श्रीमान जोगी बनेर हिडेपछि सुजानदेवीको परिवारलाई गाउँबाट भगाउँन छिमेकीको षडयन्त्र

राजविराज — सप्तरीको बोदेबरसाइन नगरपालिका–१, धनगढीका खुशीलाल यादव जोगी बनेर हिडेको लामो समयसम्म सम्पर्कविहिन भएपछि उनको परिवारका सदस्यमाथि दुःखको पहाड आईलागेको छ।
समस्या पदा आड भरोरा दिने छोरो मान्छे साथमा नहुँदा खुशीलालको परिवारलाई छिमेकीहरुले नै गाउँबाट विस्थापित गर्ने षडयन्त्र सुरु गरेका छन्। यही योजनाका साथ उनीहरुमाथि लगातार कुटपिट हुँदै आएको छ।
गत बुधबार पनि खुशीलालकी श्रीमती ५५ वर्षीया सुजानदेवी तथा छोरीहरु १६ वर्षीया अम्बिकाकुमारी र १४ वर्षीया ललिताकुमारीमाथि कुटपिट भयो। छोरीहरुको अवस्था गम्भिर छ। उनीहरु उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका छन्।
डाक्टरले ‘सीटी स्क्यान गराउनु पर्छ’ भनेपछि छोरीहरु विगत ६ दिनदेखि अस्पतालमा अलपत्र परेको उनको भनाई छ। ‘अस्पतालमा भएको सीटी स्क्यान गर्ने मेसिन विग्रिएको रहेछ। अर्को अस्पतालमा लगेर सीटी स्क्यान गर्ने खर्च छैन’ सुजानदेवीले भनिन्–‘डाक्टरले भनेको काम गर्न नसक्दा अहिले उपचार नै रोकिएको छ।’
उनका अनुसार एक दशक अघि छिमेकी शम्भु मण्डल र स्व. मेदी मण्डलले उनका पति खुशीलाल विरुद्ध सप्तरी जिल्ला अदालतमा ‘खिचोला मेटाई घर उठाई चलन’ सम्बन्धी मुद्दा दिएका थिए। अदालतले २६ जेठ ०७२ मा त्यो मुद्दाको फैसला गरेको थियो।
न्यायाधीश तेजनारायण पौडेलको इजलाशबाट भएको फैसलामा कित्ता नम्बर १६७ को ८ धुर गाउँब्लक जग्गामा रहेको घर पाताल भए वा उठाएर नलगेसम्म वादी (शम्भु र मेदी) को हक नलाग्ने उल्लेख गरिएको छ। अदालतको फैसलापछि त्यहाँबाट आफूहरुलाई विस्थापित गर्न पटक–पटक कुटपिट गर्ने गरिएको सुजानदेवीको भनाइ छ।
पछिल्लो पटक उनै शम्भु मण्डलकी पत्नी सोमनीदेवी, छोरीहरु रम्भा र अनिता, स्व. मेदी मण्डलकी पत्नी गुज्रीदेवी, बुहारी आरती, नाती रामउद्गार र उनकी पत्नी लक्ष्मीले कुटपिट गरेका हुन। सुजानदेवीका अनुसार उनीहरु कुटपिट भएको घट्ना यो पहिलो भने होईन। यसअघि कुटपिट हुँदा प्रहरी चौकी सिस्वा बेल्हीमा पञ्चायती बसेर कुटपिट गर्नेहरुलाई जरिवाना गराईएको थियो।
त्यो घट्नापछि उनीहरु थप आक्रोशित भएर आक्रमणमा उत्रिएको पीडितको गुनासो छ। ‘धाकधम्की त चियानास्ता खाए जस्तै भईसक्यो। कुनै दिन गाली गरेनन् भने आज के भएछ जस्तो लाग्छ’ लाचारी ब्यक्त गर्दै उनी भन्छिन्–‘एउटै समस्यका बारेमा गाउँमा गएर पटक–पटक भन्दा आफैंलाई लाज लाग्छ। तर, उनीहरु न लाज मान्छन्। न थाक्छन्। गालीको असर गलौज र धम्कीको असर देखिन छोडेपछि उनीहरु थप आक्रोशित भएर आक्रमण गर्न थाल्छन्।’ उनीहरुको गाली गलौज र धाकधम्कीमा प्रतिक्रिया दिन छोडेपछि उनीहरु थप आक्रोशित हुन थालेको सजानदेवीको भनाई छ।
वडाध्यक्ष रवीन्द्रकुमार साहले कुटपिट भएको विषयमा जानकारी आए पनि कारण र वस्तुनिष्ठ जानकारी नपाएको बताए। सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भने कुटपिट गर्नेलाई कार्वाही गरिने वताए। उनीहरुलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको उनको भनाई छ।
इलाका प्रहरी कार्यालय बोदेबरसाइनले थप कारवाही अगाडि बढाउने एसपी खतिवडाले जानकारी दिएका छन्।