‘ह्याप्पी बर्थडे मेरी जान’ भन्दै छात्रालाई म्यासेज पठाएपछि शिक्षकको रामधुलाई, विद्यालयमा तोडफोड र अश्रुग्यास

जनकपुर– रौतहटको गरुडा नगरपालिका–९, श्रीपुरस्थित श्री माध्यमिक विद्यालयमा एउटा मोबाइल सन्देशले अप्रत्याशित तनाव र हंगामा निम्त्याएको छ। ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको जन्मदिनको शुभकामना सन्देशपछि विद्यालय परिसरमै कुटपिट, तोडफोड र अन्ततः प्रहरीद्वारा अश्रुग्यास प्रहार गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

शिक्षक रवीन्द्र प्रसाद साहले विद्यालयमै अध्ययनरत एक छात्रालाई जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्दैसन्देश पठाएका थिए। तर, सन्देशमा प्रयोग गरिएको ‘मेरी जान’ शब्दप्रति आपत्ति जनाउँदै छात्राका आफन्त, अभिभावक र विद्यार्थीहरूले ती शिक्षकमाथि आक्रोश व्यक्त गरे। आक्रोश यति चुलियो कि उनीमाथि विद्यालयकै परिसरमा कुटपिट गरियो।

शिक्षकमाथिको आक्रोशमा विद्यार्थी र अभिभावकले विद्यालय भवन र कक्षा कोठामा समेत तोडफोड गरे। स्थिति अनियन्त्रि भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओमप्रकाश यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। भीड नियन्त्रण गर्न प्रहरीले एक राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार, शिक्षक रवीन्द्र प्रसाद साहलाई नियन्त्रणमा लिइएको छ। ‘सन्देशका शब्दप्रति व्यापक आक्रोश देखिएको थियो। साहलाई सुरक्षा र अनुसन्धान दुवै प्रयोजनका लागि नियन्त्रणमा लिएका छौं।’ डीएसपी कार्कीले भने।

प्रहरीका अनुसार शिक्षकमाथि साइबर क्राईम, शैक्षिक आचरण र अभद्र व्यवहारका कोणबाट अनुसन्धान अघि बढाइएको छ। प्रहरीले छात्राका अभिभावक, अन्य शिक्षक र विद्यालय प्रशासनसँग पनि बयान संकलन प्रक्रिया थालेको जनाएको छ।

घटनाले विद्यालयमा शिक्षण सिकाइ प्रभावित भएको छ भने स्थानीयबासी र अभिभावकहरूले पनि विद्यालयभित्र यस्ता गतिविधि हुनु निन्दनीय भएको बताएका छन्। अभिभावकहरूका अनुसार विद्यालयजस्तो मर्यादित संस्थामा शिक्षकबाटै यस्तो व्यवहार हुनु नै दुःखद् हो। उनीहरूले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट