अहमदाबाद विमान दुर्घटनाः प्रहरी प्रमुख भन्छन– ‘कसैको बच्ने सम्भावना छैन’

काठमाडौँ– भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एअर इण्डियाको विमान बिहीबार दिउँसो टेकअफ गरेपछि केही मिनेटमै दुर्घटनामा परेको छ। विमानमा रहेका यात्रु र क्रु मेम्बरसहित २४२ जनाकै मृत्यु भएको आशंका गरिएको छ।
प्रारम्भिक विवरण अनुसार, विमान टेकअफ गरेपछि मेघानीनगरस्थित पाँच तले भवनमा ठोक्किएको हो। ठोक्किएलगत्तै विमानमा भीषण आगलागी भएको छ। अहिले पनि घटनास्थलबाट बाक्लो कालो धुवाँ उडिरहेको छ। दुर्घटनास्थलमा फायर ब्रिगेडका गाडीहरू र प्रहरी टोली खटिएका छन्। उद्धार र आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीहरू निरन्तर प्रयासरत छन्। तर, आगोको लप्का र विमानको अवस्था अत्यन्तै जटिल रहेको उद्धार टोलीले जनाएको छ।
अहमदाबाद प्रहरी कमिश्नर जीएस मलिकले घटनाबारे सञ्चार माध्यमसँग प्रतिक्रिया दिंदै दुर्घटनाको अवस्था एकदमै भयावह रहेको बताए। ‘दुर्घटनास्थलको अवस्था निकै डरलाग्दो छ। विमान पूर्णरूपमा क्षतिग्रस्त छ। प्रारम्भिक आँकलनमा कसैको बच्ने सम्भावना देखिएको छैन।’– उनले भने।
मलिकका अनुसार, केही घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल लगिएको भए पनि उनीहरूको अवस्था गम्भीर रहेको र धेरैलाई बचाउन सकिने सम्भावना अत्यन्त न्यून रहेको उल्लेख गरिएको छ। ‘हामी उद्धार कार्यमा सक्दो प्रयास गरिरहेका छौं, तर आगलागीका कारण काम गर्न निकै कठिन भइरहेको छ,’ प्रहरी प्रमुख मलिकले भने।
दुर्घटना एअरपोर्ट नजिकैको मेडिकल कलेज क्षेत्रमै भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, विमान अत्यन्तै कम उचाइमा उडिरहेको थियो र सिधै भवनमा ठोक्किएको थियो। ठोक्किएपछि विमानमा आगो बल्यो र छेउछाउका घरहरूमा समेत आगो फैलिएको छ।
अहिलेसम्म एअर इण्डियाले विमानमा सवार यात्रुहरूको संख्या र दुर्घटनाबारे आधिकारिक पुष्टि गर्दै घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएको छ। विमान बोइङ ७८७ ड्रीमलाइनर रहेको र यसको उडान संख्या एआई–१७१ रहेको जनाइएको छ।
उक्त विमान दिल्ली हुँदै अहमदाबाद आइपुगेको र त्यसपछि लन्डनका लागि उडेको थियो। टेकअफ गरेपछि विमानले आपतकालीन सन्देश पठाएको थियो तर त्यसपछि एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क हुन सकेन।
घटनाको कारणबारे छानबिन सुरु गरिएको छ भने भारतीय गृह मन्त्रालयले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै राहत तथा उद्धारका लागि केन्द्र सरकारबाट आवश्यक सहयोग गरिने जनाएको छ।