सरकारी स्रेस्ता नै हेरफेर गरेर अर्काको जग्गा हत्याएको आरोपमा मालपोत प्रमुखदेखि वडाध्यक्षसम्म सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा !

काठमाडौँ– सरकारी कार्यालयमा सुरक्षित हुनुपर्ने जग्गाको अभिलेख नै हेरफेर गरेर वास्तविक जग्गाधनीको नाम हटाई अर्कै व्यक्तिको नाममा दर्ता गरिएको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुखदेखि वडाध्यक्षसम्म सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सर्लाहीको साविक सोकनाहा गाविसस्थित ११ कठ्ठा २ धुर जग्गा नक्कली विवरण र कागजात तयार गरी अर्काको नाममा दर्ता गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला, तत्कालीन खरिदार राजेशकुमार झा, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय तथा जग्गा आफ्नो नाममा प्राप्त गर्ने किशोरी धामी थारू र त्यसका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई प्रतिवादी बनाएको छ।

अख्तियारका अनुसार साबिक सोकनाहा गाविस वडा नम्बर २(ख) स्थित कित्ता नम्बर ६२ को ०–११–२ अर्थात् ११ कठ्ठा २ धुर जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा थियो। तर, कुनै समयमा उक्त जग्गामा हकभोग नै नभएका किशोरी धामी थारू र भोला धामी थारूको नाममा जग्गा रहेको झुटो विवरण तयार पारिएको थियो।

त्यसपछि मालपोत कार्यालयमा रहेको अभिलेख सच्याएर वास्तविक जग्गाधनीको नाम हटाई किशोरी धामी थारूको नाममा जग्गा दर्ता गरिएको अख्तियारको आरोप छ।

हुँदै नभएको जग्गाधनी खडा गरेर अभिलेख फेरबदल
अख्तियारमा परेको उजुरीमा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा तयार गरी वास्तविक व्यक्तिको जग्गा अर्कैको नाममा दर्ता गरेर बेचबिखन गरिएको दाबी गरिएको थियो।

उजुरीमाथि विस्तृत अनुसन्धान गर्दा जग्गा दर्ता गर्ने प्रयोजनका लागि हुँदै नभएको तथ्य खडा गरिएको पाइएको आयोगले जनाएको छ। अनुसन्धानअनुसार रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई किशोरी धामी थारू र भोला धामी थारूको हकभोगमा रहेको भनी कागजात तयार पारिएको थियो। त्यसका लागि मालपोत कार्यालयमा रहेको जग्गाको विवरणसमेत सच्याइएको थियो।

यसरी एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्कै व्यक्तिको नाममा कायम गरी नयाँ स्रेस्ता तथा पुर्जा तयार पारिएको अख्तियारको दाबी छ। वास्तविक जग्गाधनीको हकभोगसम्बन्धी तथ्य लुकाएर गलत विवरणका आधारमा दाखिल खारेज गरिएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ।

आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा आफूहरूलाई गैरकानुनी लाभ पु¥याउने र वास्तविक जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पुर्‍याउने बदनियतले काम गरेका थिए। सरकारी निकायका कागजात अनधिकृत रूपमा हेरफेर, थपघट तथा गलत लिखत तयार गर्ने कार्यमा उनीहरूको संलग्नता रहेको अख्तियारको ठहर छ।

मालपोत प्रमुखदेखि खरिदारसम्मलाई मुख्य कसुरदारको अभियोग
जग्गाको अभिलेख हेरफेर र गलत लिखत तयार गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको आरोपमा अख्तियारले मालपोत कार्यालयका तत्कालीन प्रमुख पनिलाल यादव, नायब सुब्बा टुकराम कोइराला र खरिदार राजेशकुमार झालाई मुख्य प्रतिवादी बनाएको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ। सरकारी कागजातमा गलत विवरण राख्ने र त्यसका आधारमा जग्गा दर्ता गर्ने प्रक्रियामा मालपोत कार्यालयका कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूमाथि अभिलेख परिवर्तन, गलत लिखत तयार पार्ने र दाखिल खारेज गर्ने प्रक्रियामा संलग्न रहेको अभियोग लगाइएको हो।

वडाध्यक्ष र सचिवले पनि गलत सिफारिस गरेको आरोप
जग्गा दर्ताका लागि आवश्यक विवरण तथा सिफारिस तयार गर्ने प्रक्रियामा स्थानीय तहका तत्कालीन पदाधिकारीको भूमिका रहेको अख्तियारको दाबी छ।

ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा सचिव राम गुलाम रायले गलत विवरणका आधारमा सिफारिस दिएको आरोपमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम सजाय माग गरिएको छ।

त्यस्तै, सोही वडाका तत्कालीन अध्यक्ष कपिलदेव चौधरीविरुद्ध दफा ९ र दफा ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ। अख्तियारको दाबीअनुसार वडा तहबाट तयार भएको गलत विवरण र सिफारिसलाई आधार बनाएर मालपोत कार्यालयमा जग्गा दर्ताको प्रक्रिया अघि बढाइएको थियो। यसरी स्थानीय तहको सिफारिसदेखि मालपोत कार्यालयको अभिलेख परिवर्तनसम्मको प्रक्रियामा कर्मचारी र जनप्रतिनिधिबीच मिलेमतो भएको आयोगको आरोप छ।

जग्गा प्राप्त गर्ने र सिफारिस दिने पनि प्रतिवादी
अख्तियारले जग्गा आफ्नो नाममा दर्ता गराउने किशोरी धामी थारू र त्यसका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाएको छ।

आयोगले उनीहरूलाई मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचारजन्य कार्यको मतियार भएको ठहर गरेको छ। दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक व्यवस्थाबमोजिम मुख्य कसुरदारसरह नै कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार वास्तविक जग्गाधनीको हकभोगमा रहेको जग्गा गलत विवरणका आधारमा अर्को व्यक्तिको नाममा दर्ता गराउने कार्यमा उनीहरूको भूमिका देखिएको छ।

वास्तविक जग्गाधनीको जग्गा फिर्ता हुन्छ ?
यो प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भए पनि रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको भनिएको जग्गाको स्वामित्व तथा दर्तासम्बन्धी अन्तिम कानुनी टुंगो लाग्न बाँकी छ।

अख्तियारको आरोपपत्रले सरकारी अभिलेख हेरफेर गरेर गलत व्यक्तिको नाममा जग्गा दर्ता गरिएको दाबी गरेको छ। अब विशेष अदालतमा हुने सुनुवाइ र प्रमाण परीक्षणबाट प्रतिवादीहरूको संलग्नता तथा कसुरको अन्तिम निरूपण हुनेछ।

तर यो घटनाले जग्गाको स्वामित्व प्रमाणित गर्ने सरकारी अभिलेख नै कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा हेरफेर हुन सक्ने गम्भीर प्रश्न उठाएको छ। नागरिकको सम्पत्तिको अभिलेख सुरक्षित राख्ने जिम्मेवारी पाएका निकायका अधिकारी नै त्यस्तो हेरफेरको अभियोगमा प्रतिवादी बनेपछि मालपोत प्रणालीको विश्वसनीयतामाथि पनि प्रश्न खडा भएको छ।

सरकारी स्रेस्ता, वडा सिफारिस र जग्गाधनी पुर्जाजस्ता आधिकारिक कागजातको दुरुपयोग गरेर कसैको सम्पत्ति अर्कैको नाममा पुर्‍याउने कार्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाही र वास्तविक जग्गाधनीको हक संरक्षण दुवै सुनिश्चित हुनुपर्ने देखिन्छ।

सात जनाविरुद्ध आरोपपत्र दायर भएसँगै अब विशेष अदालतले यो जग्गा कसरी अर्काको नाममा पुग्यो, सरकारी अभिलेख कसले र कुन प्रक्रियाबाट हेरफेर गर्‍यो तथा त्यसबाट कसले लाभ लियो भन्ने विषयको न्यायिक परीक्षण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट