कम्प्युटर अपरेटर गणेशः जसको कमजोरीलाई प्रधानमन्त्री ओलीले अवसर बनाई दिए

काठमाण्डौँ– खोटाङको जन्तेढुङ्गा गाउँपालिका (साविक काउले गाविस) को गरिब परिवारमा जन्मिएका ३१ वर्षीय (हाल) गणेश राई एक दशक अघि अध्ययनका लागि काठमाण्डौं आएका थिए। कक्षा ५ सम्म गाउँकै जलेश्वर प्राविमा अध्ययन गरेका उनले त्यसपछिको अध्ययन चिसापानीमा गरे।

सदरमुकाम दिक्तेलमा ब्याचलर गर्दैगर्दा उनी काठमाण्डौं झरे। काठमाण्डौंमा उनले म्यानेजमेन्टमा ब्याचलरसम्म अध्ययन गरे। त्यसपछिको अध्ययन भने अगाडि बढाउन सकेनन्। अध्ययनका क्रममा उनको संगत एमालेका विशाल भट्टराई, भैरव राईलगायतका नेताहरुसँग थियो।

उनीहरुको मुखबाट गणेशले धेरै पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको वखान सुन्थे। अधिकांशले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा चर्चा गर्दा उनलाई पनि ‘एक पटक ओलीसँग भट्नै पर्छ’ भन्ने लाग्यो। ०७२ सालमा सिनियर दाईहरु ओलीलाई भेट्न जाने भएपछि उनीहरुकै पछि लागेर गणेश पनि बालकोट पुगे।

ओलीले सहज रुपमा गणेशलाई भेटे। अझ स्पष्ट भन्दा गणेश पहिलै झल्कोमा ओलीको नजरमा परे। किनकी उनी जन्मजात विशेष थिए। गणेशका दुवै हात आधी मात्रै छन्, कुहिनाभन्दा तलको भाग छैन।

भेटघाटका क्रममा ओलीले उनलाई सोधे– के–के गर्न सक्छौ, तिमीसँग के–के प्रतिभा छ ? गणेशले सहजै जवाफ दिए– सामान्य मानिसले गर्न सक्ने सवै काम गर्न सक्छु। त्यसपछि उनले कम्युटर चलाउनेदेखि सबै काम गरेरै ओलीलाई देखाए। उनले दिक्तेल वस्दा कम्प्युटरको वेसिक कोर्ष गरेका थिए। उनको काम देखेपछि ओली गणेशप्रति निकै प्रभावित भए। अझ भनौं उनी आश्चर्यमा परे।

०७२ मा ओली प्रधानमन्त्री भए। उनले पहिलो चरणमै गणेशलाई खोजेर सहरी विकास मन्त्रालय अन्तर्गत डिभिजन कार्यालय काठमाडौँमा कम्प्युटर अपरेटरको जागिर लगाई दिए। तर, ओली प्रधानमन्त्रीबाट हटेसँगै उनको जागिर पनि खुस्कियो।

३ फागुन ०७४ मा ओली दोस्रो पटक प्रधानमन्त्री भए। ओलीले गणेशको खोजी गरे। यो पटक ओलीले उनलाई प्रधानमन्त्री कार्यालयको सचिवालयमै राखे। सुरुमा गणेशले प्रशासनमा रहेर काम गरे भने पछि सल्लाहकारसँग रहे। ओली सरकारबाट हटे, तर यस पटक उनको जागिर खोसिएन।

निरन्तर प्रधानमन्त्रीको कार्यालयमा रहेर काम गरिरहेका थिए। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले अस्थायी÷करार कर्मचारीको दरबन्दी काट्दा उनको जागिर गयो। सरकारले करार अवधी नथपेपछि असार मसान्तबाट उनीसहित ९ जना कर्मचारी प्रधानमन्त्री कार्यालयबाट वाहिरिए।

तर, संयोगले ओली चौथो पटक प्रधानमन्त्री भए। ओलीले फेरी गणेशको खोजी गरे। लगातार तेस्रो पटक खोजेर प्रधानमन्त्रीले जागिर लगाइदिएपछि भने गणेश चर्चामा छन्। प्रधानमन्त्रीको सचिवालयमा फेरि काम गर्न पाउँदा उनी पनि फुरुङ्ग छन्। कसरी गरिखाला? भनेर चिन्ता गरेको छोराको प्रगति देखेर बुबाआमा पनि मख्ख छन्।

गणेश ६ दाजुभाई मध्ये साईलो हुन। अरुले देख्दा हात नभएका कारण उनको भविष्य सम्झेर धेरैले दुःख मान्थे। बुबाआमाको चिन्ताको कारण बनेका थिए, गणेश। तर, उनको क्षमता सामान्य मानिस भन्दा कम छैन। जन्मजातै कमजोरी लिएर आएका गणेशको सोही कमजोरी अहिले उनको प्रगतिको कारण बन्यो। यही सम्झेर बुबाआमाको चिन्ता पनि कम भएको छ।

अझ प्रधानमन्त्री ओलीको गणेशप्रतिको मायाँले उनीहरुको चिन्ता हरेको छ। ओलीले गणेशसँगै जागिर गुमाएका ५ जनालाई पुनः बोलाएर नियुक्ती दिएका छन्। बाँकी ४ जनालाई पनि बोलाउन निर्देशन दिईसकेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट