बूढीगंगाको झाडीमा महिलाको नग्न शव: बलात्कारपछि हत्या भएको प्रहरीको आशंका

विराटनगर– मोरङको बूढीगंगा गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छेउको झाडीमा सडेर दुर्गन्धित अवस्थामा फेला परेको युवतीको शवले भयावह अपराधको संकेत दिएको छ। प्रारम्भिक अनुसन्धानमा युवतीमाथि बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

शनिबार साँझ ४ बजेतिर फेला परेको शवको अवस्था निकै भयावह थियो। अनुहार र शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेकी ती युवती नग्न अवस्थामा भेटिएकी थिइन्। कम्मरदेखि मुनिको भागमा कपडा नलागाएको अवस्थामा शव फेला परेको हुँदा सम्भावित बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो।

घटनास्थलमै मृतकले लगाएका भनिएका पाइन्ट, चिम्टी र चप्पल छुट्टै राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। शवको अवस्थाले आत्महत्या वा सामान्य दुर्घटनाभन्दा पनि योजनाबद्धरूपमा ललाइफकाइ झाडीमा पु¥याएर बलात्कारपछि हत्या गरिएको हुनसक्ने संकेत देखिएको छ।

मृतकको पहिचान भने हालसम्म खुलेको छैन। मोरङ प्रहरीकी डीएसपी कोपिला चुँडालका अनुसार अनुहार क्षतविक्षत भएकाले चिन्न नसकिने अवस्थामा शव रहेको छ। ‘कसैले हराएको भनेर पनि हालसम्म प्रहरीलाई जानकारी दिएको छैन,’ डीएसपी चुँडालले भनिन्, ‘त्यसैले पहिचानमा जटिलता भएको हो।’

प्रहरीले घटनाको प्रकृति हेर्दा मृतक धेरै टाढाबाट आएको नभई स्थानीय वा आसपासको क्षेत्रमा डेरा गरी बस्ने युवती भएको हुनसक्ने आशंका गरेको छ। शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। प्रारम्भिक रुपमा युवती २० वर्षभन्दा कम उमेरको हुन सक्ने अनुमान गरिएको छ।

हालसम्म प्राप्त तथ्य र प्रमाणले घटनामा बलात्कारको सम्भावना देखिए पनि अनुसन्धानमा त्यसको ठोस पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। ‘शंकाको भरमा निष्कर्षमा पुग्न मिल्दैन, हामी प्रमाण संकलनमै केन्द्रित छौं,’ एक प्रहरी स्रोतले भन्यो, ‘घटनाका हरेक पाटोलाई सूक्ष्मरूपमा अध्ययन गरी अपराधी पत्ता लगाउने प्रयास भइरहेको छ।’

घटनाले झनै गम्भीर रूप लिँदै गएको अवस्थामा स्थानीय बासिन्दाहरूमा पनि त्रास फैलिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट