रिक्साको ह्याण्डलबाट लागूऔषधको कारोबारसम्मः गरिब नारायण कार्की २.५ लाख नगद र लागूपदार्थसहित पक्राउ

राजविराज — रिक्सामा माइक फिट गरेर सप्तरीको राजविराजका चौक–चौक र गल्ली–गल्ली घुम्ने एकजना गरिब र एक्लो पुरुष, जसको जिन्दगीको सम्पत्ति भनेकै एउटा रिक्सा र एउटा माइक। त्यही रिक्सामा चढेर विभिन्न पसल र कार्यक्रमहरुको प्रचार गर्ने र पाउने सानो पारिश्रमिकमा दिन कटाउने। यसरी बाँचेका थिए ५३ वर्षीय नारायणबहादुर कार्की।

तर सोमबार, उनी लागूऔषध र करिव साढे २ लाख नगदसहित पक्राउ परे। यो घट्नाले राजविराजवासीलाई आश्चर्यमा पारेको त छ। अर्थात कार्की पक्राउ परेको घट्नाले एकातर्फ खुसी र अर्कोतर्फ पीडा पनि दिएको छ। गाउँ–गाउँ र बजार–बजार छ्याप्छ्यापी आउने लागू औषधका कारण नसामा लठ्ठिएको युवा पुस्ता देख्दा कार्की पक्राउ परेको घट्नाले खुसी दिएको छ भने अर्कोतर्फ एउटा गहिरो सामाजिक बेवास्ताको चित्र पनि कोरेको छ।

राजविराज नगरपालिका–७ स्थित रंगशालाको पूर्वपट्टि, दर्शक बस्ने प्याराफिटको भर्‍याङमुनि कार्कीले सिमेण्टका बोरा र प्लाष्टिकले बेरेर टहरो बनाएका थिए। यही टहरो, जहाँ उनी निदाउँथे, उठ्थे, खान्थे, र सपनाहरू देख्थे। त्यसलाई प्रहरीले अब ‘लागूऔषधको अड्डा’ घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले लामो समयदेखि कार्कीले लागूऔषध बिक्री वितरण गर्दै आएको सूचनाको आधारमा टोली परिचालन गरेको थियो। टहरामा खानतलासी गर्दा स्पास्म प्रोक्सिभोन प्लस ३८२ क्याप्सुल, नाइट्राजेपाम १४९ ट्याब्लेट, नाइट्राभेट–१० का १५४ क्याप्सुल र ७९ वटा पोकामा प्याक गरिएको ३११ ग्राम गाँजा फेला पर्‍यो।

अझै चकित बनाउने कुरा के थियो भने कार्कीको ओछ्यानमुनि लुकाइ राखिएको अवस्थामा २ लाख ५० हजार ५१० नेपाली र ६ हजार ३३० रुपैयाँ भारतीय रुपैयाँ समेत बरामद भयो। साथै, घटनास्थलबाट विभिन्न कम्पनीका १३ थान मोबाइल सेट पनि बरामद गरिएको छ।

प्रहरीले कार्कीलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान सुरु गरिसकेको छ। प्रारम्भिक अनुसन्धानमा कार्की लामो समयदेखि यो कारोबारमा संलग्न भएको देखिएको प्रहरीले जनाएको छ।

तर, कार्कीको पृष्ठभूमि हेर्दा यो प्रकरण केवल एक आपराधिक घटना मात्र होइन। यो राज्यले आफ्ना नागरिकप्रति देखाएको उपेक्षाको प्रतिफल पनि हो। ‘भूमिहीन, परिवारविहीन, र स्थायी आम्दानीबिना बाँचेका कार्की जस्ता नागरिकहरूको भविष्यले कुन बेला कुन मोड लिन्छ, त्यसको कुनै ग्यारेण्टी हुँदैन’ स्थानीयवासी भन्छन्–‘राज्यको वेवास्तामा परेका हजारौँ÷लाखौं नागरिकमध्ये कार्की पनि एक हुन।’

नारायण बहादुर कार्की अपराध कर्ममा लाग्नु उनको धनी हुने लालसा भन्दा पनि भोलि आईपर्न सक्ने संकटको तयारी भएको स्थानीयको वुझाई छ। यो घट्नालाई धेरैले राज्यको गैरजिम्मेवारीको प्रतिफलका रुपमा लिएका छन्।

यद्यपी, उनको अपराधको अनुपातका आधारमा अदालतले फैसला गर्ला नै। कानुन भन्दा माथि कोही छैन, अदालतको फैसला अनुसार उनले दण्ड वा जरिवाना भोग्नै पर्छ। तर कार्की जस्ता वेसहाराहरुलाई राज्यले किन जीवनको मूलप्रवाहमा ल्याउन सकिरहेको छैन ? भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ।


प्रतिक्रिया

One thought on “रिक्साको ह्याण्डलबाट लागूऔषधको कारोबारसम्मः गरिब नारायण कार्की २.५ लाख नगद र लागूपदार्थसहित पक्राउ

  1. धन्यबाद! गरिब बेसाहारा र परिबार बिहिन को संर्क्षन का लागि पनि सरकार लाई जिम्मेबारि बोध गराईदिनु भएकोमा, नारायन बहादुर कार्कि जस्ता नागरिकले भोलि आइपर्ने समस्या को लागि सोचनु पर्ने जरुरि थिएन यदि सरकारले संरक्षन गरेको भए!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट