ईनमकी पत्नी मानव अधिकार आयोगमा, चोलेन्द्रदेखि गगनसम्मको नाम लिन दबाब, नमानेपछि झुटा कागजमा सही गराउन खोजियो !

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि नेपाली कांग्रेसका सभापति गगन थापासम्मका प्रभावशाली व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको र आफूले अस्वीकार गरेपछि झुटा विवरण भएका कागजातमा हस्ताक्षर गराउन खोजिएको आरोपसहित बिचौलिया भनिएका ईनम सापकोटाकी पत्नी कविता पाण्डे राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छिन्।

सापकोटामाथि हिरासतका क्रममा शारीरिक तथा मानसिक दबाब दिइएको, आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा राखिएको, परिवारलाई समेत धम्की दिइएको र अनुसन्धानका नाममा आफूले नभनेका कुरा लेखिएका कागजातमा सही गराउन खोजिएको आरोप लगाउँदै पाण्डेले आयोगमा उजुरी दर्ता गराएकी हुन्।

आयोगमा मंसिर ११ गते दर्ता भएको उजुरीको नम्बर १६४४ रहेको छ। उजुरीमा सापकोटाको जीवनरक्षा, परिवारको सुरक्षा र घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ। उजुरीमा उल्लेख गरिएका विवरणहरू सापकोटाको दाबीमा आधारित छन्। ती आरोपबारे स्वतन्त्र छानबिनबाट पुष्टि हुन बाँकी छ।

उजुरीअनुसार सापकोटा असोज १४ गते बिहान करिब साढे १० बजे नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचतर्फ जाने क्रममा उनलाई प्रहरीले रोकेको र साथमा रहेका दुईवटा मोबाइल फोन नियन्त्रणमा लिएको दाबी गरिएको छ।

त्यसपछि आँखामा पट्टी बाँधेर प्रहरीको गाडीमा राखी अज्ञात स्थानमा लगिएको सापकोटाको भनाइ छ। उजुरीमा उल्लेख भएअनुसार असोज १५ गते साँझसम्म उनको आँखामा पट्टी बाँधिएको थियो। यही अवधिमा उनीसँग विभिन्न व्यक्तिको नाम जोडेर बयान दिन दबाब दिइएको आरोप छ।

सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, उनका भाइ र छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही कर्मचारी र न्यायाधीशसँग सम्बन्धित विषयमा बयान दिन आफूलाई दबाब दिइएको दाबी गरेका छन्।

उजुरीमा उल्लेख भएअनुसार ती व्यक्तिहरूविरुद्ध बयान दिए आफूलाई रिहा गरिने, नदिए आफू र परिवारले परिणाम भोग्नुपर्ने तथा झुठा मुद्दामा फसाएर जेल पठाइने चेतावनीसमेत दिइएको थियो। तर आफूलाई थाहा नभएका र आफूले नभनेका विषय समेटिएका कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेको सापकोटाको दाबी छ।

उनका अनुसार प्रहरीले लिखित बयान पढेर सुनाउँदै त्यसलाई रेकर्डसमेत गरेको थियो। त्यसपछि सोही वा सम्बन्धित कागजातमा हस्ताक्षर गराउन खोजिएको तर आफूले नमानेपछि पुनः आँखामा पट्टी बाँधेर असोज १५ गते साँझ काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकाली पु¥याइएको उजुरीमा उल्लेख छ।

सापकोटाले आफ्नो घरमा गरिएको खानतलासीलाई पनि शंकास्पद भन्दै प्रश्न उठाएका छन्। उजुरीअनुसार असोज १६ गते बिहान करिब साढे ८ बजे उनलाई हतकडी लगाएर पानीपोखरीस्थित वाटरपानी हाइट होम्स अपार्टमेन्टमा लगिएको थियो। त्यहाँ पत्नी, पाँच महिनाकी छोरी र आफन्तको उपस्थितिमा खानतलासी गरिएको उनको दाबी छ।

खानतलासीका क्रममा पुरानो ल्यापटप, मोबाइल र केही कागजात फेला परेको भए पनि घरबाहिर राखिएका सुटकेस प्रहरीले पछि ल्याएर साइड ब्यागमा विदेशी मुद्रा फेला परेको देखाएको आरोप उजुरीमा लगाइएको छ। त्यसपछि घरभित्रैबाट उक्त रकम बरामद भएको देखाउने गरी बरामदी मुचुल्का तयार पारिएको सापकोटाको दाबी छ।

उजुरीमा उनकी पत्नीलाई समेत पहिले नै खाली कागजमा हस्ताक्षर गर्न लगाउन खोजिएको उल्लेख छ। यसअघि नियन्त्रणमा लिइएको आइफोनको बरामदी मुचुल्का पनि प्रक्रियाविपरीत तयार गरिएको उनको आरोप छ।

सापकोटाले आफू विमानस्थलभित्रैबाट नियन्त्रणमा लिइएको दाबी गर्दै विमानस्थलमा सर्वसाधारणसँग दुव्र्यवहार गरेको भन्ने कुनै विवरण आए त्यसको सत्यता जाँच्न सीसीटीभी फुटेज र बोर्डिङ पास परीक्षण गर्न माग गरेका छन्। घटनाको वास्तविकता पत्ता लगाउन विमानस्थलको अभिलेखसमेत महत्वपूर्ण प्रमाण हुन सक्ने उनको भनाइ छ।

विदेशी मुद्रा बरामद भएको विषयमा पनि सापकोटाले कानुनी प्रश्न उठाएका छन्। आफूबाट बरामद भनिएको १ हजार ३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ नेपाल राष्ट्र बैंकको विदेशी विनिमयसम्बन्धी २०८२ को परिपत्रअनुसार वैध रहेको दाबी उनले गरेका छन्। विदेशी विनिमयसम्बन्धी आरोपमा चुनौती आएपछि आफूलाई हिरासतमा राखिराख्न सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत जोडिएको उनको आरोप छ।

त्यस्तै, अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका दुई मोबाइलमध्ये एउटा मोबाइल अनधिकृत व्यक्तिको हातमा दुई दिनसम्म राखिएको र त्यसमा चलखेल गरिएको दाबी पनि उजुरीमा छ। एआई प्रयोग गरेर नक्कली कागजात तयार पारिएको, अनुसन्धानसँग सम्बन्धित सामग्री सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चुहाएर आफूलाई दोषीका रूपमा प्रस्तुत गरिएको आरोपसमेत उनले लगाएका छन्।

अदालतबाट दोषी ठहर नहुँदै आफूलाई ‘देशकै ठूलो बिचौलिया’ वा ‘फिक्सर’ जस्ता संज्ञा दिएर सार्वजनिक रूपमा बदनाम गरिएको र पत्नीलाई समेत मुछेर चरित्रहत्या गरिएको सापकोटाको गुनासो छ। यसले निष्पक्ष सुनुवाइको अधिकार र व्यक्तिगत गोपनीयतामाथि असर परेको उनको दाबी छ।

उजुरीमा संविधानको धारा २० ले सुनिश्चित गरेको न्यायसम्बन्धी हक र धारा २८ को गोपनीयताको हक उल्लंघन भएको जिकिर गरिएको छ। संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० उल्लेख गर्दै घटनाको छानबिन, संलग्न प्रहरी अधिकारी तथा अन्य व्यक्तिको पहिचान र दोषी देखिए कानुनी कारबाहीका लागि सिफारिस गर्न आयोगसँग माग गरिएको छ। साथै आफ्नो र परिवारको जीवनरक्षा तथा सुरक्षाको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले सापकोटाकी पत्नी तथा परिवारका सदस्यबाट उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। कार्यालय समय सकिन लाग्दा आयोगकी अध्यक्षसमक्ष उजुरी पेस भएपछि दर्ता गरिएको उनले बताएका छन्। आफूले उजुरीको विस्तृत विवरण अध्ययन गर्न बाँकी रहेको र सोमबार त्यसको अध्ययन गरी आयोगको क्षेत्राधिकारभित्र पर्ने विषय भए आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

यस विषयमा सापकोटाकी पत्नी पाण्डेसँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन चाहिनन्। उपलब्ध विवरणमा आरोपित प्रहरी अधिकारी वा नेपाल प्रहरीको आधिकारिक प्रतिक्रिया समावेश छैन। त्यसैले उजुरीमा लगाइएका आरोपको स्वतन्त्र पुष्टि र प्रहरी पक्षको जवाफ आउन बाँकी छ।

सापकोटा अहिले नेपाल राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गतका कसुरमा अनुसन्धानको दायरामा रहेको बताइएको छ। पूर्वप्रधानन्यायाधीश राणाको मोबाइल परीक्षणका क्रममा सापकोटासँग नियमित ह्वाट्सएप सम्पर्क देखिएको विवरण सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान अघि बढेको थियो। यसअघि उनको मोबाइल नियन्त्रणमा लिने, अनुसन्धानका क्रममा राजनीतिक तहबाट चासो राखिएको र अनुसन्धानसँग सम्बन्धित सामग्री बाहिरिएको विषयले प्रहरीको व्यावसायिकता तथा अनुसन्धानको गोपनीयतामाथि प्रश्न उठिरहेको छ।

अब सापकोटाकी पत्नीले मानव अधिकार आयोगमा दिएको उजुरीले अनुसन्धानको अर्को संवेदनशील पाटो उजागर गरेको छ। उनीमाथि लगाइएका आर्थिक कसुरको अनुसन्धान आफ्नो ठाउँमा छ, तर अनुसन्धानका क्रममा दबाब, धम्की, गैरकानुनी हिरासत वा प्रमाणमा चलखेल भएको हो कि होइन भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ। आयोगले उजुरी अध्ययनपछि छानबिन अघि बढाएमा सापकोटाले लगाएका आरोपको सत्यता र अनुसन्धान प्रक्रियाको वैधानिकता परीक्षण हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट