सिरहामा दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ, अन्य फरार

लहान– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन्। उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा लागुऔषध गाँजास बोकेको मोटरसाईकलसहित पक्राउ गरिएको हो।
मलाहलाई प्र.२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले बोकेको सातवटा पोकाबाट कुल २१२ किलो ९२५ ग्राम गाँजा बरामद गरिएको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा फेला पारेको हो। तर, प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अन्य केही व्यक्ति भने फरार भएका थिए। उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकमाथि थप अनुसन्धान जारी रहेको छ।