श्रीमतीले दोस्रो विवाह गरेपछि सासुको हत्या गरेर फरार भएका अभियुक्त २१ वर्षपछि पक्राउ

राजधानी– सासुको हत्या गरी दुई दशकसम्म भारतका विभिन्न स्थानमा लुकिछिपी बसेका पाल्पाका एक अभियुक्तलाई प्रहरीले नेपाल फर्किने बित्तिकै पक्राउ गरेको छ।
२०६१ सालको असारमा पाल्पाको सिलुवा गाविस–९ मा भएको हत्या घटनाका मुख्य आरोपी ६६ वर्षीय पूर्णबहादुर सार्की बिहीबार बिहान नेपालगन्जको जमुनाहा भन्सार नजिकै पक्राउ परेका हुन्।
पाल्पा प्रहरीका एसपी पवनकुमार भट्टराईका अनुसार फरार अभियुक्तको पहिचान र हिँडडुलको जानकारी पत्ता लगाउन प्रहरीले लामो समयदेखि सूचना संकलन र विश्लेषणलाई निरन्तरता दिएको थियो। ‘यो घटनामा २१ वर्षदेखि पक्राउ नपरेका अभियुक्तलाई हामीले योजनाबद्ध रुपमा ट्रेस गर्यौं,’ उनले बताए।
प्रहरीका अनुसार पूर्णबहादुरले आफ्नै सासु चिनिसरा सार्कीलाई कुटपिट गरी हत्या गरेका थिए। आरोपअनुसार श्रीमतीले उनलाई छाडेर अर्को विवाह गरेपछि रिसले आक्रोशित भएका उनले सासूसँग झगडा गर्दै ज्यान लिएका थिए। हत्या गरी भागेका उनी त्यसयता भारतका सीमावर्ती क्षेत्रमा बसोबास गर्दै आएका थिए।
‘उनी बेला–बेला बाँके हुँदै नेपाल आउँछन् भन्ने प्रमाण फेला पारेपछि टोली परिचालन गरिएको थियो,’ एसपी भट्टराईले भने।
पक्राउ परेका सार्कीलाई बिहीबार जिल्ला अदालत पाल्पामा उपस्थित गराई पाँच दिन म्याद थप गरी हिरासतमा राखिएको छ।