जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर झण्डै १ करोड असुली गरेको आरोपमा पक्राउ परेकी तारा गुरुङ ५० हजार धरौटीमा रिहा

काठमाडौँ — एक जना जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर नगद र जिन्सी समान गरी झण्डै एक करोड धुतेको आरोपमा पक्राउ परेर करिब एक महिनादेखि प्रहरी हिरासतमा रहेकी गोरखाकी तारा गुरुङ ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन।

ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मंगलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। गोरखाको शहीद लखन गाउँपालिका–९ घर भई टोखा नगरपालिका–३, बानियाँटारमा बस्दै आएकी ३३ वर्षीया गुरुङ २० वैशाखमा डेराबाटै पक्राउ परेकी थिईन।

उनीविरुद्ध प्रहरीले ‘हनीट्रयापको शैलीमा ठगी र ब्ल्याकमेलिङ गरेको आरोपमा आपराधिक लाभ (एक्सटर्सन) अन्तर्गत मुद्दा दर्ता गरेको थियो। प्रहरीको अनुशन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले १६ जेठमा अदालतमा मुद्दा दर्ता गरेको थियो।

तारामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा ३ (ख) बमोजिमको कसुरमा अभियोग लगाइएको छ। मुद्दामा ९२ लाख ४६ हजार २९० रुपैयाँ बिगो मागदाबी गर्दै ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ।

गुरुङले प्युठान घर भई ललितपुर बस्दै आएका विश्वकर्मा थरका एक जग्गा व्यवसायीलाई करिब साढे तीन वर्षअघि (२४ मंसिर ०७८) गोंगबुस्थित ‘टप राजधानी दोहोरी साँझ’ मा भेटेकी थिइन। त्यहाँ चिनजान भएपछि उनीहरुको सम्वन्ध झांगिएको थियो। सामाजिक सञ्जाल तथा फोन नम्बर आदानप्रदान हुँदै अघि वढेको उनीहरुको चिनजानको सम्बन्ध शारीरिक सम्बन्ध स्थापनासम्म पुगेको थियो।

सोही सम्बन्धलाई आधार बनाएर गुरुङले ‘बलात्कारको मुद्दा लगाइदिन्छु’, ‘मिडियामा जान्दु’, ‘प्रहरीमा उजुरी हाल्छु’ भन्दै ब्ल्याकमेल गर्न थालेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। उनले धम्की दिने उद्देश्यले प्रहरी कार्यालयअगाडि गएर फोटो खिचेर म्यासेन्जरमा पठाउने, ‘आत्महत्या गर्न लागेझैँ देखिने फोटो र भिडिओ पठाउने’ तथा निरन्तर बार्गेनिङ गरेको पनि ती ब्यक्तिले उल्लेख गरेका छन्।

पीडितले ताराको खातामा २७ पटक गरेर ४९ लाख ६२ हजार ३९० रुपैयाँ जम्मा गरिदिएको स्टेटमेन्ट पनि पेश गरेका छन। त्यसबाहेक नगद २ लाख ५० हजार रुपैयाँ र उनले भनेका ब्यक्तिको बैंक खातामा ८ लाख ९२ हजार ३५७ रुपैयाँ जम्मा गरिदिएको दाबी उनको छ।

यसैगरी, मोबाइल (आईफोन ११ प्रोदेखि १५ प्रो म्याक्ससम्म), एअर वर्ड, घडी, सुनका औंठी, टप, नेक्लेस, सिक्री, ब्रास्लेट लगायत जिन्सी सामानहरू दिइएको विवरण पनि उजुरीमा उल्लेख छ। ती ब्यक्तिले दाङको लमही नगरपालिका–७ स्थित ५५०.२९ वर्गमिटर क्षेत्रफलको २० लाख रुपैयाँ बराबरको जग्गा समेत गुरुङको नाममा पास गरिदिएको दाबी गरेका छन्।

प्रहरीले पनि गुरुङको कोठाबाट केही सुनका गरगहना बरामद गरेको पुष्टि गरेको छ। सबै हिसाब गदौ ९२ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति ब्ल्याकमेल गरेर असुलेको आरोप उनीमाथि छ। गुरुङले भने आफूहरू प्रेमसम्बन्धमा रहेको, लिभिङ टुगेदरमा बसेको र तथा नगद र गरगहना उपहारस्वरूप प्राप्त गरेको दावी गरेकी छिन्।

सम्बन्ध बिग्रन थालेपछि आफूले आत्महत्या गर्छु भन्दै म्यासेज गरेको तथा त्यस्ता खालका फोटो र भिडिओ पठाएको स्वीकार गरेकी छन। सम्वन्धमा रहँदा दुबई, पाकिस्तान, मुम्बई, गोवा, दिल्ली लगायतका स्थानमा पनि घुम्न गरेको दाबी उनको छ।

पीडित पक्षले भने यसलाई ब्ल्याकमेलिङ भन्दै कारबाही अगाडि बढाएको छ। सो मुद्दाको थुनछेक बहसपछि अदालतले गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट