सर्लाहीमा जसपा नेताको एसपीलाई फोनमै गालीगलौज, ‘कमिसनको संरक्षण’ आरोपपछि तनाव चुलियो

वीरगन्ज — सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्का र जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवबीचको फोन संवाद सार्वजनिक भएपछि विवाद चुलिएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको अडियोमा जसपा नेता यादवले एसपी खड्कालाई ‘मधेशमा लुट्न आएको’ र ‘कमिसन खान आएको’ भन्दै गालीगलौज गरेको स्पष्ट सुन्न सकिन्छ।

पूर्वाधार कार्यालय मलंगवामा भौतिक पूर्वाधार कार्यालयका कर्मचारीहरूले प्रहरीको संरक्षणमा राति मात्रै चेक काट्दै गरेको विषयलाई लिएर अध्यक्ष यादवले कडा आक्रोश पोखेका थिए। उनका अनुसार, ‘प्रहरीकै संरक्षणमा कर्मचारीहरूले अवैध असुली र भ्रष्टाचार गर्दै आएका छन् र जनतालाई तर्साएर कमिसन नदिनेहरूलाई सुविधा नदिने काम हुँदै आएको छ।’

फोनमा यादवले एसपी खड्कालाई सोधेका थिए, ‘तिमीहरू मधेशमा लुट्न आएको हो? तिमीहरूको काम के हो?” जवाफमा एसपी खड्काले ‘अलि बुझेर बोल्नुहोस’ भन्दै आरोप अस्वीकार गर्ने प्रयास गरे। तर, यादवले आफ्नो अडान दोहोर्याउँदै निरन्तर गालीगलौज र आरोप लगाइरहे। विवादकै क्रममा तथानाम भएको सुन्न सकिन्छ। यादवले ‘ए, एसपी’ भन्दै कडा आवाजमा थर्काएका छन्।

अडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनले छानबिन सुरु गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मधेश प्रदेश प्रहरी कार्यालयलाई घटनाबारे सत्यतथ्य बुझ्न निर्देशन दिइएको बताए।

त्यसक्रममा नेता यादवलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली बुधबार राति करिब ११ बजे यादवको घर पुगेको थियो। डिएसपी सरोज राईका अनुसार, प्रहरीको गाडी गाउँ पुगेपछि यादवका छोराले बाटोमै विवाद गरे र स्थानीयले हुलहुज्जतसहित ढुंगामुढा गरेका थिए। त्यसक्रममा प्रहरीको गाडीमा क्षति पुगेको छ। त्यसपछि प्रहरीको टोली पछि हट्नुपरेको डिएसपी राईले जानकारी दिए।

यस विषयमा जसपा नेता यादवले भने आफू जनकपुरमा रहेको बताए। ‘फोनमार्फत मात्रै एसपीसँग कुरा भएको हो। म अहिले पनि जनकपुरमै छु। तर दुई पटक घरमा दर्जनौं प्रहरी पठाएर परिवारलाई तर्साइएको छ,’– उनले आरोप लगाए।

यता, पूर्वाधार कार्यालयका प्रमुख विजय यादवले असार मसान्तको चापका कारण दिनरात फाइल हेर्नुपरेकाले कार्यालय रातिसम्म खुला राखिएको बताए। तर, जसपा नेता यादवले जिल्ला शिक्षा इकाई सर्लाहीका कर्मचारी चपुर (रौतहट) मा बसेर कमिसनको कारोबार गर्ने र राति प्रहरीको सुरक्षामा मात्रै चेक काट्ने गरेको आरोप समेत लगाएका छन्।

यादवका अनुसार, मधेशका गरिब जनताका लागि बनाइएको आवास निर्माणका रकम वितरणमै व्यापक भ्रष्टाचार भइरहेको छ र प्रहरीले प्रत्यक्ष संरक्षण गरिरहेको छ।

यता, प्रहरीले भने नेता यादवविरुद्ध अभद्र व्यवहार र सार्वजनिक सम्पत्ति क्षतिसम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। डीआईजी घिमिरेका अनुसार अडियोमा उठेका विषयको विस्तृत छानबिन गरेर कारबाही गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट