इटहरीमा दिनदहाडै ४ युवकले लखेटी–लखेटी एक युवकलाई खुकुरीले छप्काए, संलग्न फरार

इटहरी– सुनसरीको इटहरीमा बुधबार एक युवकमाथि दिनदहाडै लखेटी–लखेटी खुकुरी प्रहार भएको छ। दिउँसो करिब पौने ५ बजे इटहरी ६ मा इटहरी १६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार भएको हो।

बुढाथोकीलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। उनको हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घट्नामा इटहरी आसपासकै करिव २० वर्ष उमेर समुहका ४ जना युवाहरु संलग्न भएको प्रहरीको भनाई छ।

उनीहरुले संगीत चौकदेखि लखेटेर कुवेर चौकमा पुर्याई बुढाथोकीमाथि खुकुरी प्रहार गरेको जनाईएको छ। स्थानीयका अनुसार उनीहरु हरेकले हातमा खुकुरी बोकेका थिए।

घटनामा संलग्नको हुलिया पत्ता लगाउन घटनास्थलको सिसी टिभी फुटेज चेक गर्ने काम भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले बताए। प्रहरीका अनुसार घटनाको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट