जनकपुरका व्यवसायी पवन महतो ठगी आरोपमा काठमाडौँबाट पक्राउ

राजविराज– जनकपुरस्थित रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो ठगी आरोपमा काठमाडौँबाट पक्राउ परेका छन। धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपी वरुणकुमार सिंहका अनुसार महतोमाथि व्यावसायिक साझेदार सन्तोष यादवले ठगीको उजुरी दिएका थिए।
प्रहरीका अनुसार महतोमाथि करिब १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। पवन महतोसँगै उनका बुवा बलराम महतोविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
डीएसपी सिंहले बताएअनुसार, ‘उजुरीको आधारमा पवन महतो पक्राउ परेका हुन। हाल उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।’
सन्तोष यादव र पवन महतो अघिल्ला व्यावसायिक साझेदार रहेका थिए। तर, आर्थिक लेनदेनको विषयमा विवाद भएपछि यादवले आपराधिक विश्वासघातको आरोप लगाउँदै उजुरी दिएका थिए। पक्राउ परेका महतोले भने करिब दुई करोड रुपैयाँ मात्र बाँकी रहेको दाबी गरेको प्रहरीले जनाएको छ।
यस घटनाले स्थानीय व्यवसायी समुदायमा पनि चर्चा उत्पन्न गराएको छ। अदालती प्रक्रिया र अनुसन्धानपछि मात्र ठगीको दायरा र दोष निर्धारण स्पष्ट हुने बताइएको छ।