मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ

राजधानी– मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनलाई आइतबार बिहान भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

अहिराजमाथि बालिकामाथि बलात्कारको आरोपमा काठमाडौँ प्रहरीले अनुसन्धान थालेको थियो। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा माघ ३ गते उजुरी दर्ता भएको थियो। घटनापछि उनी फरार भएका थिए। केही समय भारततर्फ भागेको आशंकामा खोजी भइरहे पनि उनी केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

अहिराजमाथि काठमाडौंको बानेश्वरस्थित निवासमा २०८१ जेठ ४ गते एक युवतीमाथि बलात्कार गरेको आरोप छ। पीडितका अनुसार कोठामा कोही नभएको मौका पारेर अहिराजले पटक–पटक बलात्कार गरेका थिए। साथै, घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

घटना भएलगत्तै पीडित युवती प्रहरीसमक्ष जाहेरी दिन पुगेकी थिइन्। तर, प्रहरीले सुरुमै उजुरी लिन अस्वीकार गरेको आरोप छ। अन्ततः उनले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी दिइन्। वकिल कार्यालयले कात्तिक ३० गते प्रहरीलाई जाहेरी दर्ता गर्न पत्राचार गरेको थियो। त्यसपछि मात्रै माघ ३ गते प्रहरीमा उजुरी दर्ता भएको हो।

चैत २५ गतेमात्र प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। तर, ओहोदाको प्रभावका कारण समयमै उनलाई प्रहरीले पक्राउ गर्न सकेन। प्रारम्भिक चरणमै प्रहरीले आरोपीलाई उम्कन समय दिएको आशंका गरिएको छ।

अहिराजले २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उच्च पद, पहुँच र संरक्षणका कारण प्रहरी अनुसन्धानमा लचकता देखिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट