चौदण्डीगढीमा अवैध उत्खननको पर्दाफासपछि धम्की र प्रतिशोधः पत्रकारलाई झुण्ड्याउने चेतावनी, वडाध्यक्षको सेवा–सुविधा रोक्का

बेल्टार (उदयपुर) — उदयपुरको चौदण्डीगढी नगरपालिकामा अवैध ढुंगा, गिट्टी र बालुवा उत्खनन प्रकरण उजागर गर्ने पत्रकार र जनप्रतिनिधि प्रति मेयर कालुमान लामाले पदको दुरुपयोग गर्दै प्रतिशोध सुरु गरेका छन्।
मेयर लामाको प्रत्यक्ष संलग्नतामा र सेटिङमा भइरहेको अवैध उत्खननबारे बोल्ने वडा नम्बर ७ का अध्यक्ष केशव अधिकारीको सेवा सुविधा रोकिएको छ भने त्यसको समाचार लेख्ने पत्रकार राजेन्द्र दुष्टलाई ‘तीन ठाउँमा झुण्ड्याएर नाङ्गेझार बनाइदिन्छु’ भन्दै धम्की दिएका छन्।
असार ११ गते विहान चौदण्डीगढीको बेल्टार बजारमा चिया खाएर वसिरहेको ठाउँमा आएर मेयर लामाले आफुलाई धम्की दिएको पत्रकार दुष्टले बताए। ‘हामी चिया खाएर बसेका थियौं। एक्कासी आएर नगर प्रमुख हुँ म, के सोचेको छस? तीन ठाउँमा झुण्ड्याएर नाङ्गेझार बनाइदिन्छु भन्दै धम्क्याए।’– दुष्टले भने।
नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष मनकुमार राई, वडा नम्बर ६ का सदस्य कमल कार्की, नगर कार्यपालिका सदस्य उदयराज भुजेल र राजेन्द्र कटवालसमेत उपस्थित रहेको स्थानमा लामाले आफुलाई अप्रत्यक्ष रुपमा ज्यान मार्ने धम्की दिएको र सार्वजनिक स्थानमा दुर्व्यवहार गरेको उनको भनाई छ।
उनका अनुसार ९ असारमा चौदण्डीगढी नगरपालिकाको नगरसभा सम्पन्न भएको थियो। नगरसभामा उनले आमन्त्रण गरिएको थिएन। त्यसैले उनी नगरसभामा उपस्थित पनि भएनन्, र समाचार पनि लेखेनन्। तर, त्रियुगा नगरपालिकाको नगरसभा सम्पन्न भएको समाचार उनले आफनो अनलाईनमा प्रकाशित गरे।
सोही विषयलाई विवादमा ल्याएर लामाले आफुलाई धम्क्याएको दुष्ट बताउँछन्। ‘विषय नगरसभालाई बनाए पनि मुल रिसिव ीभनेको अवैध उत्खनन् हो’ उनले भने–‘तँलाई नगरपालिकाको गेटमा समेत टेक्न दिन्न भनेको छन्।’
पत्रकार दुष्ट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशका इञ्चार्ज हुन्। उनी गढीखबर दैनिक तथा गढीखबर डटकमका सञ्चालक हुन्।
वडाध्यक्षको सेवा–सुविधा काटियो
यसअघि चौदण्डीगढी नगरपालिका–७ का वडाध्यक्ष केशव अधिकारी पनि लामाको प्रतिशोधको सिकार भएका छन्। उनी पनि अवैध उत्खननविरुद्ध उभिएका थिए। लामाखोला र माडीबास खोलामा भइरहेको अवैध उत्खननबारे उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।
त्यसअघि, उत्खनन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा पनि ज्ञापन पत्र दिएका थिए। त्यसैको प्रतिशोधमा २१ वैशाखमा बसेको नगर कार्यपालिकाको १२औं बैठकले अधिकारीको मासिक सेवा सुविधा अर्को व्यवस्था नभएसम्मका लागि रोक्का गर्ने निर्णय गरेको हो।
नगरपालिकाले उनीमाथि ‘पदीय जिम्मेवारी पुरा नगरेको, कानुनको पालना नगरेको, आफु वडामा हुँदाहुँदै सदस्यलाई कार्यवाहक दिएको, नगरका कार्यक्रम तथा वैठकमा उपस्थित नभएको’ जस्ता आरोप लगाएको छ।
वडाध्यक्ष अधिकारीले भने यी सबै आरोपको खण्डन गर्दै अदालत जाने तयारी गरिरहेको बताएका छन्। ‘मैले वैशाखपछि तलब पाएको थिइनँ। पछि थाहा भयो कार्यपालिकाले निर्णय गरेर सेवा सुविधा रोकेको रहेछ। अब अदालतबाट न्याय खोज्छु,’– उनले भने।
मेयर लामा र वडाध्यक्ष अधिकारी दुवै नेकपा एमालेबाट निर्वाचित भएका हुन्। तर अधिकारीले मेयरकै सेटिङमा अवैध उत्खनन भइरहेको भन्दै प्रतिवाद गरेपछि अहिले उनी आफ्नै पार्टी नेतृत्वसँग जुधिरहेका छन्।
अवैध उत्खननविरुद्ध उभिएको व्यक्तिमाथि सेवा सुविधा रोक्ने र आवाज उठाउने पत्रकारमाथि सार्वजनिक धम्की दिने घटना चौदण्डीगढी नगरपालिकाको आन्तरिक द्वन्द्वको संकेत बनेको छ।
यता, मेयर लामाले भने दुष्टलाई धम्की दिएको कुरालाई स्विकार वा अस्विकार केही गरेका छैनन्। ‘खै के के लेखेको छ अरे भन्ने सुनेको छ, मैले हेर्न पाएको छैन। साथीहरुले पठाई दिएका थिए। मैले पनि हेर्नु पर्नेछ।’– उनले भने।
मेयर लामाले पत्रकार दुष्टलाई घुमाउरो पारामा ‘अराजक’ भएको आरोप लगाए। ‘आचार संहिता नमानेको भनेर पत्रकार महासंघले नै कारवाही गर्न खोज्दैछ अरे भन्ने सुनेको छु। मलाई सुनाउँदै थिए।’ उनले भने–‘यो तिमिहरुको विषय हो, मलाई नभन भने।’ पत्रकार दुष्टले ‘जे पनि लेख्ने र जे पनि बोल्ने’ गरेको उनको भनाई छ।
यो पनि,
- उदयपुरमा मेयरको ढुङ्गा गिटी तस्करी विरुद्ध बोल्ने वडाध्यक्षको सेवा सुविधा रोकियो, अदालत जाने तयारी
- चौदण्डीका मेयरको सेटिङमा चुरे दोहनः अख्तियारको छानविन, ठेकेदार कम्पनी नविकरण नै नभएको खुलासा
- चौदण्डीगढीका मेयर कालु लामाले भतिजालाई ठेकेदार बनाएर यसरी गरे खोलामा अवैद्य उत्खनन
- नगरअस्पतालमा विरामीको मृत्यु भएपछि चौदण्डीगढीका मेयर कालुमान लामामाथि हातपात