भ्रष्टाचार आरोपमा सप्तरीको भेटेरिनरी प्रमुखसहित तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा

राजविराज— सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झा, तत्कालीन सह–लेखापाल अनिल लिम्बु र निर्माण व्यवसायी कौशलराज सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाहीको माग गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूमाथि मिलेमतोमा सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ।
आयोगका अनुसार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीले राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै त्यसलाई लुकाएर केवल सौर्य राष्ट्रिय दैनिकमा एक प्रति सूचना प्रकाशित गरेर प्रक्रिया अघि बढाएको थियो।
यसबारे प्रेस काउन्सिल नेपालले पत्र पठाउँदै सम्बन्धित सूचना कुनै पनि सार्वजनिक पत्रिकामा प्रकाशित नभएको प्रमाणित गरिसकेको छ। यसरी सूचना लुकाएर ठेक्का प्रक्रिया अघि बढाइएको र त्यसकै आधारमा निर्माणको कामसम्बन्धी झुटा बिल तयार गरी एक लाख उनान्तीस हजार छ सय सतसठ्ठी रुपैयाँ भुक्तानी दिइएको अख्तियारको ठहर छ।
आयोगले उक्त कार्यले राज्यलाई आर्थिक हानी पु-याएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ड) बमोजिम डा. झा र लिम्बुलाई प्रत्यक्ष जिम्मेवार देखाउँदै कैद, जरिवाना र बिगो असुलको मागसहित मुद्दा दायर गरेको हो।
निर्माण व्यवसायी कौशलराज सिंहले सरकारी कर्मचारीलाई गैरकानुनी लाभ दिलाउने उद्देश्यले मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै उनलाई पनि सोही ऐनको दफा २२ अनुसार मुख्य दोषी सरहको सजाय हुनुपर्ने माग गरिएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, भ्रष्टाचार निवारण ऐन अन्तर्गत सो कार्य गम्भीर कसूरमा पर्ने हुँदा संलग्न सबैविरुद्ध कानूनी कारबाहीको माग गरिएको हो।