सिरहामा पेस्तोल देखाएर बैंक लुटपाट गरी फरार भएका उदयपुरको गाईघाट क्षेत्रका लोहनी पक्राउ

लहान— सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटपाट गरी फरार भएका उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजन भन्ने सुजेन्द्र लोहनीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीमाथि बैंकका कर्मचारी र सुरक्षामा खटिएका प्रहरीलाई पेस्तोल देखाएर रकम लुटपाट गरेको आरोप छ। लोहनीलाई बिहीबार भारतीय सीमावर्ती क्षेत्र सिरहा नगरपालिका–१७ स्थित खैरटोकाबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ०७९ फागुन १० गते मिर्चैयास्थित ग्लोबल आइएमई बैंकको शाखाबाट ९ लाख रुपैयाँ कल्याणपुर शाखा लैजाँदै गरेका बैंकका कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरीमाथि हमला गरी उनले लुटबाट गरेका थिए।
लोहनीसहित चारजनाको समूहले नम्बर नखुलेका दुई मोटरसाइकलमा सवार भई बैंकका कर्मचारी र प्रहरी जवान निकेश खवासमाथि पेस्तोल देखाएर आक्रमण गरेका थिए। इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान खवास र बैंक कर्मचारीलाई कुटपिटसमेत गरिएको थियो।
घटनापछि फरार रहेका लोहनी लुकीछिपी भारतमा बसेको अनुसन्धानबाट खुलेको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सिरहा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।