पासवर्डसहितको चिर्कटो टाँसेर ईनमका दुई मोबाइल कुमार बेनको घरमा, यो प्रहरी अनुसन्धान कि सत्ताको सेवा?
काठमाडौँ– अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोबाइल फोन प्रमाणका रूपमा सुरक्षित राख्नुपर्ने हो। तिनमा रहेका डिजिटल विवरण अनुसन्धानको महत्वपूर्ण आधार बन्न सक्छन्। तर, बिचौलिया ईनम सापकोटाको पक्राउ प्रकरणमा भने प्रहरीको यही सामान्य जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ। अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका ईनमका दुईवटा मोबाइल पासवर्ड लेखिएको कागजसमेत टाँसेर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घर पठाइएको विषय निकै दिनदेखि सदावहार चर्चामा छ।
गत असोज १४ गते ईनम पक्राउ परेपछि अनुसन्धानका लागि प्रहरीले उनका दुईवटा मोबाइल नियन्त्रणमा लिएको थियो। तर, ती मोबाइल अनुसन्धान टोलीकै नियन्त्रणमा रहनुपर्ने अवस्थामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले मगाएको र गृहमन्त्री सुधन गुरुङको माध्यमबाट ललितपुरको ज्वागलस्थित उनको घरमा पुर्याइएको स्रोतको दाबी छ।
असोज १५ गते मोबाइल बेनको घर पठाइएको बताइएको छ। अझ आश्चर्यजनक पक्ष, मोबाइलको पासवर्डसमेत कागजमा लेखेर टाँसिएको थियो। अनुसन्धानका लागि नियन्त्रणमा लिइएका डिजिटल उपकरण र तिनको पहुँचसम्बन्धी विवरण यसरी अनुसन्धानबाहिरका व्यक्तिको हातमा पुग्नुले प्रहरीको व्यावसायिकता र प्रमाणको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
अनुसन्धान अधिकृतहरूले मोबाइल बेनको घर पठाउनुपरेको र प्रहरी नेतृत्वको दबाबपछि मात्रै ती मोबाइल फिर्ता ल्याइएको बताएका छन्। यदि अनुसन्धानकै क्रममा रहेका मोबाइल राजनीतिक नेतृत्वको पहुँचमा पुगेका हुन् भने त्यसबीच तिनमा रहेका डिजिटल प्रमाणको सुरक्षा कसरी सुनिश्चित गरियो भन्ने प्रश्न अनुत्तरित छ। मोबाइल कसले, कुन कानुनी आधारमा र के प्रयोजनका लागि मागेको थियो भन्ने विषय पनि सार्वजनिक हुन सकेको छैन।
यो घटना ईनम प्रकरणमा देखिएको राजनीतिक पहुँच र प्रहरी अनुसन्धानमाथिको सम्भावित हस्तक्षेपको एउटा गम्भीर उदाहरणका रूपमा आएको छ। प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयका अधिकारीहरू अनुसन्धानबारे बुझ्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको विषय पनि सार्वजनिक भएको छ। गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीको सचिवालयमा कार्यरत चिराग श्रेष्ठ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर पुगेर अनुसन्धान अधिकृतहरूसँग चासो राखिरहेको तस्बिर सार्वजनिक भएको छ।
जिल्ला प्रहरी परिसरका एक अधिकृतका अनुसार श्रेष्ठले आफूलाई प्रधानमन्त्री कार्यालयको आईटी सल्लाहकारका रूपमा परिचय दिएका थिए। ती अधिकारीहरू पटक–पटक प्रहरी परिसर पुगेर अनुसन्धानबारे चासो राख्ने र दबाब दिने गरेको प्रहरी स्रोतको दाबी छ। अनुसन्धानको विषयमा जानकारी लिनु र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी हस्तक्षेप गर्नु फरक कुरा हुन्। तर, अनुसन्धान अधिकृतहरू नै राजनीतिक दबाबका कारण स्वतन्त्र रूपमा काम गर्न कठिन भएको बताइरहेका छन्।
यस्तो अवस्थामा प्रहरी अनुसन्धानको निष्पक्षता कसरी कायम रहन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। ईनम प्रकरणमा अनुसन्धानको गोपनीयता भंग भएको विषय पनि उत्तिकै गम्भीर छ। अनुसन्धानकै क्रममा ईनमले दिएको भनिएको अडियो बयान र उनले सम्पर्क गरेका व्यक्तिहरूको विवरण सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। अनुसन्धान पूरा भएर अभियोजनको प्रक्रिया अघि नबढ्दै संवेदनशील विवरण बाहिरिनुले अनुसन्धानको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ।
सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक नारायणबाबु थापा अनुसन्धानमा गोपनीयता अनिवार्य हुने बताउँछन्। ‘अनुसन्धानको आफ्नै गोपनीयता हुन्छ, त्यसलाई जसरी पनि पालना गर्नैपर्छ,’ थापाले भनेका छन्। गोपनीयता कायम गर्न नसकिए अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठ्ने उनको भनाइ छ।
पूर्वडीआईजी यज्ञविनोद पोखरेलका अनुसार अनुसन्धान पूरा भएर अदालतमा मिसिल नपुग्दासम्म अनुसन्धानसम्बन्धी सम्पूर्ण विवरण अनुसन्धान अधिकृतसँग मात्र सीमित हुनुपर्छ। संवेदनशील विषय बाहिरिँदा अनुसन्धान नै गलत दिशातर्फ जान सक्ने जोखिम रहेको उनले बताएका छन्।

मुलुकी फौजदारी कार्यविधि संहिताले अनुसन्धानसँग सम्बन्धित प्रमाण र बयानको गोपनीयता कायम राख्नुपर्ने व्यवस्था गरेको छ। तर, ईनम प्रकरणमा मोबाइल र पासवर्ड अनुसन्धानको दायराबाहिर पुगेको आरोपदेखि अडियो बयान सार्वजनिक भएको घटनासम्मले उक्त व्यवस्थाको पालना भएको छ कि छैन भन्ने प्रश्न उठाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्क देखिएपछि ईनम पक्राउ परेका हुन्। प्रहरीले उनीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आशङ्कामा प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनमा असोज ११ गते चोलेन्द्र पक्राउ परेका थिए। तर, मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको भन्दै उनी रिहा भए। त्यसपछि चोलेन्द्रको मोबाइल परीक्षण गर्दा ह्वाट्सएपमार्फत ईनमसँग निरन्तर सम्पर्क हुने गरेको तथ्य भेटिएको प्रहरी अनुसन्धानसँग सम्बन्धित स्रोतले जनाएको छ। सोही आधारमा ईनममाथि अनुसन्धान अघि बढाइएको हो।
ईनमको सम्पर्क चोलेन्द्रमा मात्र सीमित नभएको अनुसन्धानमा देखिएको बताइएको छ। सर्वोच्च अदालतका बहालवाला न्यायाधीशसँग समेत उनको संवाद भेटिएको विषय सार्वजनिक भएपछि न्यायपालिकाको निष्पक्षता र सम्भावित न्यायिक आचरण उल्लङ्घनबारे राजनीतिक वृत्तमा बहस सुरु भएको छ। यसबाहेक प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्की, एआईजी राजन अधिकारी र अन्य प्रहरी अधिकृतसँग पनि ईनमको बाक्लो सम्पर्क रहेको विवरण सार्वजनिक भएका छन्। सम्पर्क देखिनु आफैँमा कसुरको प्रमाण भने होइन। ती सम्पर्कको प्रकृति र उद्देश्य अनुसन्धानबाट पुष्टि हुनुपर्ने विषय हो।
ईनम प्रकरण चर्किँदै जाँदा नेपाल प्रहरीको नेतृत्व परिवर्तनको विषय पनि विवादमा परेको छ। मन्त्रिपरिषद्ले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ। उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका छन्। ईनमसँग उच्च प्रहरी अधिकृतहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक भइरहेका बेला प्रहरी नेतृत्वको अचानक फेरबदलले संगठनभित्रको कमान्ड र नियन्त्रणबारे थप प्रश्न उठाएको छ।
पूर्वडीआईजी हेमन्त मल्ल अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको मोबाइलजस्तो महत्वपूर्ण प्रमाण राजनीतिक नेतृत्वको पहुँचमा पुग्नु डरलाग्दो विषय भएको बताउँछन्। यसबारे प्रहरी नेतृत्वले आमनागरिकलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको भनाइ छ। पूर्वडीआईजी रमेश खरेलले पनि अनुसन्धानमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप देखिनु विधिको शासनका लागि राम्रो सङ्केत नभएको टिप्पणी गरेका छन्।
अनुसन्धानका गोप्य विवरण सार्वजनिक भइरहँदा प्रहरी मुख्यालयले भने सूचना चुहावटबारे प्रभावकारी छानबिन अघि बढाएको देखिएको छैन। ईनम हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। तर, अनुसन्धानका क्रममा रेकर्ड गरिएको अडियो र मिसिलका संवेदनशील विवरण कसरी बाहिरिए भन्नेबारे प्रहरी प्रशासनले अहिलेसम्म ठोस जवाफ दिएको छैन।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सूचना चुहावटबारे सोधिएको प्रश्नमा ‘त्यस विषयमा अहिले केही भएको छैन’ भन्ने प्रतिक्रिया दिएका छन्। गत कात्तिक १२ गते तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा पनि ईनम अनुसन्धानको सूचना चुहावटबारे छलफल भएको थियो। तर, छलफलले कुनै ठोस छानबिनको रूप लिन सकेन।
अनुसन्धान गर्ने मुख्य इकाइ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले भने अनुसन्धानका विवरण कसरी बाहिरिए भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्। बाहिर आएको अडियोको आधिकारिकता र विश्वसनीयता परीक्षण गर्नुपर्ने उनको भनाइ छ।
ईनम प्रकरणको अनुसन्धान उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसपी नरहरि रेग्मी नेतृत्वको विशेष समितिले गरिरहेको छ। समितिमा डीएसपी रुकबहादुर खड्का र इन्स्पेक्टर पप्पु नायकसहितका प्रहरी अधिकृत संलग्न छन्।
अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका मोबाइल राजनीतिक पहुँच भएका व्यक्तिको घरसम्म कसरी पुगे ? पासवर्डसहित मोबाइल पठाउने निर्णय कसले ग¥यो ? ती मोबाइलमा रहेका डिजिटल प्रमाण सुरक्षित रहे कि रहेनन् ? अनुसन्धानको गोपनीयता भंग हुँदा पनि प्रहरी मुख्यालयले छानबिन किन अघि बढाएन ? यी प्रश्नको जवाफ प्रहरी नेतृत्वले दिनुपर्ने देखिन्छ।
प्रहरी अनुसन्धानको आधार कानुन, प्रमाण र व्यावसायिक प्रक्रिया हुनुपर्ने हो। तर, अनुसन्धानका मोबाइल नै पासवर्डसहित सत्ताका सल्लाहकारको घर पुगेको आरोप र गोप्य बयान सार्वजनिक भइरहँदा प्रहरीको निष्पक्षतामाथि गम्भीर शङ्का पैदा भएको छ। ईनम प्रकरणमा प्रहरीले कसको आदेश पालना गरिरहेको छ—कानुनको कि सत्ताको ? यो प्रश्नको चित्तबुझ्दो जवाफ वाहिर आउनु जरुरी छ।

