पहलगाम आक्रमणको वदलामा पाकिस्तानमा भारतको ‘अपरेशन सिन्दुर’ :९ ठाउँमा मिसाईल आक्रमण

काठमाडौँ– जम्मु–कश्मिरस्थित पहलगाम आक्रमणको १५ दिनपछि भारतले गएराति पाकिस्तानमा मिसाइल हमला गरेको छ। भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो।
यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ। मिसाइल आक्रमण गरेको स्थानबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको भारतको दावी छ।
भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाइएको छ। मिसाइल हमलापछि कश्मीर क्षेत्र अशान्त बनेको छ। महिला र बालबालिका प्रभावित भएका छन्।
बीबीसीसँगको कुराकानीमा केही प्रत्यक्षदर्शी मूजफ्फराबादका शहनवाजले आक्रमण भएका स्थानहरूमा हालको अवस्थाबारे भनेका छन्, ‘हामी आफ्ना घरहरूमा गहिरो निद्रामा थियौं, अचानक विस्फोटका आवाजले हामीलाई झस्कायो। अहिले हामी परिवार, महिला र बालबालिकासहित बाहिर छौं र सुरक्षित स्थानहरूको खोजीमा छौं।’
यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन्। सामाजिक सन्जाल एक्स अकाउन्टमा उनले लेखेका छन्, ‘भारतले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ। पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ दिने पूरा अधिकार छ र जवाफ दिइँदैछ।’
पाकिस्तानले भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले पाँच भारतीय वायुसेना जेटहरू खसालेको दाबी गरेको छ। भारतले आक्रमणमा पठाएका तीन राफेल जेट, एक मिग–२९ र एक एसयू–३० लडाकु विमान र एक ड्रोन खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको हो।
पाकिस्तानी सुरक्षा स्रोतको ब्रिफिङले जेटहरू कहाँ र कसरी खसालिए भन्ने कुरा खुलाएको छैन। स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि गर्न नसकेको र भारतीय सरकारसँग प्रतिक्रियाको लागि सम्पर्क गरेको सीएनएनले जनाएको छ।
भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ। सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। त्यो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि विभिन्न प्रतिवन्ध लगाएको छ।