आफ्नै छात्रालाई ‘मेरी जान’ भन्दै म्यासेज पठाउने शिक्षक बर्खास्त, कुटपिटपछि प्रहरी हिरासतमा

रौतहट — रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्रीमाध्यमिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई विद्यालयले एक छात्रालाई अनुचित म्यासेज पठाएको आरोपमा बर्खास्त गरेको छ। शिक्षक साह अहिले अभद्र व्यवहारको अभियोगमा प्रहरी हिरासतमा छन्।

१६ वर्षीया एक छात्रालाई ‘ह्यापी बर्थ डे मेरी जान’ भन्दै आइतबार पठाइएको म्यासेज सार्वजनिक भएपछि अभिभावक, विद्यार्थी र स्थानीयबासी आक्रोशित बनेका थिए। विद्यालय परिसरमै विद्यार्थीले साहमाथि कुटपिट गरेका थिए भने केहीले विद्यालयमै तोडफोड समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

घटनापछि साहलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीका अनुसार उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। उनलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि सात दिनको म्याद लिइएको छ। ‘अहिलेसम्मको प्रमाणका आधारमा अभद्र व्यवहार अन्तर्गत अनुसन्धान भइरहेको छ’ डीएसपी कार्कीले भने, ‘अनुशन्धान अनुसार अन्य मुद्दा पनि थपिन सक्छ।’

विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष राजकुमार दासका अनुसार साहले यसअघि पनि छात्रासँग दुव्र्यवहार गर्दै आएका थिए। ‘एकपछि अर्को घट्ना वढ्दै गएपछि शैक्षिक वातावरण जोगाउन उनलाई विद्यालयबाट हटाउन जरुरी भयो।’– उनले भने।

उनका अनुसार विद्यालय, वडा समिति, अभिभावक संघ, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले बिहीबार उनलाई औपचारिक रूपमा बर्खास्त गर्ने निर्णय गरेको हो। शिक्षक साहले विद्यालयमा कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए। अध्यापन गर्दै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट