संसदमा ‘भूत–प्रेत’ को ताण्डब: जेनजी आन्दोलनबाट नेता भएका पुरुशोत्तम यादव विवादमा
काठमाडौँ — संघीय संसदको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुशोत्तम शुभप्रभाद यादवको पहिलो सम्बोधन नै तीव्र विवादको केन्द्रमा परेको छ। हिरासतमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र र संसदीय दलका नेता रामवहादुर थापा (बादल) लाई लक्षित गर्दै दिएको अभिव्यक्तिले संसदको मर्यादा, भाषा र सीमाबारे गम्भीर बहस निम्त्याएको हो।
संसदमा बोल्ने क्रममा यादवले प्रयोग गरेका शब्दहरू असामान्य मात्र होइन, आक्रामक र व्यंग्यात्मक शैलीका कारण तत्कालै प्रतिपक्षको तीव्र प्रतिक्रियाको कारण बने। उनले ओलीलाई ‘अपराधी’को संज्ञा दिँदै भूत–झाँक्रीसम्बन्धी टिप्पणीसमेत गरेका थिए। उनको अभिव्यक्तिमा ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले आज कमरेड बादललाई पनि छलेको देखिन्छ’ भन्दै सरकारसँग ‘भूत झार्ने झाँक्रीको व्यवस्था’ गर्न माग गरिएको थियो।
साथै, हिरासतमा हुनुपर्ने व्यक्ति अस्पतालको शय्याबाट सदनमा प्रभाव पारिरहेको आरोपसमेत उनले लगाएका थिए। यादवको यस्तो अभिव्यक्तिपछि एमालेका सांसद गुरु बराल तत्काल उठेर नियमापत्ति जनाए। उनले संसद कुनै व्यक्तिलाई अपराधी ठहर गर्ने स्थान नभई त्यस्तो निर्णय न्यायालयको अधिकारक्षेत्रभित्र पर्ने स्पष्ट पारे।
साथै, संसद जस्तो गरिमामय संस्थामा भूत–प्रेत, झाँक्री जस्ता अन्धविश्वासजन्य विषय उठाउनु अनुचित भएको भन्दै उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरे। बरालले ओली र बादलप्रति गरिएको टिप्पणीलाई अपमानजनक र असंसदीय भन्दै कडा शब्दमा आपत्ति जनाएका थिए।
उक्त विवादपछि सभामुख डोलप्रसाद अर्यालले संसदको ध्यानाकर्षण भएको जनाउँदै विषयलाई नियमअनुसार अघि बढाइने संकेत दिएका थिए। तर, यस घटनाले संसदभित्रको बहसको स्तर र भाषाशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
संसद बाहिर पनि यो विषयले व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। सामाजिक सञ्जालमा विभिन्न धारका प्रतिक्रिया सार्वजनिक भइरहेका छन्, जसमा केहीले यादवको अभिव्यक्तिलाई राजनीतिक आक्रोशको अभिव्यक्ति भनेका छन् भने धेरैले संसदको गरिमामाथि आघात पुगेको टिप्पणी गरेका छन्।
विशेषगरी, अन्धविश्वासजन्य भाषाको प्रयोग र व्यक्तिमाथि सीधा आरोप लगाउने शैलीले लोकतान्त्रिक संवादको स्तर घटाएको आलोचना भइरहेको छ। यो घटनाले संसदभित्र अभिव्यक्ति स्वतन्त्रताको सीमा, राजनीतिक असहमतिको शैली र सार्वजनिक संस्थाको मर्यादाबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ।
पहिलो सम्बोधनमै विवादमा तानिएका यादवको अभिव्यक्तिले अब संसदमा भाषाशैली कति संयमित हुनुपर्छ भन्ने प्रश्न अझ तीव्र बनाएको छ।
