्रसिद्धका लागि दशौँ राष्ट्रिय खेलकुद अर्को महत्वपूर्ण अवसर बनेको छ। कक्षा ९ मा अध्ययन गर्दै गरेका उनले पढाइसँगै ब्याडमिन्टनलाई अघि बढाइरहेका छन्। विद्यालय तहकै उमेरमा राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाइसकेका उनी यसपटक मधेश प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा उत्रने तयारीमा छन्।
उनका दाजु प्रतिक पनि खेलकुदसँगै उच्च शिक्षालाई अघि बढाइरहेका छन्। काठमाडौंमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत प्रतिकको छनोटले परिवारका दुवै दाजुभाइलाई एउटै राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर दिएको छ।
महिलातर्फ पाँच खेलाडी, सप्तरीको प्रतिनिधित्व शून्य
पुरुषतर्फ सप्तरीका चार खेलाडी छनोट हुँदा महिलातर्फ भने जिल्लाबाट एक जना पनि छनोट हुन सकेनन्। मधेश प्रदेशबाट महिला ब्याडमिन्टनतर्फ पाँच खेलाडी छानिएका छन्।
महिलातर्फ सर्लाहीका स्मृती राई र अक्षरा यादव, धनुषाकी सरिता कुमारी थिङ, पर्साकी सृष्टी श्रीवास्तव तथा महोत्तरीकी आँचल कुमारी भण्डारी छनौट भएका छन्।
यसरी पुरुषतर्फ सप्तरीको उल्लेख्य उपस्थिति देखिए पनि महिला टोलीमा जिल्लाको प्रतिनिधित्व नहुनु अर्को पक्ष हो। प्रदेशका आठ जिल्लामध्ये पुरुषतर्फ चार खेलाडी पठाउन सफल सप्तरीले महिलातर्फ भने छनौटमा स्थान बनाउन सकेन।
राष्ट्रिय खेलकुदको मञ्चमा मधेशको प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा उद्घाटन हुने कार्यक्रम छ। मंसिर २७ गते समापन हुने प्रतियोगिताका केही खेल भने उदघाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताका ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन्। ब्याडमिन्टन प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। कुल ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसपटक रजत र कांस्य पदक विजेतालाई पनि पहिलोपटक नगद पुरस्कार दिने व्यवस्था गरिएको छ।
यही राष्ट्रिय मञ्चमा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै उत्रने तयारीमा रहेका खेलाडीमध्ये सप्तरीका चार पुरुष खेलाडी छन्। उनीहरूमध्ये फत्तेपुरका प्रतिक र प्रसिद्ध एउटै परिवारका सदस्य मात्र होइनन्, एउटै राष्ट्रिय लक्ष्य बोकेका दाजुभाइ पनि हुन्।
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशबाट छनौट भएका सातमध्ये चार खेलाडी सप्तरीका थिए। दशौँ संस्करणमा पनि त्यही संख्यामा सप्तरीका खेलाडी छनौट हुनुले जिल्लाको निरन्तरता देखाएको छ। अब उनीहरूको चुनौती छनोटमा स्थान बनाउनुमा मात्र सीमित छैन, राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो जिल्ला र प्रदेशको प्रदर्शनलाई अझ उकास्नु पनि हो।
फत्तेपुरका दुई दाजुभाइका लागि यो प्रतियोगिता व्यक्तिगत उपलब्धिको मञ्च हुनेछ भने सप्तरीका लागि लगातार दोस्रोपटक पुरुष ब्याडमिन्टनमा चार खेलाडीको प्रतिनिधित्वलाई नतिजामा बदल्ने अवसर।
लोकप्रिय
स्कुलको गेटमै दुई बसबीच च्यापिएर सहचालकको मृत्यु, स्टार्ट गर्न डोरी लगाउँदै गर्दा अचानक ब्याक भयो अर्को बस
ईभी दुर्घटनामा १४ जनाको मृत्युको भयावह खुलासा! ११ सिटको ईभीमा २० यात्रु, ४८ घण्टामा साढे ३३ घण्टा ड्राइभिङ
दुई सांसदको विवादमा हर्क साम्पाङलाई किन मुछे केपी खनालले ? आशिकालाई कटाक्ष गर्दा तेस्रो व्यक्तिको राजनीतिक छविमाथि प्रश्न!
ताजा अपडेट
लिपुलेकबारे मोदीसँग बालेनले कुरा नै उठाएनन्ः भारतीय विदेश सचिवको खुलासापछि दिल्ली भ्रमणमाथि प्रश्न !

