भाइको काजकिरिया सकेर फर्किएको दुई दिनमै वन अधिकृतद्वारा श्रीमतीको हत्या
काठमाडौँ– दाङमा भाइको काजकिरिया सकेर घर फर्किएको दुई दिनमै एक वन अधिकृतले आफ्नै श्रीमतीको निर्मम हत्या गरेका छन। तुलसीपुर उपमहानगरपालिका–१९ मा बिहीबार साँझ २८ वर्षीया कमला वलीको हत्या भएको हो।
हत्या आरोपमा उनका श्रीमान् ३६ वर्षीय गोपाल वली पक्राउ परेका छन्। उनी डिभिजन वन कार्यालय वीरगंजमा लेखा अधिकृतका रूपमा कार्यरत रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ करिब ६ बजे घरभित्रै गोपालले दाउरा र रड प्रहार गरी कमलामाथि आक्रमण गरेका थिए।
गम्भीर घाइते अवस्थामा उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल पु¥याइएको थियो, तर उपचारकै क्रममा साँझ साढे ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गोपाल केही दिनअघि मात्रै आफ्नो भाइको काजकिरिया सकेर तुलसीपुर फर्किएका थिए।
चैत १ गते उनका १७ वर्षीय भाइ महेन्द्र वलीले रुकुम पश्चिमस्थित झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गरेका थिए। प्रेमसम्बन्धी विफलताका कारण उनले आत्मघाती कदम चालेको खुलेको थियो। पारिवारिक शोकबाट गुज्रिरहेको अवस्थामा भएको यो दोस्रो त्रासदीले घटनालाई झन् संवेदनशील बनाएको छ।
प्रहरीका अनुसार गोपाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ। प्रारम्भिक बयानमा उनले घरको भान्सा कोठामा भएको भनाभनका क्रममा आवेगमा आएर दाउरा र रड प्रयोग गरी श्रीमतीमाथि आक्रमण गरेको स्वीकार गरेका छन्।
तर मृतकका आफन्तहरूले भने घटनालाई केवल आवेगको परिणाम मान्न अस्वीकार गरेका छन्। उनीहरूले परिवारका अन्य सदस्यहरूकै अगाडि निर्घात कुटपिट भएको र कसैले रोक्ने प्रयास नगरेको भन्दै घटनामा मिलेमतो र योजनाबद्धता हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले गोपाल मात्रै होइन, उनका बुवा–आमामाथि पनि अनुसन्धान गरिनुपर्ने माग गरेका छन्।
मृतक कमला र गोपालका एक छोरा र एक छोरी छन्, जसको उमेर १० वर्षभन्दा कम छ। छोराले प्रहरीसमक्ष दिएको बयानमा बाबु–आमाबीच पहिलेदेखि नै झगडा हुने गरेको र बाबुले आमामाथि बारम्बार कुटपिट तथा मानसिक यातना दिने गरेको उल्लेख गरिएको छ।
आफन्तहरूका अनुसार कमलाले यसअघि श्रीमानको हिंसाका कारण ‘माना चामल’ सम्बन्धी मुद्दा पनि दायर गरेकी थिइन्, जुन हाल अदालतमा विचाराधीन छ। प्रहरी अनुसन्धानबाट पछिल्लो समय दम्पतीबीच आपसी शंका र अविश्वास बढ्दै गएको र त्यही विवादकै क्रममा हत्या भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
