ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ
काठमाडौँ– ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले आज पक्राउ गरेको छ। सिंहदरबारमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेपाल पक्राउ परेका हुन।
नेपालले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत मध्यान्ह १२ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना दिने जानकारी दिएका थिए। लिपुलेकमा भारतले ज्यादती गरेको, चीन–भारतले लिपुलेक प्रयोग गर्ने सहमति गरेको भन्दै त्यसविरूद्ध नेपालले धर्ना दिन लागेका थिए।
नेपाल लामो समयदेखि ग्रेटर नेपालको अभियानमा संलग्न छन्। उनले ०७८ सालमा संयुक्त राष्ट्रसंघको एउटा भर्चुअल सेमिनारमा समेत ग्रेटर नेपालको मुद्दा उठाएका थिए। स्विट्जरल्यान्डको जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदको ४७ औं सत्रको समानान्तर कार्यक्रममा उनले सम्वोधन गरेका थिए।
‘इन्डियन हेजेमोनी एन्ड इन्टरफेयरेन्स इन नेपाल’ विषयको सेमिनार स्विट्जरल्यान्डको जुरिचबाट सञ्चालन गरिएको थियो। फ्रान्सको युनिभर्सिटी अफ सभोइ मोन्ट ब्ल्यांकले मोडरेट गरेको सेमिनारमा ग्रेटर नेपालका फणिन्द्रलाई मुख्य प्रस्तोता बनाइएको थियो भने श्रीलंकाका प्राज्ञ डा. एम शरीफ असिस र नेपालका डा. पियारत्न महर्जनले पनि नेपालमा भारतीय हस्तक्षेपका बारेमा बोलेका थिए।
भारतले सात दशकभन्दा बढी समयदेखि करिब ६० हजार वर्गकिलोमिटर नेपाली भूमिमा उपनिवेश कायम गर्दै आइरहेको नेपालले बताए। उनले भारतलाई दवाव दिन अन्तर्राष्ट्रिय जगतसँग आह्वान गरे।
यसैगरि, लिम्पियाधुरा–कालापानी–लिपुलेकलाई भारतले आफ्नो राजनीतिक नक्सामै राखेर त्यहाँ अवैध संरचना निर्माण गरेको विषय पनि नेपालले ध्यानाकर्षण गराएका थिए। भारतले सयौं वर्षअघिदेखि त्यहाँ बसिरहेका नेपालीभाषीलई आफ्नै देशमा शरणार्थी बनाई मानवअधिकार हनन गरेको उनले बताएका थियो।
